युनेस्को आवद्ध संस्थाको राष्ट्रिय अधिवेशन शुरु


नेपालमा रहेका संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सामाजिक संगठन (युनेस्को)सँग आबद्ध संघसंस्था तथा क्लबहरूको राष्ट्रिय महासंघको राष्ट्रिय अधिवेशन शनिबारदेखि शुरु भएको छ। अधिवेशनको शनिबार यहाँ आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा तीर्थ खनियाँले उद्घाटन गरे।

सो अवसरमा उनले युनेस्कोको अभियानले नेपालको शिक्षा र संस्कृतिमा महत्वपूर्ण भूमिका खेलेको बताए। उनले युनेस्को क्लबमा युवा पुस्ता सक्रिय रहेकामा खुसी व्यक्त गर्दै युनेस्कोले गरिब निमुखा विपन्न विद्यार्थीलाई शिक्षामा सहयोग पुर्याएको बताए।

युनेस्कोका लागि नेपालस्थित राष्ट्रिय आयोग सचिवालयका सचिव चन्द्रकान्त भुसालले आफूहरू महासंघसँग मिलेर शिक्षा र संस्कृतिको क्षेत्रमा काम गर्न तयार रहेको धारणा राखे।

कार्यक्रममा महासंघका संस्थापक महासचिव हिरण्यलाल श्रेष्ठले युनेस्कोमार्फत नेपालका साँस्कृतिक सम्पदा जोगाउन सकिएको उल्लेख गरे।

अधिवेशनमा ७५ जिल्लाका १५५ जना प्रतिनिधिको सहभागिता रहेको छ। अधिवेशनले ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने अध्यक्ष प्रेमनारायण अर्यालले जानकारी गराए। रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.