मुख्यसचिवको ‘खेल’


वर्ष दिन  कार्यकाल बाँकी छँदै मुख्यसचिव सोमलाल सुवेदी  एसियाली विकास बैंक(एडिबी) को वैकल्पिक निर्देशकका रूपमा जागिर खान फिलिपिन्सको मनिला जाँदैछन्।

साउन १ गते मनिला हाजिर हुनुपर्ने भए पनि  सुवेदीले अझै ‘राजीनामा’ दिएका छैनन्। देशको प्रमुख प्रशासकको पदमा बहाल रहेरै उनी एडिबीको वैकल्पिक निर्देशक बन्न जान लागेका हुन्।

सुवेदीलाई नेपाल सरकारले एडिबीमा मनोनित गर्नेबित्तिकै सहसचिवहरूले ‘ताके’को पोष्टमा मुख्यसचिव  जान लागेको भनेर कतिपयले अालोचना गरेका थिए। अहिले उनी राजिनामा नै नगरी जान लाग्दा त्यो आलोचना झन् दोब्बर भएको छ।

सुवेदी आफ्नै स्वार्थले राजीनामा नदिइकन मनिला जान लागेका हुन् वा सरकारमा रहेका पार्टीको ‘हित’का खातिर त्यस्तो राजीनामा अहिलेलाई थाँती राखेका हुन् भन्नेमा बिभिन्न अडकलबाजी हुन थालेका छन्।

पूर्वमुख्यसचिव विमल कोइराला राजनीनामा नदिई देशको प्रमुख प्रशासक जस्तो व्यक्ति जागिर खान विदेश जानुलाई ‘लोभ’ को संज्ञा दिन्छन्।

‘मुख्यसचिव जस्तो मान्छेलाई जागिरको लोभ देखियो। अझ राजीनामा नदिदाँ त पेन्सनको पनि लोभ गरेको देखियो’, कोइरालाले भने।

सुवेदीले केही समयपछि राजीनामा दिएभने अहिले नै राजीनामा दिँदा पाउनेभन्दा अलिकति बढी रकम पेन्सन पाउँछन्।

सुवेदीले राजीनामा दिनु र नदिनुसँग उनको नैतिकता मात्र जोडिएको छैन, उनले राजीनामा कहिले दिन्छन् भन्ने  विषयसँग मुलुकको भावी प्रमुख प्रशासक को बन्छ? भन्ने प्रश्न पनि जोडिएको छ।

यसरी उनी एडिबीको तुलनात्मक रूपमा ‘कनिष्ठ’ पदमा जागिर खान जाँदा एकातिर मुख्यप्रशासक पदको गरिमा जोडिएको छ भने अर्कोतिर राजीनामा नदिकन जाँदा देशको हुनेवाला मुख्यसचिवको पद र प्रभावकारिता पनि प्रभावित बनेको छ।

सुवेदीले राजीनामा नदिएकाले सरकारले मुख्यसचिव नियुक्त गरेको छैन। निमित्त मुख्यसचिवको जिम्मेवारी मात्र तोकेको छ। निमित्त भएर केही महिना भित्रै अवकाश पाउने भएपछि जसले नियुक्ति पाएको हो उसलाई राम्ररी काम गर्ने हौसला हुन्न, अर्कातिर केही महिनाका लागि हुने ‘निमित्त मुख्यसचिव’ले पकडका साथ प्रशासन हाँक्न पनि सक्दैन।

सुवेदीले राजीनामा दिएका भए  भने अवस्था अर्कै हुन्थ्यो।

सुवेदीले मंगलबारसम्ममा राजनीमा दिएर स्वीकृत भएको भए बरिष्ठताको आधारमा राष्ट्रिय सतर्कता केन्द्रमा रहेका सचिव धनबहादुर तामाङ मुख्यसचिव हुन सक्थे। मुलकले तामाङ समुदायबाट पहिलो मुख्यसचिव पाउँथ्यो। उनको कार्यकाल मंसिरमा सकिन्थ्यो। तर सुवेदीले राजीनामा दिएनन्। तामाङको कार्यकाल पनि मंगलबार सकियो। तामाङ सेवा अवधिका कारण अवकाश पाएर घर गए।

तमाङले अवकाश पाएपछि मुख्यसचिवको प्रतिष्पर्धामा अर्थसचिव शान्तराज सुवेदी र शिक्षासचिव शान्तबहादुर श्रेष्ठ छन्। तर दुबैको कार्यकाल कात्तिकमा सकिँदैछ। सुवेदीले कात्तिकसम्ममा राजीनामा दिएको खण्डमा मुख्यसचिवको रूपमा सुवेदी वा श्रेष्ठ आउन सक्छन्। तर सोमलाल सुवेदीले कात्तिकअघि नै राजीनामा दिन्छन् वा दिदैँनन् अझै निश्चित छैन।

शान्तराज सुवेदी र शान्तबहादुर श्रेष्ठ मुख्यसचिवको रेसमा कायमै छन्। उनीहरू सचिवको पाँच वर्षे कार्यकालका कारण कात्तिकको पहिलो साता नै घर फिर्नेछन्। केही गरेर उनीहरू मुख्यसचिव भएको अवस्थामा तीन वर्षे कार्यकाल थप हुनेछ। उमेर हदले अवकाश पाउनु नपर्ने भएका कारण दुईमध्ये जो मुख्यसचिव भएपनि तीन वर्ष काम गर्न पाउने छन्।

मुख्यसचिव सोमलाल सुवेदीले  कात्तिकपछि राजीनामा दिएको अवस्थामा भने लोकदर्शन रेग्मी मुख्यसचिवको दाबेदार बन्नेछन्। रेग्मीको सेवा अवधि  २०७५ साउनसम्म रहेको छ।

उनी २०७० साउन ६ गते सचिवमा बढुवा भएका थिए। पाँच वर्षे सेवा अवधिले उनले साउन पहिलो साता नै अवकाश पाउनेछन्।

मुख्यसचिवबाट सोमलाल सुवेदीले राजीनामा नदिएर पूरा कार्यकाल बसेको खण्डमा पनि रेग्मी मुख्यसचिव बन्न पाउने छैनन्। किनभने २०७२ सालमा मुख्यसचिव भएका सुवेदीको कार्यकाल आउँदो २०७५ साउन २० गतेसम्म छ।

स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले लोकदर्शन रेग्मीलाई मुख्यसचिव बनाउन चाहेका छन्। त्यसकारण उनले मुख्यसचिव सुवेदीलाई तत्काल राजीनामा गर्नबाट रोकेका हुन्। रेग्मी कांग्रेस निकट प्रशासक हुन्। प्रधानमन्त्री देउवासँग उनको वशेष सम्बन्ध छ।

सुवेदीलाई पनि  पूर्वप्रधानमन्त्री सुशील कोइरालाले मुख्यसचिवमा नियुक्त गरेका थिए।

सुवेदी राजीनामा नदिई जागिरका लागि एडिबी गएपछि देशकै उच्च प्रशासनिक पदको  कमान्ड  प्रधानमन्त्री कार्यालयका सचिव तथा निमित्त मुख्यसचिव केदारबहादुर अधिकारीले सम्हाल्ने छन्।

यस विषयमा मुख्यसचिव सुवेदीसँग सेतोपाटीले सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा अाएनन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.