के टीकापुर एमालेले जित्छ?


अन्तिम एउटा वडाको मतगणना जारी रहँदासम्म पनि कैलालीको टीकापुर नगरपालिकामा कसले जित हात पर्ला भन्ने अनुमान गर्न कठिन भएको छ। अहिलेसम्मको मतपरिणाममा माओवादी केन्द्रका उम्मेदवार ललित थापा अगाडि छन् तर टीकापुरको मेयर आफैंले जित्छु भन्नेमै माओवादी केन्द्र त्यति धेरै आत्मविश्वासी देखिन्न। बरु अहिले तेस्रो स्थानमा रहेको नेकपा एमाले टीकापुर जित्नेमा ढुक्क छ।

असार १४ गते रातिदेखि नै  मतगणना सुरु भएको  नगरपालिकामा नेपाल लोकतान्त्रिक फोरमले सुरुवाती अग्रता लिएको थियो। २ नम्बर वडाबाट  सुरु भएको मत गणना ६ नम्बर वडासम्म पुग्दा फोरमका उम्मेदवार लौटन चौधरी फराकिलो मतले अगाडि  थिए।

तर, सोमबार बिहान ७, ८ र ९ वडाको मत परिणाम आउँदा चौधरीलाई  माओवादीका ललित थापाले झिनो मतले पछाडि पारे। २–९ वडाको मत गणना हुँदा थापाले ५ हजार १ सय ३२ मत पाए भने चौधरीले ४ हजार ९ सय ९६ मत ल्याए।

तेस्रो स्थानमा रहेका एमालेका तपेन्द्र रावल ४ हजार ६ सय ७७ मत ल्याएर चौधरीलाई टक्कर दिन आइपुगे। कांग्रेसका जंगबहादुर साउँद पनि ४ हजार ६ सय १ मत ल्याएर यो प्रतिस्पर्धामा आफूलाई उभ्याए।

चारै दलका  उम्मेदवारको झिनो मतान्तरले टीकापुरको मेयर कसको पोल्टामा पर्ला भन्ने कौतुहलता बढेको छ।

टीकापुर कैलालीको क्षेत्रनम्बर १  पर्छ। यो क्षेत्रबाट २०७० सालको संविधान सभा निर्वाचनमा फोरमका जनकाराज चौधरी विजयी भएका थिए। त्यतिबेला कांग्रेस दोस्रो भएको थियो भने एमाले तेस्रोस्थानमा थियो।

थारु बहुल गाउँ, पहाडी र थारु मिश्रित बजार रहेको टीकापुरमा यसपालि पनि फोरमले सुरुवाती अग्रता कायम  गरेको थियो।

‘सुरुमा त हाम्रो राम्रो मत आएको हो, तर ७, ८ र ९ वडामा हामीले राम्रो गर्न सकेनौं, ’ सांसद चौधरीले सेतोपाटीसँग भने, ‘अहिले पनि हामी झिनो मतले पछि परेका छौं, तैपनि आशा मारेका छैनौं। किनकी हाम्रा मेयर उम्मेदवारको घर  भएको बन्गाउँको मत गन्न बाँकी नै छ।’

टीकापुरका निर्वाचन अधिकृत मनप्रसाद रेग्मीका अनुसार वडा नम्बर १ को मतगणना जारी छ। टीकापुरको सबैभन्दा बढी मतदाता भएको सो वडामा ८ हजार ८ सय ७ मत खसेको थियो।

‘यो मत जति एमाले, माओवादी र कांग्रेसलाई बाँडिन्छ, त्यति हामीलाई फाइदा हुन्छ कि भन्ने आशामा छौं’, चौधरीले भने।

एमाले टीकापुरको मेयर आफूले जित्नेमा ढुक्क छ। स्थानीय एमाले नेता भैरव रावल बजार क्षेत्रमा माओवादी र फोरमलाई भोट नआउने, कांग्रेसले एमालेभन्दा कम भोट ल्याउने भएकाले आफूहरुले मेयर जित्ने दाबी गर्छन्।

‘हामीले ३/४ सयले मेयर जित्छौं,’ रावलले भने, ‘उपमेयरमा भने हामीले आशा मारिसकेका छौं।’

तेस्रो स्थानमा रहेको एमाले मेयर जित्नेमा जति विश्वस्त देखिन्छ अग्रस्थानमा रहेको माओवादी त्यति विश्वस्त छैन। माओवादी जिल्ला संयोजक लालबहादुर सोडारी अब टीकापुरमा फोरम बाहेक तीन दलबीच कडा प्रतिष्पर्धा हुने बताउँछन्।

‘हामीले नै जित्छौं भन्न पनि गाह्रो छ, तीन दलबीच कडा प्रतिष्पर्धा हुने देखिन्छ। तीमध्ये जुन दलले पनि जित्न सक्छ’, उनले भने।

कांग्रेसका  नेताहरु भने टीकापुर पहिला आफूहरुको क्षेत्र भएपनि यसपालि भोट ‘क्रस’ भएकाले पछि परेको बताउँछन्।

जारी मतगणनामा चौथौ स्थानमा रहेको कांग्रेसका नगर सभापति भूवनेश्वर अधिकारीले भने– ६ भोट हामीलाई हालेकाले पनि मेयरमा अरुलाई दिए। तर हामीले आशा मारेका छैनौं। बजार क्षेत्रमा आएको भोटले हामी जित्न पनि सक्छौं।

८ वडाको मत परिणाम आउँदा कांग्रेसले एउटा वडामा पनि जित हात पारेको छैन।

तर कांग्रेसकी उपमेयर उम्मेदवार केशरी बिष्ट रावल भने अग्रस्थानमा छन्। उनको जित लगभग सुनिश्चित भएको अरु दलका नेताले पनि स्वीकारे छन्। ‘उपमेयरमा त हामी धेरै पछि छौं, त्यो कांग्रेसले नै लिन्छ जस्तो छ’,एमाले नेता रावलले भने।

निर्वाचन अधिकृत रेग्मीका अनुसार अब वडा नम्बर १ को करिब २५ सय मत गन्न बाँकी छ। आज मध्यरातसम्म टीकापुरको अन्तिम मत परिणाम सार्वजनिक हुनेछ।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.