बन्दमा सबै खुला, निजी स्कुल मात्र किन बन्द?

फाइल तस्बिर


नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीद्वारा मंगलबार घोषित ‘नेपाल बन्द’ले राजधानीको एउटा समूहबाहेक अरुलाई छुँदा पनि छोएन।

बन्दबाट प्रभावित त्यो समूह हो- स्कुले विद्यार्थी र तिनका अभिभावक।

बन्दको दिन काठमाडौं उपत्यकामा सवारी साधन सामान्यजस्तै चले। पसल सबै खुले। ट्याक्सी, टेम्पो, माइक्रो, बस लगायत सार्वजनिक यातायात कुनै बन्द भएनन्। कलकारखाना चले। बैंक र वित्तीय संस्था पनि साविकझैं खुला भए। जनजीवन सामान्य रह्यो।

अरु कुनै पनि क्षेत्रलाई बन्दको प्रभावले नछुँदा पनि निजी स्कुलहरु भने खुलेनन्। अिधकांशले अघिल्लो दिन नै केटाकेटीलाई ‘भोलि फोन गरेर मात्र स्कुल आउनू’ भनेका थिए। नभन्दै एकाविहानै धेरै स्कुलले बन्दका कारण गाडी चल्न नसक्ने भन्दै विदा गरे। जबकि, बन्दका बीच पनि गाडी त चले, स्कुल भने खुलेनन्।

सरकारी विद्यालयहरुमा पढाइ भइरहँदा बन्दकै कारण निजी स्कुलहरु बन्द गर्नुपर्ने कारण के हो?

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले यही प्रश्न आफ्ना केटाकेटी पढ्ने स्कुललाई सोधेका थिए, जब स्कुल प्रशासनले मंगलबार बिहानै फोन गरेर बन्द-विदाको सूचना दियो।

‘फोन गर्नेलाई मैले भनेँ, सबै चलेको छ त, स्कुल मात्र किन बन्द? यतिबेला त सुरक्षाको थ्रेट पनि छैन,’ उनले सेतोपाटीसँग भने, ‘गतिलो जवाफ आएन। निजी स्कुलहरु बन्दका लागि के निहुँ पाउँ भनेर बसेको देखियो।’

यसरी बन्द-हड्ताल बेला सार्वजनिक सुरक्षाको जिम्मेवारी बोकेका सरकारी अधिकारी स्कुल खोल्न सुरक्षा समस्या नभएको बताइरहेका बेला स्कुल सञ्चालकहरु भने बन्द बेला पढाइ गर्नुलाई जोखिमपूर्ण नै ठान्छन्।

निजी विद्यालयहरुको संगठन एन-प्याब्सनका कर्णबहादुर शाहीले विद्यार्थीको सुरक्षा संवदेनशीलता हेरेर स्कुल विदा गरेको बताए।

‘स्कुलजस्तो कुरा मुढेबल लगाएर चलाउन सकिन्न,’ उनले भने, ‘बन्द बेला स्कुल बसहरुलाई निशाना बनाउने पुरानो प्रवृत्तिले हामी जोखिम मोल्न चाहँदैनौं। पसल खोलेको वा सार्वजनिक बस चलाएजस्तो होइन। बन्द भनेपछि रिस्क लिएर स्कुल चलाउन सकिन्न। केही भयो भने जिम्मेवार त स्कुल प्रशासन नै हुनुपर्छ।’

स्कुले विद्यार्थी बोक्ने गाडी सहरका विभिन्न ठाउँ पुग्नुपर्ने भएकाले जोखिम मोल्न नचाहेको उनको भनाइ छ। ‘हामीलाई थाहा छ, सबै जना स्कुल खुले हुन्थ्यो भन्ने चाहन्छन्, अभिभावकहरु पनि यही चाहनुहुन्छ, तर केही घटना भयो भने त्यसको जवाफदेहिता कसले लिने?’ अध्यक्ष शाहीले भने।

अभिभावक संघकी वरिष्ठ उपाध्यक्ष सरिता अर्याल भने बन्द बेला स्कुल खुल्नुपर्ने माग उठे पनि त्यसका लागि अभिभावकको मनको डर हट्नुपर्ने बताउँछिन्।

‘वातावरण बनेको अवस्थामा हामी आफ्ना केटाकेटीलाई स्कुल पठाउन तयार छौं,’ उनले भनिन्, ‘भक्तपुरमा कुनै पनि बन्द बेला स्कुल विदा हुँदैन, उपत्यकाकै एउटा जिल्लामा हुन सक्ने कुरा अर्कोमा किन सक्दैन? यसका लागि पहिला डर भगाउन पर्यो। नत्र जसको जुनसुकै माग भए पनि अट्याक हाम्रा नानीहरुमाथि नै हुन्छ।’

विद्यार्थी ओसार्ने गाडीमा आगो लगाउलान् वा ढुंगामुढा हुन सक्ने अवस्थाका कारण पनि निजी स्कुल नचलेको उनको भनाइ छ।

‘डरको माहोलमा हामी आफ्ना केटाकेटीलाई स्कुल पठाउन सक्दैनौं,’ अर्यालले भनिन्, ‘राजनीतिक रुपमा सबैले स्कुलमाथि केही नगर्ने प्रतिबद्धता गर्नुपर्छ।’

एन-प्याब्सनका शाही पनि स्कुल बसलाई राजनीतिक दलहरुले एम्बुलेन्सजत्तिकै मान्यता दिनुपर्ने बताउँछन्।

‘बन्दमा एम्बुलेन्स चलेजस्तै स्कुल बस पनि चल्नुपर्ने अवस्था बनाउनुपर्छ,’ उनी भन्छन्, ‘स्कुललाई शान्ति क्षेत्र भन्दा पनि आन्दोलनका नाममा बस तोडफोड भए। विद्यालयमा बम राख्ने काम भए। यस्तोमा कसरी जोखिम मोल्न सकिन्छ?’

काठमाडौंका सहायक सिडिओ बस्नेत भने सुरक्षाको प्रश्न सही नभएको जिकिर गर्छन्।

‘अहिले सुरक्षा चुस्त छ। हामीकहाँ कुनै विद्यालयका संगठन आएर सुरक्षाको विषय उठाउनुभएको छैन,’ उनले भने, ‘खोई त सामुदायिक विद्यालयहरुमा बन्दको असर छैन त।’

विद्यालय सञ्चालकसमेत रहेका शाही भने बन्दकर्ताको पहिलो निशाना स्कुल नै भएकाले सर्तक हुनुपर्ने अवस्था रहेको बताउँछन्।

‘पुलिसले छेउमा आएर बन्दुक देखाउँदैमा सुरक्षा हुने होइन। स्कुल कम्पाउन्डमा ५ सयदेखि ४ हजारसम्म विद्यार्थी हुन्छन्। एउटा पेट्रोल बम फाल्दियो भने कम्पाउन्डमा ‘प्यानिक सिचुएसन’ बन्न सक्छ,’ उनी सिधा जवाफ दिन्छन्, ‘बन्दमा स्कुल खुल्ने कुरा पुलिस वा सेक्युरिटीबाट हुने होइन, पोलिटिकल कन्सेसनबाट हुने हो।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.