चुडामणि शर्मा लगायत कर फर्स्यौट आयोगका पदाधिकारीबिरुद्ध भोलि मुद्दा दर्ता हुने


कर फर्स्यौट आयोगका ३ पदाधिकारीबिरुद्ध मुद्दा दायर गर्न पुगेका अख्तियारका कर्मचारीलाई समय अभाव भएको भन्दै विशेष अदालतले फिर्ता पठाइदिएको छ।

कर फर्स्यौट आयोगका अध्यक्ष लुमध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव तथा आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माविरूद्ध मुद्दा दर्ता गर्न अनुसन्धान अधिकृतहरु ४ बजे पछि अदालत पुगेका थिए।

उनीहरुले झण्डै ११ अर्ब बराबरको भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गर्न लागेको हो।

सबै फाइल हेरेर रुजु गर्न समय लाग्ने भएकाले रजिष्ट्रारले उनीहरुलाई भोलि आउन भनेको प्रवक्ता जगन्नाथ पौडेलले सेतोपाटीलाई बताए।

‘उहाँहरु अल्लि ढिलै आउनु भएको थियो ८७ वटा फाइल थिए त्यत्रो फाइल रुजु गर्न समय लाग्छ त्यसैले रजिष्ट्रारले भोली आउनभन्नु भयो। उहाँहरु पनि फर्किनु भयो,’ उनले भने।

जेठ १९ मा पक्राउ परी अख्तियारको हिरासतमा रहेका चुडामणिलाई रिहाईको माग गर्दै पत्नीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सर्वोच्चले शुक्रबार चुडामणिलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।

कर फर्स्यौट आयोगका अन्य दुई पदाधिकारी महत र ढकाल भने हालसम्म पनि फरार छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.