काठमाडौं सहरले फेरिने मौका गुमायो: रवीन्द्र मिश्र


अब त केही अनुभवी हुनुभयो। के रहेछ राजनीति भनेको?

बितेको चार महिनाको अनुभवमा पार्टीसमेत नबन्दै हामीबाट असाध्यै ठूलो अपेक्षा आमनेपालीमा पायौं। मानौं हामी निकै पुरानो पार्टी हौं। त्यो अपेक्षा हाम्रा लागि सद्भाव थियो। तर, त्यही समय त्यो ठूलो चुनौति बन्यो। हाम्रो करिब १५–२० जनाको सानो समूहका लागि त्यो असाध्यै थकानपूर्ण क्षण बन्यो। हामीले धेरै मेहनतका साथ काम गर्नुपर्यो। हामीले त्यही बेला स्थानीय चुनावमा भाग लियौं। यो सानो अवधिमा हामीले धेरै प्रकृतिका काम गर्नुपर्यो। असाध्यै धेरै प्रश्न सामना गर्नुपर्यो। यसले हामीभित्रको दृढता अझ धेरै बढाएको छ।

काठमाडौं र इटहरीमा चुनाव लड्दा प्रचारदेखि त्यहाँ आउने चुनौतिहरू के–कस्ता हुन्छन् र त्यसले के फरक पार्दो रहेछ भन्ने पनि बुझियो। यी दुवै ठाउँका चुनौति नितान्त फरक देखिए।

यस अवधिमा पार्टी निर्माणका लागि चाहिने धेरै आधारभूत कुराहरू जान्ने मौका पनि पायौं। यो हाम्रा लागि ठूलो उपलब्धि रह्यो।

काठमाडौं उपत्यकाको मत परिणामले राम्रो उपस्थिति देखाए पनि इटहरीमा त एकदमै ठूलो अन्तर पो देखियो?

बाहिर इटहरीमा मात्र हामीले उम्मेदवारी दिएका हौं। त्यहाँ धेरै कम भोट पायौं। यो स्थानीय चुनावको हाम्रो मुख्य अनुभव भनेकै जतिसुकै राम्रो उम्मेदवार उठाए पनि र जतिसुकै राम्रो नियतले राजनीति गरे पनि संगठन नभए आम मतदातामा प्रभाव पार्न नसकिने रहेछ भन्ने हो। उपत्यका र बाहिर दुवैतिर संगठनको अभाव हामीलाई असाध्यै खट्कियो। हामी घोषणासमेत गर्न नभ्याएको पार्टीले संगठन पाउने कुरै थिएन। आठ–दस हप्तामा संगठन त कसरी बन्थ्यो? यो कुरा हामीलाई थाहा नभएको पनि होइन। तर, यति हुँदाहुँदै जुन किसिमले दसकौंदेखि राजनीति जकडिएको छ, त्यसलाई चिर्न पनि उत्तिकै चूनौतिपूर्ण थियो। त्यसका निम्ति हामीले साइत पर्खन चाहेनौं। अबको समय हामीले राम्रोसँग संगठन निर्माण गर्न सक्यौं भने त्यो चुनौति चिर्न सकिन्छ भन्ने आत्मविश्वास पलाएको छ।

इटहरीमा जस्तो परिणाम देखियो, त्यसले त्यहाँ उम्मेदवारी नदिएको भए हुन्थ्यो भन्ने मनमा परेको छैन?

पटक्कै छैन। अहिले त हाम्रा उम्मेदवार कस्ता हुन्छन् भनेर देखाउनु मुख्य उद्देश्य थियो। बरु अलिक चाँडै उम्मेदवार घोषणा गर्न पाए हुन्थ्यो।

हेर्नुस्, काठमाडौंमा जसले मेयर जित्नुभयो, उहाँले दुई वर्षमा रेल ल्याइदिन्छु भन्नुभएको थियो। जबकि, साझा पार्टीका उम्मेदवार सहरी विकास विज्ञ किशोर थापाले दुई वर्षमा रेल त होइन, त्यसको ‘डिटेल प्रोजेक्ट रिपोर्ट’ पनि बन्दैन भन्नुभयो। आखिरमा दुई वर्षमै रेल ल्याइदिन्छु भन्ने मान्छेले जित्नुभयो। साँचो जसले बोल्नुभयो, उहाँ हार्नुभयो। आज परिणाम हेर्नुस् त, महानगरपालिकाको पहिलो बैठकबाटै जितेका मेयरले आफूहरूलाई मोबाइलफोन किन्ने निर्णय गर्नुभयो। अब त्यही स्थिति रहने हो भने त हामी सधैं गुमाउँछौं।

किशोर थापाजस्तो मान्छेले चुनाव जितेको भएदेखि यो काठमाडौंले मुहार फेर्थ्यो। इटहरीमा डा. तारा काफ्ले र प्रकाशचन्द्र परियारले जितेको भए काठमाडौं मात्र होइन, दक्षिण एसियाका पत्रकारहरूले गएर हेर्ने थिए सहरको मुहार कसरी फेरिन्छ भनेर।

हामीले नसक्ने कुरा घोषणापत्रमा लेखेका थिएनौं। हामी बनाएरै छाड्थ्यौं। एक त हाम्रा उम्मेदवार आफैंमा इमानका साथ काम गर्न सक्षम हुनुहुन्थ्यो, प्रशासनिक संरचना आफ्नो ठाउँमा छँदै थियो अनि विज्ञ सहयोग कसरी जुटाउनुपर्छ भन्ने हामीलाई राम्रोसँग थाहा थियो। तर, गुम्यो त्यो मौका।

चुनावमा जानुअघि परिणामलाई लिएर तपाईंहरूको पूर्वानुमान के थियो? रिजल्ट आएपछि कस्तो महशुस भयो?

यो समाज दसकौंदेखि राजनीतिले जकडिएको मात्र नभई सम्पूर्ण एजेन्डालाई राजनीतिले अपहरण गरेर राखेको समाज हो। यसरी राजनीतिले गाँजेको परिणाम के भयो भने सबै मानिस, तिनका परिवार राजनीतिक रुपमा विभक्त छन्। त्यसले काठमाडौंजस्तो पढेलेखेका नागरिक बसेको ठाउँमा पनि हामीलाई त्यो चिर्न कठिन भयो। तर, यसबीच पनि सकारात्मक संकेत के रह्यो भने साथमा केही नभएका हामी खाली हात जाँदा पनि राम्रो उम्मेदवार र विश्वासिलो पार्टी भयो भने मानिस बदलिँदा रहेछन् भन्ने देखियो। त्यसैले स्थानीय चुनावको रिजल्टलाई हामीले एकदमै सकारात्मक रूपमा लिएका छौं। हाम्रो अपेक्षाभन्दा यो एकदमै राम्रो परिणाम त होइन, तर नराम्रो परिणाम त अझ हुँदै होइन।

तपाईं त अझ युरोपका कतिपय देशको उदाहरण दिँदै राम्रो पार्टी भए तत्कालै अगाडि आउन सक्छ भन्नुहुन्थ्यो?

हो, मैले फ्रान्स, इटाली र स्पेनजस्ता मुलुकको कुरा गरेको हुँ। त्यो यहाँ तत्कालै देखापरेन। फेरि हामी त साझा पार्टीको नाम सार्वजनिक गरेको भरमा छ हप्तामै चुनावमै गयौं। हामीसँग अलिक बढी समय भइदिएको भए अझ राम्रो नतिजा आउँथ्यो होला। यति हुँदाहुँदै सकारात्मक संकेत देखियो। अब संगठन निर्माण गरेर जाने हो भने हामी राम्रो नतिजा ल्याउन सक्छौं भन्ने स्पष्ट संकेत यसले देखाएको छ।

युरोपमा जस्तो नेपालीहरूले नयाँ पार्टीलाई तत्कालै ग्रहण नगरेको देखियो भन्नुभयो। कति समय लाग्ला त साझा पार्टीलाई अग्रणी शक्तिको रूपमा देखिन?

जिल्ला–जिल्ला जाँदाखेरि होस् वा अस्ति भर्खरै जापान जाँदा होस्, सबैतिर साथीहरू के भन्नुहुन्छ भने ‘नआत्तिनुहोस्। दुई–चार वर्ष तपाईंहरूलाई हेर्छौं। राम्रो गर्दै जानुस्, हामी साथ दिँदै जान्छौं।’

मेरो भनाइ त के भने हामीलाई अहिल्यै साथ दिएर राम्रो बनाउनुस्। अब बलियो संगठनसहित आउँदैछौं, जिताउनुस्। दुई–तीन वर्ष हेरेपछि मात्र साथ दिने हो भने अहिले हामीले साथ चाहिँ कसको पाउने त? साझा पार्टीलाई बलियो विकल्पका रूपमा मानिसले देखेका छन् भने उहाँहरूले इमान परिवर्तन नगरे पनि आस्था परिवर्तन गर्नै पर्यो। आस्था परिवर्तन गर्दा फरक पर्दैन। विमानलाई सबैभन्दा बढी शक्ति उड्ने बेलामै आवश्यक पर्ने हो। उचाइ लिइसकेपछि त आफैं हावामा तैरिन थालिहाल्छ। हामीले कुनै सामाजिक काम गर्न खोजेको होइन, देश बदल्छौं भनेका हौं। हामीलाई लामो समय लगाएर परख गर्ने सोचाइ कायम रहने हो भने त्यसले जटिलता निम्त्याउनेछ।

त्यो जटिलता के हुनसक्छ?

हामीले अहिले शक्ति पाएनौं भने हाम्रो उद्देश्य हासिल गर्ने समयावधि लम्बिन्छ। त्यो समयावधि लम्बिनु भनेको यो देशका लागि दुर्भाग्य हो। यति स्रोत–साधन भएको देशका लागि विकासको फड्को मार्ने अवधि अब लम्ब्याउनु भएन।

कांग्रेस र एमालेजस्ता पार्टीहरू जसले स्थापनाको दसकौंसम्म संघर्ष मात्र गरेर बिताए, त्यस्ताको विकल्पमा अघि बढेको पार्टीले पनि त कुर्न सक्नुपर्यो नि!

पुरानो पार्टीजस्तै लामो इतिहास हेरेर मात्रै मूल्यांकन गर्न थालियो भने अब फेरि कति वर्ष पर्खिने? हामी यस्तो कालखण्डमा छौं जहाँ पहिले लामो समय लगाएर गर्नेहरूभन्दा अब छिटो–छिटो गर्नुपर्ने बाध्यता छ। चाहे त्यो प्राज्ञिक, भौतिक वा प्राविधिक विकास होस्। हामी बेग्लै समयमा छौं। कुर्ने सुविधा हामीलाई छैन। डिजिटल युगमा आइसकेपछि अब फेरि टेलिभिजन बनाउनेले उही पुरानै कलर टेलिभिजनको कुरा त गर्दैन नि! झन् ब्ल्याक एन्ड ह्वाइट टेलिभिजनको संघर्ष त सम्झनै हुँदैन। डिजिटलबाटै सोचाइ थाल्ने हो।

तत्कालै तपाईंहरूको प्रभाव पर्ने पनि त देखिएन नि? आखिर मान्छेले फेरि पनि पूरै मेन्यु पढिसकेपछि तपाईंले भनेजस्तै ममः र चाउमिन नै मगाए। भर्खरै तपाईंको घरमा फापरको रोटी ममःभन्दा कयौं गुणा मिठो थियो। फाइदाजनक पनि। तर, ख्वै त? तपाईं र मैले मात्र खायौं। खाएनन् नि मानिसले?

हामीले सीमित जनशक्तिबाट सक्दो त गरेकै हौं। त्यसबाहेक सबै जना गैरराजनीतिक पृष्ठभूमिबाट आएका थियौं। न पार्टीको संगठन थियो न यसमा आएका मानिस को कुनै सांगठनिक आधार थियो। अब संगठन बनाएर अघि बढ्ने पनि भनिरहेकै छु। मुख्य कुरा हामी ठीक छौं भने त्यसको ठीक परिणाम त आउँछ नै। संगठनको काम अघि बढेपछि परिणाम फरक देखिँदै जानेछ। १५–२० हप्ताको बीचमा जे जति गर्यौं, त्यो हाम्रो दृष्टिकोणबाट एकदमै उत्साहजनक छ।

नेपालीहरूले फापरको रोटी पनि खान्छन्। समय लाग्छ। चिनाउँदै जानुपर्छ।

स्थानीय तहको चुनावमा उठाएका छ जनै उम्मेदवार नजितेपछि तपाईंका साथीहरूको उत्साहमा कुनै कमी त आएको छैन?

त्यो त हुने कुरै छैन। सुरुमै धर्मर अवस्थामा रहेका एक–दुई जना साथीहरू हामी हाम्फाल्दा पनि धर्मरै भएरै बस्नुभएको थियो। उहाँहरूको हिसाबै भएन। बाँकी त हामी उत्तिकै दृढ छौं र अझ बढी प्रतिबद्ध भएर काममा जुटेका छौं। हामी हाम्फालिसकेका साथीहरू लगनशील नभइदिएको भए त पार्टीको नाम मात्र सार्वजनिक गरेको छ सातामै चुनावमा ओर्लंदा पनि काठमाडौं र ललितपुरमा यत्रो मत कसरी पाइन्थ्यो?

हामीसँग के थियो? न बस्ने ठाउँको ठेगान, न चुनाव लड्ने तरिकाको जानकारी, न को शुभेच्छुक हुन् भन्ने थाहा थियो। सीमित स्रोतसाधनका बाबजुद हामीले ठूला पार्टीहरूसँग टक्कर लियौं।

अबको चुनावमा पनि त्यो टक्कर कायम रहला?

त्योभन्दा त धेरै अगाडि बढ्छौं। हामीले बढ्नैपर्छ। त्यसैले त अबको हाम्रो सबैभन्दा ठूलो चुनौति भनेकै संगठन निर्माण हो। हामी आक्रामक रूपमा संगठन निर्माणको चरणमा अब प्रवेश गर्छौं।

के गर्दै हुनुहुन्छ संगठन निर्माणका लागि?

सबैभन्दा पहिले प्रदेस तह र त्यसपछि जिल्ला तहमा नेतृत्व गर्न उपयुक्त व्यक्तिको खोजी गरिरहेका छौं। कयौं ठाउँमा भेटिसकेका पनि छौं। स्थानीय निर्वाचन बेला त असंख्य मानिसले साझा पार्टीका तर्फबाट उम्मेदवारी दिन अनुरोधै गरेका थिए। कतिवटा त डेलिगेसन नै आए। तर, हामीले यसरी सबै ठाउँमा उठाउने रुचि देखाएनौं। अहिले हतारमा उभ्याएको उम्मेदवारले भोलिसम्मको हाम्रो तस्बिर बनाउने भएकाले त्यो हतारमा जानै चाहेनौं।

यसबीच हामीले देखेको कुरा नै देशभरि हाम्रा शुभेच्छुकहरू रहेछन् भन्ने हो। त्यसलाई अब संगठनको ढाँचाभित्र बाँधेर लैजाने हो। यसरी प्रदेस र जिल्ला तहको नेतृत्व तयार गर्नुबाहेक त्यसभन्दा तल त हामीले गरिरहेको आह्वानबाटै पनि धेरै साथीहरू समेटिन आइरहनुभएकै छ। अर्थात् हामीलाई हेरेर आँखा लगाइरहेका जति छन् त्यति नै हामीले पनि आँखा लगाएका भविष्यका राम्रा नेताहरू छन्। यसरी आउनेलाई आँखा लगाउने र आँखा लगाएकालाई उनीहरूसम्मै पुगेर ल्याउने दुवै काम गरिरहेका छौं।

तपाईंहरूसँग जोडिन आउनेभन्दा पनि तपाईंहरूले आँखा लगाएर प्रस्ताव गर्नुभएका मानिस कत्तिको सकारात्मक देखिएका छन्?

सकारात्मक त सबै जना हुनुहुन्छ। तर, धेरै साथीहरू हामीप्रति सकारात्मक हुँदाहुँदै पनि राजनीतिमा होमिइहाल्ने मामलामा निर्णय गर्न अप्ठेरो मानिरहनुभएको छ। उहाँहरूको अवस्था स्वाभाविक हो। त्यस्ता कतिपय व्यक्तिले आफ्नो समाजका राम्रो सम्भावना बोकेका भावी नेता औंल्याइदिने काम गरिरहनुभएको छ। त्यसले पनि सघाउ पुगिरहेकै छ। राजनीतिमा होमिन तयार रहेकाहरू भने हामीसँग आइसक्नुभएको छ।

अब पार्टीको औपचारिक घोषणा कहिले गर्नुहुन्छ?

पार्टी घोषणा गर्न हामीले हतार नगरेकै हो। स्थानीय तहको निर्वाचन सम्पन्न नभइसकेकाले निर्वाचन अयोगमा पार्टी रजिस्ट्रेसन बन्द छ। यसैबीच हामी चुनावमा गयौं। पार्टी रजिस्ट्रेसन र घोषणा गर्ने काम उपयुक्त समयमा गर्छौं नै। अहिल्यै घोषणा नगरेर हामीलाई केही घाटा पनि भएको छैन। हामी मजाले काम गरिरहेका छौं। स्थानीय चुनावको अनुभवका आधारमा पनि हामीले थोरै रणनीति बदलेका छौं।

के रणनीति लिनुभयो त?

अहिलेसम्म हाम्रो पार्टीको ‘सफ्ट लन्च’ गरिसक्ने योजना थियो। तर, बीचैमा चुनाव परिदियो। अब यो सम्पन्न नहुन्जेल पार्टी रजिस्ट्रेसन नखुल्ने भएकाले यसबीच सातै प्रदेसमा संगठन विस्तारको काममा जुटेका छौं। तलैदेखि उपयुक्त मानिस खोजेर संगठन तयार पारिसकेपछि अनि बल्ल हामी राष्ट्रिय पार्टीको काठमाडौंमा घोषणा गर्नेछौं।

अहिले तपाईंहरू के मा व्यस्त हुनुहुन्छ? दैनिकी के छ?

हामीले यो चार महिनामा पार्टी कार्यालय बनायौं, समूहलाई अझ दरिलो पार्यौं, अन्तरिम विधान लेख्यौं, राजनीतिक दस्तावेज तयार पार्यौं, पार्टीको वेबसाइट लन्च गर्यौ। नेपालमा राजनीतिक दलको अपांगताअनुकूल वेबसाइट सम्भवतः हाम्रो मात्रै छ। हामीले यसैबीच चुनावमा पनि भाग लियौं। पार्टी रणनीतिलाई लिएर छिट्टै कतै गएर केही दिनको विस्तारित बैठक बस्दैछौं। अहिले नै पनि हाम्रो नियमित बैठक साझा पार्टीको कार्यालयमा बसिरहेकै छ। समसामयिक विषयलाई लिएर पार्टीको हलमा शनिवार र अन्य दिन पनि प्रत्यक्ष अन्तक्र्रिया कार्यक्रम चलिरहेकै छ। त्यस्ता आठ–दसवटा कार्यक्रम भइसके। त्यो हरेक कार्यक्रममा हलभरि मानिस आइरहनुभएको छ। यसबीच हामी मिलेर जान सकिने समूहहरूसँग वार्ताहरू पनि भइरहेका छन्।

त्यो मिल्नसक्ने भनेको को हो?
यसबारे म धेरै विस्तृत रूपमा अहिल्यै जान चाहन्न। तर, सर्वसाधारणको चाहना, साझा पार्टीको चाहना, विवेकशील नेपालीको चाहना र हामी दुवैथरिका शुभेच्छुकहरूको चाहनाले छिट्टै मूर्तरुप लिँदैछ।

विवेकशील नेपालीसँग मिलेर जानेबारे केही तयारी भइरहेको हो?

हामी संवादमा छौं। छलफल भइरहेको छ। सकारात्मक रूपमा यसले मूर्तरुप लिन्छ। अहिलेलाई यति मात्र भनौं, यो साझा, विवेकशील र हाम्रा शुभेच्छुकको चाहना मात्र नभएर देशको आवश्यकता पनि भएकाले महत्वपूर्ण कुरा हो। यो देश रूपान्तरण गर्ने हो भने एउटा कुरामा के प्रस्ट हुनुपर्छ भने ‘पोलिटिक्स इज अबाउट फिलिङ्स द पल्स अफ पिपुल’। मान्छेको चाहना के छ, भावना के छ भन्ने कुरालाई हामीले सम्बोधन गर्नैपर्छ। साझा र विवेकशीलबीच चलिरहेको संवादले सकारात्मक र मूर्तरुप लिन्छ भन्नेमा हामी विश्वस्त छौं।

साझा र विवेकशील मिलेपछि अलिक बलियो त होला, तर, राजनीति हदैसम्मको विकृत भइसकेको छैन र? मधेसमा त पैसा नहुने मानिस चुनावमा जाने आँटसमेत गर्न नसक्ने भइसकेको छ। यस्तोमा आधुनिक सोच र आदर्शले कसरी ठाउँ पाउला?
त्यो विकृति नै हाम्रो निम्ति अवसर हो। हाम्रो जन्म नै त्यो विकृतिले गराएको हो। विकृति नभइदिएको भए त म पनि आज तपाईंले जस्तै अरू कसैसँग अन्तवार्ता नै गरेर बसिरहेको हुन्थेँ।

अब हामीसँग दुईवटा मात्र विकल्प छन्। कि त त्यहाँबाट भागेर हिँड्नुपर्यो। त्वम् शरणम् भन्नुपर्यो। होइन भने त्यो विकृति हामीले चिर्नै पर्यो। साझा पार्टीले मात्र होइन, आफ्नो जीवनको भलो चाहने, आफ्नो परिवारको भलो चाहने र आफ्ना छोराछोरीको भलो चाहने हरेक नागरिकले यो चिन्ता लिनैपर्छ। नत्र परिवर्तन हुँदैन।

संसारमा योभन्दा धेरै प्रतिकूल अवस्था मान्छेले नै चिरेका हुन्। तुलना गर्ने हो भने त नेपालको प्रतिकूलता खासै ठूलो पनि होइन। हामी यसलाई चिरेरै छाड्छौं। र हेर्दै गर्नुस्, ७५ वर्षको उमेरसम्म बाँचे भने पनि परिवर्तन हाम्रै जीवनकालमा हेरेरै मर्छु।

मेनु हेरेर अन्तिममा ममः खानेहरुको स्वाद बदलेरै छाड्नुहुन्छ?

बदलेरै छाड्ने हो।

तपाईंका यी कुरा काठमाडौंका बहुसंख्यक मतदातालाई राम्रोसँग बुझाउन नसक्नुभएको बेला मुलुकको अत्यन्त कम चेतना भएका ठाउँहरूमा कसरी बुझाउन सक्नुहुन्छ? बरु तपाईंहरूलाई त युरोपको पैसाबाट खुलेको पार्टी पो भन्दैछन्।

यो सबै भ्रम चिर्ने सञ्चारमाध्यमले नै हो। र, जुन तीव्र गतिमा सञ्चारमाध्यमको पहुँच गाउँ–गाउँमा विस्तार हुँदै गइरहेको छ, त्यसले नै समयसँगै सबै प्रस्ट पार्दै लैजानेछ। पत्रिका नपुगेको ठाउँमा टेलिभिजन र टेलिभिजन पनि नपुगेको गाउँमा आजभोलि रेडियो पुगिसकेको छ।

दोस्रो चाहिँ फेरि पनि म भन्छु, संगठन नै हो। त्यो समाज र हाम्रो बीचमा संवादको सेतु भनेकै संगठन हुनेछ, जसमा पढेलेखेका सचेत मानिस रहनेछन्। जस्तोसुकै ठाउँमा पनि समाज र देशको हित चाहनेहरूको संख्या ठूलै हुन्छ। तपाईंले जतिसुकै भने पनि व्यक्तिगत लाभको निम्ति मात्रै राजनीति गर्छु भन्नेहरूको संख्या त्यति धेरै नहोला।

चलायमान मतदाताको संख्या सामान्यतया समाजमा ठूलो हुने गर्छ। त्यस्ताले परिस्थिति फेरिदिएको हामीले देखेकै हौं। पहिलो संविधानसभाको चुनावमा बन्दुक देखाएर मात्रै माओवादीले जितेको हो भनेर मान्न म तयार छैन। ‘एकपटक यिनीहरूलाई जिताए केही गर्छन् कि’ भनेरै जनताले भोट हालेका हुन्। त्यसैले उभार ल्याउन सक्ने हो भने यस्ता चुनौति आफैं ओझलमा पर्छन्।

स्थानीय चुनावमा समाचारका निम्ति घरदैलो पुग्दा धेरै मतदाताले नयाँ पार्टीको प्रसंगमा ‘एकपटक माओवादीलाई विश्वास गरेर चेतिसकेको’ भन्थे। अब फेरि तपाईंहरूलाई कसरी विश्वास गर्लान्?

यो साह्रै विडम्बनापूर्ण स्थिति सिर्जना भएको छ। यत्रो जीवन्त पत्रकारिता भएको देश र नागरिक समाजको यत्रो दबाब पर्दापर्दै पनि प्रमुख राजनीतिक दलहरूले जुन आचरण बारम्बार देखाइरहेका छन्, यसलाई हेर्दा यी प्रमुख राजनीतिक दलहरूबाट परिवर्तन होला भनेर आशै गर्न सकिँदैन। उनीहरूले पनि नसक्ने र हामीमाथि पनि विश्वास नगर्ने हो भने अब सक्ने कस्ले त?

म भर्खरै जापानबाट फर्केको छु। कस्तो असोचनीय स्तरको विकास छ त्यहाँ। त्यत्रो विश्वयुद्धले ध्वस्त पारेको जापानलाई केवल ४०–५० वर्षमा आज त्यस्तो समुन्नत अरू कसैले बनाइदिएको होइन, उनै जापानीहरूले बनाएका हुन्। त्यस्ता देश र उदाहरण जताततै छन्। हाम्रै छेउमा बिहार, तिब्बत र भुटान हेरौं न। सबैले गरिसके। हामी कहिलेसम्म यस्तो बिजोगमा बस्ने?

प्रसंग बदलौं, काठमाडौं र ललितपुरको मत त साझा पार्टी आफैंले आर्जन गरेकोभन्दा पनि ठूला राजनीतिक दलहरूप्रतिको तत्कालको निराशा र आक्रोशको प्रतिफल थियो भनिन्छ नि?

कारण विभिन्न छन्। ठूला पार्टीप्रतिको आक्रोश मात्रै भइदिएको भए त मतदातासँग साझाबाहेक अरू पनि धेरै विकल्प थिए। हामीले पाएको जानकारीमा चाहिँ परिपक्व विकल्प मानेरै हामीलाई भोट दिइएको छ। धेरै कुराको समीश्रण यसमा छ। हामीले जस्ता मानिसलाई उम्मेदवार बनायौं, त्यसले पनि आम मतदातामा प्रभाव पारेकै हो।

तपाईंहरूको संगठन बनेपछि परिणाम राम्रो आउला रे! तर, विभिन्न पदमा जित्ने अवस्था नआउन्जेल आर्थिक बन्दोबस्त कसरी गर्नुहुन्छ?

अहिले हामीलाई केही शुभेच्छुकहरूले पैसा दिनुभएको छ। हामीले खर्चमा धेरै ठूलो हातखुट्टा फैलाएका छैनौं। शुभेच्छुकबाट पाएको पैसाले नै पुगिरहेको छ। त्यसबाहेक पार्टी रजिस्टर हुनेबित्तिकै रसिद काट्न पाइनेछ। त्यसले आर्थिक भरथेग हुनेछ। त्यो सम्पूर्ण आयव्ययलाई सबैले पढ्न सक्ने गरी वेबसाइटमै राख्ने छौं।

अब दुई नम्बर प्रदेसको स्थानीय निर्वाचनमा भाग लिनुहुन्छ?

हामी उपयुक्त उम्मेदवार खोजी गरिरहेका छौं। केही साथीहरू सम्पर्कमा हुनुहुन्छ। सक्दो भाग लिने कोशिस गर्छौं। मुख्य कुरा अहिले संगठन नभएको बेला सुरुआती चरणमै मान्छे आएको भरमा राम्ररी नचिनेर नबुझेर उम्मेदवारी दियौं भने नामभन्दा बदनाम भइएला कि भन्ने डरले सावधान छौं। कुनै कुनै ठाउँमा अलिक बढी नै सावधान भइदियौं कि भन्ने रियलाइजेसन पनि भइरहेको छ। खैर अब बितेको कुरामा धेरै नजाऔं। त्यसैले अहिलेको हाम्रो सबैभन्दा ठूलो उद्देश्य त संगठन विस्तार नै हो।

यत्रो पत्रकारिताको यात्रालाई एकाएक छाडेर राजनीतिमा लाग्नुभयो। मनमा के कुरा खेलिरहेको छ?

एकदमै सही निर्णय गरेँ भन्ने लागिरहेको छ। मेरो त आग्रह राजनीतिमा रुचि भएका र राजनीतिमा गएर अझ बढी योगदान गर्न सक्छु भन्ने लागिरहेका पेसाकर्मीहरूलाई पनि स्थिति अनुकूल छ भने यता आउनुस् भन्ने छ। आउनुस्, गरौं, यो देश बनाऔं। हामीले नगरे अरूले आएर गरिदिँदैन। जहाँसम्म साझा पार्टीको कुरा छ, हामी गरेरै छाड्छौैं–देखाएरै छाड्छौं। हामीलाई विफल हुने सुविधा छैन। हामी पनि विफल भयौं भने फेरि ‘उनीहरू पनि विफल भए’ भन्ने अर्को नराम्रो उदाहरण बस्नेछ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.