पूर्व कमैया बने वडा अध्यक्ष


धनगढी उपमहानगरपालिका वडा नम्बर ६ को अध्यक्षमा भागीराम चौधरीेले जितेका छन्। उनी माओवादी केन्द्रका तर्फबाट उम्मेदवार थिए । सो वडामा उहाँ सहित माओवादीका पूरै प्यानलले जितेको हो। उहाँले कुल ८८६ मत पाएका छन्।
चौधरी संघर्षपूर्ण विगत भएका व्यक्ति हुन्। उनी पूर्वकमैया हुन्। उनले सात वर्ष मालिकका घरमा काम गर्दै र पढ्दै जीविका काटेका हुन्। एसएलसी आउञ्जेलसम्म मालिककै घरमा काम गर्थे। उनीमात्र होइन, सम्पूर्ण परिवार मालिकको घरमा काम गरेर जीविका धान्थ्यो।
एसएलसी दिएपश्चात उनको काँधमा जिम्मेवारी झनै थपियो। पारिवारीक जिम्मेवारी पनि त्यहि गतिमा बढ्यो । आर्थिक स्थितिले नभ्याउने भएपछि एसएलसीभन्दा अगाडि पढ्न पाएनन्।
काम खोज्न धेरै ठाउँ धाए तर पाएनन्। एसएलसीसम्मको प्रमाणपत्र कतै बिकेन। त्यसपछि, शैक्षिक प्रमाणपत्र नै नचाहिने काममा अल्झिए। होटलमा भाँडा माझ्ने देखि रिक्सासम्म चलाउनेसम्मका काम गरे। उनले तीन वर्ष रिक्सा चलाएका थिए। आफ्ना कष्टपूर्ण दिनहरु उनलाई अहिले पनि झलझली याद आइरहन्छ।
यसैबीच उनले बिहे पनि गरिसकेका थिए।
दिनहरु फेरिँदै गए। दिनसँगै उहाँका पेशा पनि फेरिदैं गए। रिक्सा चलाएर जीवन चलाउन नपुग्ने भएपछि उनले विकल्प रोजे। सुरुमा फर्निचर बनाउने काम गरे। बिस्तारै अनुभव हासिल हुँदै गयो। घर निर्माण गर्ने काम सिक्न थाले। जे काम गरे पनि बडो मेहनतकासाथ गरिरहे। होटलका भाँडा माझ्ने कामबाट घर निर्माण गर्ने कुशल डकर्मी बने। निरन्तरको मेहनतले सीपमा पनि विकास हुनथाल्यो। उहाँको समूहले निर्माण गरेका भवन तथा घर निकै बलिया तथा भूकम्प प्रतिरोधात्मक भएको भन्दै धनगढी उप–महानगरपालिकाले उहाँको टोलीलाई पुरस्कृत नै ग¥यो।
अब उनी घरमात्रै निर्माण गर्ने छैनन्। घरमात्रै चिटिक्कको बनाउने छैनन्। पूरै समाजकै नवनिर्माण गर्ने अभियानमा छन्। समाजलाई चिटिक्क बनाएर देखाउने संकल्पमा छन्। एउटा बलियो घर निर्माण गर्न जति मेहनत खर्च गरिन्छ, त्यति नै मेहनतका साथ आफू विजयी वडालाई नमूना बनाउने योजनामा छन्।
घर निर्माण गर्ने बेला एउटा सानो समूहमा रमाइरहेका चौधरी अब वडाकै निर्माण गर्ने, विकास गर्ने अलि ठूलो समूहमा रमाउने बताउँछन्। आफूसँग जोश, जाँगर र आत्मविश्वास भएको बताउछन् उनी। त्यसो त वडाका असल मान्छे भनेर चिनिन्छन् उनी। राम्रा मान्छेसँग परिचय पनि छ। काम गर्न सहज हुने अपेक्षा राखेका छन्। आफ्नै पार्टिक मात्र सदस्य विजयी भएकाले काम गर्न केही सहज हुने उहाँको भनाइ छ। तर, अन्य पार्टी र पेशाका मान्छेहरुको पनि साथ लिएर अघि बढ्ने उनले बताए।
चौधरी कम बोल्ने व्यक्तिमा पर्छन्। बोल्नेभन्दा पनि काम गर्न अग्रसर हुने गरेको उनका छिमेकीहरु बताउँछन्। उनले तामझामकासाथ चुनाव प्रचारप्रसार पनि गरेका थिएनन्। तर, पनि उनको समूह नै विजयी भयो। उनी भन्छन्, “यो जीत हाम्रो समूहको मात्रै नभइ सिंगो ६ नम्बर वडाबासीको हो।” हामीमा काम गर्ने क्षमता देखेर जनताले पत्याए, अब त्यो विश्वासको पूरा सदूपयोग गर्ने उनी बताउँछन्।
वडाको विकासलाई नै प्राथमिकतामा राखेको उनी बताउँछन्। भन्छन्, “धनगढी उप–महानगरपालिका भित्र परे पनि वडा नम्बर ६ सेवासुविधाले पछाडी नै छ । यो वडामा विकास पूर्वाधारले अझै छुन सकेको छैन । अझै पनि धेरै ठाउँमा ग्राभेल, शुद्ध खानेपानी, ढलनिकास, ऐलानी जग्गा, खोलानाला अतिक्रमण इत्याति समस्याको चाङ नै छ। यी र यस्ता समस्या समाधान गर्न पाँच वर्षको अवधिमा अहोरात्र खटिने छु।”
आफू पनि यूवा नै भएकाले दिनहूँजसो विदेशिन बाध्य यूवा जमातलाई आफ्नै क्षेत्रमा रोजगार दिन सीममूलक कार्यक्रमलाई प्राथमिकता दिने योजना उनले सुनाए। भन्छन्, “यूवा भनेका देशका मेरुदण्ड हुन्, उनीहरुलाई सीपमूलक तालिम दिए मात्र देश बन्नेछ त्यसैले मैले यूवालाई आर्यआर्जन गर्ने किसिमका कार्यक्रमसँग जोनेछु।”
“अहिले कुराभन्दा पनि काम गर्ने व्यक्तिको खाँचो परेकाले त्यसको विश्वास जनतालाई ५ वर्ष भित्र दिलाउने छु।”, उनले प्रण गरे।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.