तीक्ष्ण तर विवादित पराजुली

नवनियुक्त प्रधानन्यायाधीश गोपाल पराजुली सोमबार कार्यभार ग्रहण गर्दै। तस्बिर: अनिश रेग्मी/सेतोपाटी


वैशाख १७ गते सर्वोच्च अदालतको एउटा कार्यकक्ष साँझ ८ बजेसम्मै उज्यालो थियो।

त्यसको दुई घन्टाअघि मात्र महाअभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेकी तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की सर्वोच्च परिसरबाट बाहिरिएकी थिइन्। सरकारवादी दलहरुले न्यायालयको ‘हुर्मत लिन’ कार्कीविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको ठानेर त्यो साँझ धेरै न्यायाधीश मलिन अनुहारमा घर फर्केका थिए।

न्यायाधीश गोपाल पराजुलीको कार्यकक्ष भने साँझ परेपछि झलमल्ल भयो। उनले सर्वोच्चकै केही कर्मचारीलाई राखेर कायममुकायम प्रधानन्यायाधीशको कार्यभार ग्रहण गरे। नजिकका कर्मचारीले उनलाई माला लगाइदिएर बधाई दिए। पराजुलीले त्यसै रात सूचना प्रविधिका कर्मचारी डाकेर सर्वोच्चको वेबसाइटबाट प्रधानन्यायाधीश कार्कीको तस्बिर हटाउन लगाए। र, आफ्नो तस्बिर राखे।

महाअभियोग पारित हुनुअगावै एकतर्फी रुपमा कार्कीको तस्बिर हटाएको भनी आलोचना भएपछि उनले भोलिपल्टै सच्याए। पछि सर्वोच्चकै आदेशअनुसार कार्की अदालत फर्के। न्यायालयको जिम्मा कायममुकायम बनेका पराजुलीबाट कार्कीमै पुनर्स्थापित भयो।

साढे दुई महिनाअघि अधुरो रहेको पराजुलीको त्यो रहर अन्तत: सोमबार पूरा भएको छ। उनले सोमबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएर पदभार ग्रहण गरेका छन्।

न्याय सेवामा पराजुली पटक-पटक विवादमा तानिए। कहिले आफ्नो पदावधि लम्ब्याउन जन्ममिति ढाँटेको कुरा उठ्यो त कहिले शैक्षिक प्रमाणपत्र लुकाएको आरोप लाग्यो। आफैंले सुनुवाइ गरेका मुद्दाका कारण पनि उनी बेलाबेला विवादमा परे।

उनको एउटा गुण भने कसैले नकार्न सक्दैन- त्यो हो मुद्दा र कानुनबारे उनको राम्रो समझ। आफ्नो अघि परेका मुद्दाको चुरो बुझ्न उनलाई समय लाग्दैन भनी सर्वोच्चकै अन्य न्यायाधीश तथा वकिलहरु तारिफ गर्छन्। ‘अरुले ५ वटा मुद्दा हेरिरहँदा उनले १५ वटा बुझेर फैसला गर्न सक्छन्’ भन्ने भनाइ न्यायालयभित्र प्रचलित छ।

पूर्वप्रधानन्यायाधीश कार्की त सभासमारोहमै पराजुलीको त्यो समझको प्रशंसा गर्ने गर्थिन्, जबकि कार्की र पराजुलीको राम्रो सम्बन्ध थिएन। ‘पराजुली श्रीमानले मुद्दा धेरै राम्रोसँग र छिट्टै बुझ्छन्, आँ गर्दा अलंकार बुझ्नेजस्तो,’ कार्की भन्ने गर्थिन्।

सर्वोच्चको वार्षिक प्रतिवेदनले पनि पराजुलीको छिटो मुद्दा छिन्ने क्षमता पुष्टि गर्छ। वार्षिक कार्यविवरण हेर्दा सबैभन्दा बढी मुद्दा फैसला गर्ने सर्वोच्चका न्यायाधीश उनै हुन्। सर्वोच्च आएको पहिलो वर्षमै तत्कालीन प्रधानन्यायाधीश दामोदर शर्माले भन्दा १३ गुणा बढी मुद्दा फैसला गरेर उनले छिटो र धेरै मुद्दा छिन्ने न्यायाधीशका रुपमा आफूलाई स्थापित गरेका थिए। शर्माले १०० मुद्दा फैसला गर्दा उनले १३६८ मुद्दा छिनेका थिए।

महान्यायाधीवक्ता कार्यालयका एक अधिकारी भने पराजुली ‘मुद्दा बुझ्नमा तीक्ष्ण’ भए पनि सबैमा निष्पक्ष फैसला गर्नेमा शंका गर्छन्।

‘मेडिकल कलेजको सिटसम्बन्धी मुद्दामा उहाँ त्यसै विवादमा तानिनुभएको हैन,’ उनले भने, ‘अहिले पनि भरतपुर केस किन लम्बिरहेको छ? हाम्रो सिस्टम प्रधानन्यायाधीशको हातमा छ। उनले चाहे हुन्छ नचाहे हुन्न।’

मेडिकल काउन्सिलले अनुमति दिएभन्दा बढी सिट पाएकोमा अदालत र उनलाई मुछेर मेडिकल सञ्चालकको टेप सार्वजनिक भएको थियो। त्यसबारे छानबिन गर्न न्याय परिषद्ले समिति बनाएको थियो। समितिले आफ्नो काम पूरा गर्न सकेन। विवाद त्यसै थामियो।

त्यसपछि पनि उनी आफूले हेरेका मुद्दाकै कारण मात्र विवादित भएनन्।

न्याय परिषदमा उनका तीनवटा जन्ममिति भेटिएको भन्दै पूर्वप्रधानन्यायाधीश कार्कीले सबभन्दा पहिलो जन्ममितिलाई मान्यता दिएकी थिइन्। उनको पहिलो जन्ममिति २००९ साउन २१ गते थियो। त्यो कायम भएको भए उनले प्रधानन्यायाधीशका रुपमा ५६ दिन मात्र काम गर्न पाउँथे। पूर्वप्रधानन्यायाधीश रामकुमार प्रसाद साहले पनि उनको यही उमेरले मान्यता पाउने निर्णय गरेका थिए।

नागरिकता प्रतिलिपि बनाउँदा उमेर सच्याएका पराजुलीले कार्कीको अवकाशपछि भने आफ्नो पछिल्लो जन्ममिति नै कायम गराए, त्यो पनि आफ्नै नेतृत्वको न्याय परिषदबाट। यसअनुसार उनको जन्ममिति २०१० वैशाख १६ कायम भयो। उनको कार्यकाल ८ महिना थपियो।

यसरी आफ्नो जन्ममितिको विवादमा उनी आफैंले कसरी निर्णय गरे भनेर न प्रधानन्यायाधीश सिफारिस गर्ने संवैधानिक परिषदमा प्रश्न उठ्यो न त संसदीय सुनुवाइ समितिले नै यो कुरा उठायो।

उनका सबै विवादमा मौन रहेर संसदीय सुनुवाइ समितिले आइतबार पराजुलीको प्रस्ताव अनुमोदन गर्यो।

नवनियुक्त प्रधानन्यायाधीश गोपाल पराजुली सोमबार कार्यभार ग्रहण गर्दै। तस्बिर: अनिश रेग्मी/सेतोपाटी

प्रधानन्यायाधीशकै रोलक्रममा रहेका उनका एक सहकर्मी भन्छन्, ‘निर्णय गर्ने मामलामा उहाँ निकै बोल्ड हुनुहुन्छ। त्यसको प्रमाण हो, आफ्नो उमेरबारे निर्णय गर्दा अदालती बन्दोबस्तको ३० नम्बरको ख्यालै गर्नुभएन। निजी स्वार्थ गाँसिएका विषयमा निर्णय गर्न हुँदैन भनेर त्यो नियममा प्रस्ट लेखिएको छ।’

अर्का न्यायाधीशले भने पराजुलीको निजी मामलामा टिप्पणी गर्न नचाहे पनि समग्र न्यायपालिकाबारे छलफल हुँदा ‘खुला दिलले भाग लिने’ उनको स्वभावको प्रशंसा गरे। ‘समग्र न्यायालयका बारेमा विमर्श हुँदा उहाँ अरुका विचार सुन्नुहुन्छ, फरक विचारको सम्मान गरेको मैले पाएको छु,’ उनले भने, ‘प्रधानन्यायाधीश भएर कस्ता निर्णय गर्नुहुन्छ त्यो भने उहाँको परीक्षाको विषय हो।’

केही विवादित मुद्दा पन्छाएर हेर्ने हो भने उनलाई राम्रो न्यायाधीश मान्नेहरुको पनि कमी छैन। उनको फैसला लेखन र विषयवस्तुप्रतिको दख्खलको वकिलहरु प्रशंसा गर्छन्।

नेपाल बारका पूर्व महासचिव सुनिल पोखरेल पराजुलीको फैसला लेखन तुलनात्मक राम्रो भएको बताउँछन्।

‘उहाँ आफैं फैसला लेख्नुहुन्छ। राम्रो लेख्ने र छिटो फैसला गर्ने न्यायाधीश हो। उहाँका फैसलामा विधिशास्त्रीय दृष्टिकोण भेटिन्छ,’ उनले सेतोपाटीसँग भने, ‘जुनसुकै विषयका मुद्दामा उत्तिकै दक्षता छ। संवैधानिक, देवानी, फौजदारी र आर्थिक मुद्दाहरुमा उहाँको उत्तिकै दख्खल छ। यस्तो दख्खल कमै न्यायाधीशमा हुन्छ। पहिले विश्वनाथ उपाध्याय र कल्याण श्रेष्ठजस्ता न्यायाधीशमा यस्तो दख्खल थियो।’

पराजुलीलाई २०४८ सालमा विश्वनाथकै पालामा पुनरावेदन अदालतको न्यायाधीश नियुक्ति गरिएको थियो। त्यो बेला पाँच जना कांग्रेस समर्थित वकिलहरुलाई न्यायाधीश बनाएर ‘न्यायालयमा राजनीति घुसाएको’ भन्दै विश्वनाथको आलोचना भयो। तिनै पाँचमध्ये एक थिए, पराजुली।

उनी विद्यार्थी कालमा नेविसंघमा आबद्ध थिए। २०७१ सालमा उनीसहित ८ जनालाई सर्वोच्चको न्यायाधीश बनाउँदा कांग्रेसकै सरकार थियो। उनीहरुको नियुक्ति विवादित पनि भयो। संसदीय सुनुवाइ क्रममा चित्रबहादुर केसीले उनीविरुद्ध मत दिए। उक्त सुनुवाइमा उनले निजी जीवन र न्यायाधीश हुँदा गरेका कामबारे आलोचनात्मक प्रश्न सामना गर्नुपरेको थियो।

तीन वर्षपछि प्रस्तावित प्रधानन्यायाधीशका रुपमा भने उनीविरुद्ध एउटै उजुरी परेन। आलोचनात्मक प्रश्न पनि खेप्नुपरेन। उल्टै उनले नै सांसद र संसदीय सुनुवाइ व्यवस्थाको व्यङ्ग्य गरेर आए।

‘अमेरिकामा राष्ट्रपतिलाई सुनुवाइको क्रममा १२ वर्षको उमेरमा केटी जिस्क्याएको पनि सोधिएको थियो,’ उनले भने, ‘तीन वर्ष एक महिना २० दिनअघि असंवेदनशील र झुट उजुरी ममाथि थिए। अहिले मविरुद्ध एउटा पनि उजुरी परेनछ। तपाईंहरुको सिस्टम के छ तपाईंहरु नै जान्नुस्। मलाई भने यो अवधिमा कसैको गुनासो आउन दिएको रहेनछु भन्ने लागेको छ।’

आउँदा दिनमा पराजुलीले गर्नुपर्ने काम न्यायालयमा धेरै छन्। न्यायालय र कार्यपालिकाबीच सौहार्द सम्बन्ध कायम राख्नेदेखि न्यायाधीश नियुक्तिसम्मका काममा उनको परीक्षा हुनेछ।

नेपाल बारका पूर्व महासचिव पोखरेल प्रधानन्यायाधीशका रुपमा उनले गर्नुपर्ने तीन-चारवटा काम देख्छन्।

पहिलो, महाअभियोग प्रकरणपछि तिक्त बनेको न्यायपालिका र कार्यपालिकाबीच सम्बन्ध सामान्य बनाउने।

दोस्रो, न्यायाधीश नियुक्तिमा हुँदै आएका विवाद कम गर्ने।

तेस्रो, तल्लो तहका न्यायाधीशको आत्मविश्वास र पेसाप्रति निष्ठा वृद्धि गर्ने र बार-बेन्च सम्बन्ध सुधार्ने।

‘उहाँका चुनौति यिनै हुन्। यी काम गर्नुभयो भने उहाँको कार्यकाल राम्रो हुनेछ,’ उनले भने, ‘अर्को कुरा, ठूला र धेरै विवाद आउन सक्ने मुद्दामा आफैंले निर्णय दिएर जिम्मा लिन सक्ने खुबी भएको प्रधानन्यायाधीश हुनुपर्छ।’

यसैमा अदालतप्रतिको जनआस्था पनि जोडिएको उनी बताउँछन्।

यत्ति काम इमानदारीका साथ गर्न सक्ने हो भने विगतमा जति विवादित रहे पनि उनको कार्यकाल उज्यालो हुने न्यायाधीश तथा वकिलहरुको भनाइ छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.