देउमाई नगरपालिकामा सञ्चालित अलैँची ब्लकलाई पिकअप भ्यान र ट्रयाक्टर


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत देउमाई नगरपालिकामा सञ्चालित अलैँची ब्लक कार्यक्रमलाई  ४० लाख  रुपैयाँ मूल्य बराबरको सामग्री हस्तान्तरण गरिएको छ।

जिल्ला कृषि विकास कार्यालय इलाममा बुधबार आयोजित कार्यक्रममा देउमाई ब्लक सञ्चालक समितिका अध्यक्ष राम रानालाई एक पिकअप भ्यान र एक ट्याक्टरको साँचो स्थानीय विकास अधिकारी ध्रुवबहादुर खड्काले हस्तान्तरण गरे।

परियोजनाअन्तर्गत ८५ प्रतिशत अनुदानमा पिकअप र ५० प्रतिशत अनुदानमा ट्याक्टर उपलब्ध गराइएको वरिष्ठ कृषि विकास अधिकृत राम सोगारथ शाहले जानकारी दिए।

पिकअपको मूल्य २१ लाख रुपैयाँ र ट्याक्टरको १८ लाख रुपैयाँ परेको कार्यालयले जनाएको छ। अलैँची ब्लक कार्यक्रममा साना सिँचाइलाई पाँच लाख रुपैयाँ, नर्सरी निर्माणमा छ लाख रुपैयाँ, कस्टम हायरिङ सेन्टरलाई  १५ लाख रुपैयाा, पोष्ट हार्भेस्ट सेन्टर निर्माणमा  २० लाख रुपैयाँ, माटो परीक्षण शिविरलाई ६० हजार रुपैयाँ र बीउ बेर्नाका लागि ६० हजार उपलव्ध भएको शाहले बताए।

इलाममा परियोजनाअन्तर्गत सूर्योदय नगरपालिकाको आठघरेमा तरकारी ब्लक र देउमाई नगरमा अलैँची ब्लक सञ्चालनमा रहेका छन्। आठघरे तरकारी ब्लकमा यसअगाडि नै दुईवटा पिकअप भ्यान हस्तान्तरण गरिसकिएको छ। दुई हजार रोपनी क्षेत्रफलमा कुनै एक बालीलाई आधुनिकीकरण गरी यान्त्रीकरणतर्फ उन्मुख गराउनका लागि परियोजना सञ्चालन हुँदै आएको छ।

यस्तै, जिल्लामा धान, मकै, अदुवा, तरकारी लगायतका क्षेत्रमा २५ वटा पकेट कार्यक्रम सञ्चालनमा रहेका छन् । रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.