विराटनगर पुगेर केपी ओलीले भने– संविधान संसोधन हुँदैन

विराटनगर पुगेर केपी ओलीले भने– संविधान संसोधन हुँदैन


नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन नेपाली कांग्रेस र माओवादी केन्द्र देशहित विरुद्ध लागेको आरोप लगाउँदै संविधान संसोधन प्रस्ताव पास नहुने दावी गरेका छन्।

शनिवार विराटनगर आइपुगेका ओलीले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भने, ‘कांग्रेस र माओवादीका साथीहरुलाई उत्ताउलो नहुन आग्रह गर्दछु।’ उनले देशहित विरुद्ध काम नगर्न आग्रह गरे। ‘क्षणिक स्वार्थमा नलाग्न र उत्ताउलोपना छाडेर देश हितमा काम गर्न आग्रह गर्दछु’उनले भने।

उनले संसदमा प्रस्तुत संविधान संसोधन प्रस्ताव फिर्ता लिन र एमालेसँग छलफल गरेर नयाँ प्रस्ताव दर्ता गर्न आब्हान गरे। उनले एमालेसँग छलफल गरेर नयाँ प्रस्ताव दर्ता गरेको खण्डमा संसोधन प्रस्ताव पास गर्न आफूहरुले पनि सहयोग गर्ने बताए।

‘सरकारले अहिले ल्याएको संशोधन प्रस्ताव पास हुँदैन। अर्को संशोधन पनि हुँदैन’, उनले भने।

उनले यो महिनाको अन्त्यसम्म कुनै काम अघि नबढ्ने दावी गरे। उनले चुनावपछि मात्र संविधान ससोधन गर्नु पर्ने औल्याए। उनले निर्वाचनमा पराजित हुने डरले सत्ता गठबन्धनका दलहरुले राजपालाई देखाएर २ नम्बर प्रदेशको चुनाव सारेको दावी गरे।

‘निर्वाचन आयोगले प्रतिपक्ष पनि हुन्छ भन्ने कुरा बिर्सिएर निर्णय गर्न खोजेको छ,’ उनले भने। प्रदेश नम्बर २ मा ५० प्रतिशत बढि सिट एमालेले जित्ने उनको दावी छ।

उनले संसदको म्याद थप्ने कुरा हास्यास्पद भएको र विश्वले नमान्ने बताए। उनले धनकुटा जिल्लाबाहेक अन्य जिल्लामा पार्टीले चित्तबुझ्दो नतिजा ल्याउन नसकेको गुनासो गरे।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.