शर्मासहित कर फर्स्यौट अायोगका पदाधिकारीविरूद्धको मुद्दा अाज पनि दर्ता भएन


कर फर्स्यौट आयोगका सदस्य सचिव चुडामणि शर्मासहित २ पदाधिकारी विरुद्ध अख्तियारले पेश गरेको अभियोगपत्र आज पनि विषेश अदालतले फिर्ता पठाएको छ।

अख्तियारको अभियोगपत्र सहितका अन्य फाइलहरू रुजु गर्दागर्दै समय सकिएको भनेर विषेशले उक्त मुद्दा दर्ता गर्न नसकिएको जनाएको छ।

अख्तियारले बिहीबारै विशेषमा मुद्दा पेश गरेको थियो। शुक्रबार बिहान अख्तियारले शर्मालाई पनि उपस्थित गराएको थियो। शर्मालाई विषेशअदालतमा केह बेर राखेर सर्वोच्च अदालतमा लगेको थियो। उनकी श्रीमतीले अख्तियारले आफ्ना पतिलाई गैरकानुनी थुनामा राखेको भन्दै  सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दिएकी थिइन्। त्यही रिटमा सर्वोच्चले शुक्रबार शर्मालाई उपस्थित गराउन भनेको थियो।

उनलाई सर्वोच्चबाट फर्काउन पनि ढिलो गरेको र कागजात रुजु गर्न पनि आज समय नपुगेकाले मुद्दा दर्ता गर्न नसकिएको विषेशअदालतका प्रवक्ता जगन्नाथ पौडेलले सेतोपाटीलाई  बताए।

‘उहाँलाई सर्वोच्चबाट ३ बजे ल्याइएको थियो।आज शुक्रबार ३ बजेसम्मको समय हो। अख्तियारले पेश गरेका फाइल पढ्न हामीलाई समय पुगेन। अब साउन १ गते मात्र यो मुद्दा दायर हुन्छ भनेर अख्तियारमै फाइल पठाइएको छ,’ उनले भने, ‘विस्तृतमा त्यही बेला मात्रै थाहा हुन्छ।’

कर फर्स्यौट आयोगका अध्यक्ष लुमध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव  शर्मा विरुद्ध अख्तियाले विषेशमा मुद्दा पेश गरेको हो। महत र ढकाल भने अहिलेसम्म फरार छन्।

उनीहरुलाई झण्डै ३३ अर्ब बराबरको भ्रष्टाचार गरेको अभियोग अख्तियारले लगाएको छ।

शर्मालाई जेठ १९ मा पक्राउ गरेको थियो। उनलाई १५ दिन अघि अख्तियारले ३ अर्ब धरौटीमा रिहा गर्ने भने पनि उनले उक्त रकम तिर्न नसकेपछि अहिले अख्तियारकै हिरासतमा छन्।

सर्वोच्चमा चलिरहेको उनको बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ पनि समय‍ अभावका कारण आइतबारलाई सरेको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.