विराटनगरको मेयरमा १९ हजार र उपमेयरमा ३३ हजारभन्दा बढी मत बदर


विराटनगर महानगरपालिकाको मेयरमा भन्दा उपमेयरमा बढी मत बदर भएको छ।

क्षेत्रिय निर्वाचन कार्यालय विराटनगरले दिएको तथ्याङअनुसार कूल खसेको मतमध्ये मेयरमा २४.१० प्रतिशत र उप–मेयरमा ४१.७७ प्रतिशत मत बदर भएको हो।

विराटनगर महा–नगरपालिका भित्र १ लाख १३ हजार ७ सय ६१ मतदाता रहेको नगरमा ७०.९६ मत खसेको थियो। जसमा ८० हजार ७ सय २४ मत खसेको निर्वाचन कार्यलयले जनाएको छ। मेयरमा ६१ हजार २ सय ७० मत सदर भयो भने उपमेयरमा ४७ हजार ९ मत सदर भएको कार्यालयले जनाएको छ।

जसमा मेयरमा १९ हजार ४ सय ५४ मत बदर भयो भने उपमेयरमा ३३ हजार ७ सय १५ मत बदर भएको क्षेत्रिय निर्वाचन कार्यालय विराटनगरका निर्वाचन अधिकृत प्रेमप्रसाद सञ्जेलले जानकारी दिए।

दुई ठूला राजनैतिक दलले गरेको तालमेल अनुसार मतदाता मत हाल्न अलमलिदा बढी मत बदर भएको क्षेत्रिय निर्वाचन अधिकृत सञ्जेलले बताए। उनले भने, ‘अझ बढी त उपमेयरमा क्रस भोटिङ्ग गर्दा बढी मत बदर भएको देखिएको छ।’

विराटनगरमा एमाले र फोरम लोकतान्त्रिकबीच तालमेल भएको थियो भने माओवादी केन्द्र र संघीय समाजबादी फोरमबीच तालमेल भएको थियो ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.