म रेसमा कुद्ने मान्छे होइनः नवनियुक्त मुख्यसचिव क्षेत्री

पदभार ग्रहण गर्दै मुख्य सचिव राजेन्द्र किशोर क्षेत्री। तस्बिरः नारायण महर्जन


सोमलाल सुवेदी मुख्यसचिव छाडेर एसियाली विकास बैंकमा जागिर खान जाने भएपछि राष्ट्रिय सतर्कता केन्द्रका सचिव धनबहादुर तामाङ, अर्थसचिव शान्तराज सुवेदी र शिक्षा सचिव  शान्तबहादुर श्रेष्ठ भावी मुख्य सचिवको ‘रेस’मा थिए।

सुवेदीले असार २७ सम्म राजीनामा नदिएपछि पाँच वर्षे सेवा अवधिका कारण तामाङले बुधबार अवकाश पाए। सुवेदी र श्रेष्ठले आउँदो कात्तिक पहिलो साता पाँचवर्षे सेवा अवधिका कारण अवकाश पाउने भए पनि उनीहरुको सम्भावना कायम थियो। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भने यी दुवैलाई छाडेर खासै चर्चामा नआएका राजेन्द्रकिशोर क्षत्रीलाई मुख्यसचिवमा बढुवा गर्यो।

गरिबी निवारण तथा सहकारी मन्त्रालयका सचिव क्षत्रीलाई वरिष्ठताका आधारमा मुख्यसचिव नियुक्त गरिएको सरकार प्रवक्ता तथा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सेतोपाटीलाई जानकारी दिए।

२०४१ सालमा कानुनको शाखा अधिकृतबाट सरकारी सेवा सुरु गरेका क्षत्री २०४९ मा उपसचिव भएका थिए। २०५६ मा सहसचिव भएका उनको २०६९ साउनमा सचिवमा बढुवा भएको थियो। सुरुमा कानुन आयोगका सचिव बनेका क्षत्री पछि ऊर्जा मन्त्रालय, उपराष्ट्रपति कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदै सहकारी तथा गरिबी निवारण  मन्त्रालयमा सचिव भएका थिए।

गोरखाको लिगलिगमा पुर्ख्यौली भएका क्षत्री अचेल काठमाडौं कलंकीमा बस्छन्।

उनी मुख्यसचिव नभएको भए सचिवको पाँचवर्षे सेवा अवधिका कारण साउन २ गते अनिवार्य अवकाश पाउँदै थिए।

तपाईं मुख्यसचिवको रेसमा त हुनुहुन्थेन नि भन्ने सेतोपाटीको प्रश्नमा क्षत्रीले भने, ‘हो म रेसमा कुद्ने मान्छे परिनँ, त्यही भएर धेरैपटक दु:ख पाएको छु। आज सरकारले मलाई विश्वास गरेकोमा धन्यवाद दिन चाहन्छु।’

बेल्जियमको ब्रसेल्स विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय कानुनमा स्नातकोत्तर गरेका क्षत्रीको कानुनमा विज्ञता छ। उनी पूर्वाधार, विकास प्रशासन, ऊर्जा र जलस्रोतमा पनि दख्खल राख्छन्। क्षत्रीले अब तीन महिना नेपालको मुख्य प्रशासकको जिम्मेवारी सम्हाल्नेछन्। कात्तिक ८ गते उनले उमेर हदका कारण सरकारी सेवाबाट अवकाश पाउने छन्।

मुख्यसचिवमा क्षत्रीको बढुवासँगै अर्थसचिव सुवेदी र शिक्षा सचिव श्रेष्ठको मुख्यसचिव बन्ने सम्भावना सकिएको छ। कात्तिक पहिलो साता उनीहरुको अवकाशपछि मुख्यसचिव हुने वरिष्ठतामा गृहसचिव लोकदर्शन रेग्मी र वाणिज्यसचिव ङइन्द्रप्रसाद उपाध्याय अगाडि छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.