निर्वाचन पछि मात्रै संविधान संशोधनको विषयमा छलफल गर्ने एमाले निर्णय


प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संविधान संशोधन गर्ने सरकारको तयारीप्रति आपत्ति जनाएको छ ।

सोमबार धुम्बाराहीस्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी स्थायी समिति बैठकले संविधान संशोधन गर्ने सरकारको तयारीप्रति आपत्ति जनाएको हो।

बैठकले स्थानीय तहको निर्वाचनपछि मात्रै संविधान संशोधन गर्ने आफूहरुसँग भएको सहमति विपरित सरकार तथा सत्तारुढ काँग्रेस-माओवादी अघि बढेको आरोप समेत लगाएको छ।

चुनावअघि नै संविधान संशोधन गर्ने सरकारको तयारी मान्य नहुने निर्णय लिइएको पार्टीका उपाध्यक्ष भीम रावलले जानकारी दिए। एमालेले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव राष्ट्रहितमा नरहेको दाबी गर्दै पारित हुन नदिने अडान लिँदै आएको छ।

बैठकमा स्थानीय तह दोस्रो चरणको निर्वाचनको समिक्षासहितको प्रतिवेदन १५ दिन भित्र पार्टीमा बुझाउन जिल्ला कमिटीहरुलाई निर्देशन दिने निर्णय पनि गरेको छ। सम्बन्धित जिल्ला कमिटिले बुझाएको प्रतिवेदनको आधारमा निर्वाचनमा अन्तर्घात भएको पाइए कारबी गर्ने निर्णय गरिएको हो।

एमाले अध्यक्ष केपी शर्मा ओलीले केही जिल्लामा पार्टी भित्रकै अन्तर्घातका कारण चुनावमा हार व्यहोर्नु परेको बताउँदै आएका छन्।

एमालेले सरकारले स्थानीय तह तेस्रो चरणको निर्वाचन अघि स्थानीय तहको संख्या बढाए मान्य नहुने अडान पनि दोहोर्‍याएको छ।

यसैबीच नेकपा (एमाले) स्थायी कमिटी बैठकले बिभिन्न छ बुदे निर्णय गरेको छ । बैठकले आगामी तेस्रो चरणको स्थानीय तहको निर्वाचनका तयारी गरेको छ । बैंठकले संबिधान संशोधनका कुरा तत्काल मान्य नहुने निर्णय गरेको छ । पार्टी सचिव प्रदीप ज्ञवालीले जारी गरेको बिज्ञप्तिमा बैठकले देहायका निर्णयहरु गरेको जनार्ईएको छः

१. असार १४ गते सम्पन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनद्वारा भएको राज्यशक्तिको चरम दुरुपयोग, हाम्रो पार्टीविरुद्धको चौतर्फी घेराबन्दी र अनेकौं प्रतिकुलताका बाबजुद नेकपा (एमाले) पहिलो शक्तिको रुपमा स्थापित हुन सकेकोमा पार्टी सन्तोष व्यक्त गर्दछ । पार्टीलाई यस स्थानमा पु¥याउने सम्पूर्ण मतदाताहरुमा आभार व्यक्त गर्दै निर्वाचित जनप्रतिनिधिहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछ र निर्वाचन सम्पन्न गर्न भूमिका निर्वाह गर्ने निर्वाचन आयोग, राष्ट्रसेवकहरु, सुरक्षा निकाय एवम्सञ्चारमाध्यमहरुलाई धन्यवाद ज्ञापन गर्दछ ।

२. निर्वाचनमा प्राप्त सफलता र कतिपय ठाउँहरुमा भएका अनपेक्षित परिणामको समग्र समीक्षा गर्दै १५ दिनभित्र प्रतिवेदन पार्टी केन्द्रमा पठाउन निर्वाचन सम्पन्न भएका प्रदेशहरुका सम्बन्धित जिल्ला कमिटीहरुलाई निर्देशन गरिन्छ ।

३. आगामी असोज २ गतेका लागि तय गरिएको प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन निष्पक्ष, शान्तिपूर्ण, भयरहित र स्वच्छ वातावरणमा सम्पन्न गर्न सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउँदै निर्वाचनको तयारीमा व्यवस्थित ढंगले लाग्न सम्बन्धित प्रदेश संगठन कमिटी र मातहत कमिटीहरुलाई निर्देशित गरिएको छ ।

४. सम्बन्धित जिल्ला कमिटीको सुझावका आधारमा जिल्ला समन्वय समितिका प्रमुख÷उपप्रमुखहरुको नाम १५ दिनभित्र पार्टी केन्द्रमा सिफारिस गरी पठाउन प्रदेश संगठन कमिटीलाई निर्देशित गरिन्छ । जिल्ला समन्वय समितिका सदस्यहरुको हकमा सम्बन्धित जिल्ला कमिटीले नै निर्णय गर्नेछन्।

५. प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रयोजनका लागि यही साउन १ गतेदेखि मतदाता नामावली संकलन गर्ने सूचना निर्वाचन आयोगबाट जारी भएको सन्दर्भमा सोही अनुसार योजनाबद्ध रुपमा लाग्न मातहत कमिटीहरुलाई निर्देशित गरिन्छ ।

६. स्थानीय तह निर्वाचन सम्पन्न भएपछि मात्रै संविधान संशोधनको विषयमा छलफल गर्ने सहमतिविपरित सत्ता गठबन्धनद्वारा पुनः संविधान संशोधनको चर्चा चलाएको विषयप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको छ । प्रस्तावित संविधान संशोधन प्रस्ताव राष्ट्रिय हीतविपरित र अनुचित रहेको पार्टीको अडानलाई पुनः दोहो¥याउँदै बैठक उक्त प्रस्ताव पारित हुन नसक्ने स्पष्ट पार्न चाहन्छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.