उपमहानगरपालिकामा एमालेको विजयी सुरूवात, घोराहीमा चौधरी विजयी


दाङको घोराही उपमहानगरपालिकामा मेयर जित्दै एमालेले उपमहानगरपालिकामा विजयी सुरूवात गरेको छ। मेयर उम्मेदवार नरूलाल चौधरीले नेपाली कांग्रेसका भुपबहादुर डाँगीलाई हराउदै उपमहानगरमा पनि विजयी खाता खोलेको हो।

मेयरमा एमालेका नरुलाल चौधरीले निकटतम प्रतिद्धन्दी काँग्रेसका भूपबहादुर डाँगीलाई ४ हजार ५ सय ४६ मतले पराजित गरेका छन्।चौधरीलाई २२ हजार ३० मत प्राप्त भएको छ भने काँग्रेसका डाँगीले १७ हजार ४ सय ८४ मत प्राप्त गरेका छन्।

त्यसैगरी उपमेयरमा पनि एमालेकै सीता न्यौपाने निर्वाचित भएकी छन् । उनले निकटतम प्रतिद्धन्दी काँग्रेसकी पुष्पा श्रेष्ठ भन्दा ३ हजार १ सय ८९ मत बढी प्राप्त गरेर विजयी भएकी हुन्। घोराहीमा नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवार जीवन गौतमलाई १२ हजार ८२ र उपमेयर सीता चौधरीलाई १२ हजार ८ सय २४ मत आएको छ।

७८४१९ मतदाता रहेको घोराही उपमहानगरमा ५८ हजार ५ सय ३९ मत खसेको थियो। १ हजार भन्दा बढी मत बदर भएको निर्वाचन अधिकृत खड्काले जानकारी दिए। दाङकै अर्को उपमहानगर तुलसीपुरमा पनि नेकपा एमालेकै उम्मेद्वारले अग्रता लिएका छन्।

घोरहीको मेयरमा निर्वाचित चौधरी पूर्व पत्रकार हुन। २०५२ सालमा रेडियो नेपालको जागिर सुरु गरेका चौधरीले २०५४ सालमा रेडियो नेपाल छोडेका थिए। उनले रेडियो नेपालमा थारु भाषाको समाचार पढ्थे। २०५४ सालमा चौधरी एमाले दाङको कमिटी सदस्यमा निर्वाचित भएपछि रेडियो नेपालको जागिर छोडेर राजनीतिमा होमिएका थिए। २०२४ सालमा साविक रामपुर गाविसमा जन्मिएका चौधरीले कमर्सवाट स्नातक गरेका छन्। उनी शिक्षक समेत भएका थिए। स्कूले जीवनदेखि नै अनेरास्ववियुबाट राजनीति सुरु गरेका चौधरीले २०५४ सालमा तत्कालिन रामपुर गाविसको पार्टी अध्यक्ष समेत भएर जिम्मेवारी निर्वाह गरेका व्यक्ति हुन।  चौधरी ०६९ सालमा एमाले दाङको जिल्ला अध्यक्ष भएर सफल नेतृत्व प्रदान गरेका लोकप्रिय नेता हुन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.