ओलीले भने- म मैथिली र भोजपुरी मासेर हिन्दी भित्र्याउन तयार छैन

फाइल तस्बिर।


‘विकासका लागि पहिला फाइनान्सियल स्रोत चाहिन्छ। त्यसपछि फिजिकल प्लानिङ, टेक्नोलोजी र चौथो ह्यमुन रिसोर्स। तपाईं विकासको २१ औं शताब्दीको मसिहा हो र?’

यो जनप्रशासन पढेका धनुषाका लटनारायण साहले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सोधेको प्रश्न हो।

‘मधेस विरोधी’ को आरोप खेपिरहेको एमाले र अध्यक्ष ओलीलाई बिहीबार मधेसका बुद्धिजिवीले यस्तै प्रश्न राख्दै मधेसमाथिको धारणा र संविधान संशोधनमा विरोधको कारण सोधे। ठाडो शैलीमा बुद्धिजिवीले उठाएका यस्ता प्रश्नको ओलीले कहिले सिधा प्रतिवाद गरे त कहिले आफ्नै पारामा व्यंग्य अनि कथन जोड्दै जवाफ दिए।

ओलीले पहाडभन्दा समथर र सुगम मधेस विकास नहुनुको कारणमा आफ्नो धारणा राखेका थिए। तराईमा डोम समुदायको साक्षरता २० प्रतिशत मात्र रहेको, रौतहटमा ३२ प्रतिशत मात्र महिला साक्षर भएको र रौतहटमै मातृ शिशु मृत्युदर प्रतिहजार ८१ रहेको उनले बताए। पूर्व प्रधानमन्त्री ओलीले सरकारमा रहँदा तराईको विकासका लागि बजेट विनियोजन गरेको उदाहरण दिँदै आफू संविधान संशोधनको वर्तमान सरकारी प्रस्तावको पक्षमा नरहेको पनि प्रस्ट पारे।

ओलीको यही धारणापछि धनुषाका साहले ‘मधेस विकास नहुनुको दोषी को हो’ भन्दै माथिको प्रश्न गरेका थिए। त्यसमा ओलीको जवाफ थियो, ‘विकास त गर्नैपर्यो। त्यो योजना बनाउँदा मसिहा भइयो भने के गर्ने? मलाई मसिहा बन्ने कुनै इच्छा छैन। तर, तराईको गरिबी हटाएर छाडिन्छ।’

ओलीले विकास नहुनुको कारण वर्णाश्रम व्यवस्था, सामन्ती र दमनकारी राज्य व्यवस्था रहेको बताए।

मधेसका बुद्धिजिवीसँगको अन्तर्क्रियामा ओलीले संविधान संशोधनका बारेमा पनि चर्चा गरेका थिए। उनले संविधान संशोधनलाई ‘विष भरिएको सुई’ भनी टिप्पणी गर्दै भने, ‘हामीले विष भरिएको त्यो सुई लगाउन मानेका छैनौं, त्यही भएर एमालेको आलोचना भइरहेको छ।’

ओलीको टिप्पणीमाथि वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले स्पष्टता खोज्दै ‘संविधान संशोधन प्रस्ताव कसरी विष भरिएको सुई भयो’ र त्यसले ‘देशको सार्वभौमिकता कसरी खतरामा पर्छ’ भन्दै प्रश्न सोधे। ‘तपाईंहरु अहम् नलिनुस्, इगो नलिनुस्, देशको राजनीतिक निकासका लागि संविधान संशोधन गर्नुस्,’ महतोको भनाइ थियो।

ओलीको जवाफ थियो, ‘जता हावा चल्छ त्यतै जाने एमाले पातपतिंगर होइन। संविधानको अनुसूचीमा सरकारले भाषा राख्न मिल्छ? यो गैरसंवैधानिक विषय होइन? अधिवक्तालाई मैले के भनौं?’

भाषाका सन्दर्भमा संविधानमा हिन्दीलाई स्थापति गर्न खोजिएको उनको जिकिर थियो। ‘धारा २७४ मा सीमांकन हेरफेर गर्न प्रदेश सभाको सहमति नचाहिने भनिएको छ। हो ‘पोइजन’ यहाँनेर छ। अनि अहिलेकै रुपान्तरित संसदले गर्ने भनिएको छ। प्रदेशको सहमतिबिना,’ ओलीले भने।

अन्तर्क्रियामा मधेसी पत्रकार समाजका अध्यक्ष मोहनकुमार सिंहले सोधे, ‘तपाईं आफूलाई राष्ट्रवादी नेता ठान्नुहुन्छ। ‘नेपाल माइनस मधेस’ राष्ट्रवाद हो कि?’

यसमा ओलीले जवाफ दिए, ‘राष्ट्रवाद भन्दा बिझाउने कारण के छ। राष्ट्रवाद मधेसविरोधी हो र? राष्ट्रवाद भनेको राष्ट्रको हित र सम्मान हो। राष्ट्रिय आकांक्षाको हित र समृद्धि हो।’

त्यसपछि बुद्धिजिवी परमेश्वर पाठकले प्रश्न गरे, ‘दुई नम्बर प्रदेशमा चुनाव आउँदै गरेकाले यो अन्तर्क्रिया गर्नुभएको हो कि स्नेह भएर हो? अनि एकाएक २१ जना केन्द्रीय सदस्य भर्ती गर्नुका कारण के लड्नलाई हो?’

ओलीले यसको जवाफमा कथा सुनाए, ‘एक जना वृद्धले घरबाट निस्कने बेला ढोकाछेउको लोटा देखेनछ। भरी पानी भएको लोटा खुट्टाले लागेर ढल्यो। उसले भन्यो- यस्तो बीचमा सामान राख्ने? लोटा अलिकति छेउमा राख्नु पर्दैन? अर्कोचोटि त्यही लोटा ढोकाको छेउमा कुनातिर राखिएको बेला फेरि वृद्धको खुट्टा लागेछ। लोटा ढल्यो। उसले भन्यो- यस्तो नदेख्ने ठाउँमा राख्ने? अलिक देख्ने ठाउँमा बीचमा उज्यालोमा राख्नु पर्दैन?’

ओलीले कथाको सार सुनाए, ‘केन्द्रीय सदस्य नियुक्त नगरे गरेन भन्ने, गर्यो भने किन गरे भन्ने?’

उनले भने, ‘मधेसी साथीहरु नियुक्त गर्ने कुरा थियो। मधेसको विषय उठिरहेकै थियो। त्यसो भए गरौं भनेर धेरैलाई एकैसाथ गरियो।’ उनले ‘लड्नका लागि सदस्य भर्ती गरिएको’ भन्ने भनाइमा चित्त बुझाएनन्। भने, ‘उहाँहरुको ब्यागमा ढुंगा छ कि चेक गर्नुहोला?’

अधिवक्ता आनन्द गुप्ताले तराईमा डोम र अन्य समुदायमा साक्षरता नहुनुमा भाषिक कारण रहेको बताए। तिनले भाषा नबुझेर नपढेको उनको दाबी थियो। मधेसी शिक्षकले पहाडमा पढाएको उदाहरण दिँदै उनले भने, ‘कोही मातृ भाषामा पढ्न चाहन्छ भने त्यो अधिकार चाहियो। नेपाली भाषा लादिएको छ।’

ओलीले जवाफ दिए, ‘हिन्दी टेलिसिरियलले स्थापित गरेको भाषा हो। म मैथिली भाषाको उत्थानका लागि तयार छु। हिन्दी भित्र्याउन तयार छैन। मैथिली र भोजपुरी मासेर हिन्दी भित्र्याउन तयार छैन। अन्तरप्रदेश काम चलाउन सकिने भाषा नेपाली नै हो। मिथिला र मैथिली भनेपछि बम पड्काएर मारिदिने अनि हिन्दी भन्ने?’

ओलीले प्रदेश सभाले तोकेर सरकारी कामकाजका लागि बढीमा दुई भाषा प्रदेशमा राख्न सकिने संवैधानिक व्यवस्था सुनाए। तर, यही आधारमा धनुषामा लिम्बू भाषा प्रयोग गर्न सक्ने अवस्था नरहेको उनको भनाइ थियो।

राष्ट्रपतिमा रामवरण यादवलाई किन निरन्तरता नदिएको भन्दै प्रश्नमा ओलीले भने, ‘के कांग्रेस एक्लैले उहाँलाई राष्ट्रपति बनाएको हो। एमालेको भोट र योगदान कति छ उहाँलाई भेटेको बेला सोध्नुहोस्। चार जनाको नाम अगाडि सार्दा एमालेले उहाँको नाममा हुन्छ भनेको हो।’

मधेसी अधिकारकर्मी विणा सिन्हाले ‘भोजपुरी र मैथीली भाषालाई उकास्न के गर्नुभयो?’ भनेर सोधेकी थिइन्। उनले हिन्दी भाषामा प्रश्न सोधेको प्रश्नमा ओलीले भोजपुरीमा जवाफ दिए, ‘भोजपुरीको रक्षाके लिये हम खडा बानी।’

त्यसपछि अगाडि भने, ‘अघि चेलीले मैथिली र भोजपुरीको प्रतिरक्षा गर्नु भएन। तर, हिन्दीको गर्नुभयो। माफ गर्नुस्, भारतमा हिन्दीको वकालत पञ्जाब, बंगाल र तमिलले गर्दैन।’

‘हामीले मिथिला विकासका लागि विद्यापति कोष स्थापना गरेका छौं। तपाईंले भन्न सक्नुहुन्छ, सरकारमा गएर विद्यापति कोष खडा गरी विद्यापतिलाई हतियार बनाउन खोज्यो। यो त केही गर्दा पनि नहुने कुरा भयो। नगर्दा गरेन भन्ने, गर्दा त्यसलाई हतियार बनायो भन्ने?’ ओलीले भने, ‘मैले वातावरणविद्लाई बोलाएर प्रधानमन्त्री भएको बेला सोधेँ- विकासले वातावरणमा के असर गर्यो? असर कम गर्न के गर्ने? उनले राजनीतिक जवाफ दिए। मैले फेरि भनेँ- उपाय भन्नुस्, कम क्षति गर्न सरकार तयार छ। वातावरण जोगाउन पनि तयार छ। के गर्नुपर्छ? उनले फेरि राजनीतिक शब्द बोले। मैले भनेँ- राजनीति म गर्छु। तपाईं के गर्नुपर्छ भन्नुस्। तब उनले भने- मेरो त जागिर हो। आइएनजिओलाई काम गर्छु।’

अन्तर्क्रियाको अन्त्यमा ओलीले आफूले जस्तो प्रश्न पनि पचाएजस्तै जवाफ पनि पचाएर लोकतान्त्रिक आचरण देखाउन आग्रह गरे। उनले सिधा भाषा प्रयोग गर्दा कतिपयको मुहारमा खुसी नदेखिएको भन्दै माफी मागे।

‘मधेस भनेको सूर्य उपासना गर्ने छठ मान्ने ठाउँ हो,’ उनले भने, ‘मधेसको दिनचर्या नै सूर्यको प्रणामबाट सुरु हुन्छ। त्यस ठाउँमा सूर्य ध्वजावाहक हार्छ भन्ने शंका लिनुपर्दैन।’

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.