शहरी विज्ञका आँखा महानगरको नेतृत्वमा !


किशोर थापाले सरकारी सेवाबाट अवकाश लिएको दुई वर्ष भयो। ज्यानमा जोश र मनमा काम गर्ने रन्को नसकिँदै उमेर हदका कारण उनले अवकाश लिनुपरेको थियो।

अवकाशपछि काठमाडौँ विश्वविद्यालयमा पढाउन थालेका उनलाई केही महिनाअघि एउटा अपरिचित नम्बरबाट फोन आयो। उनले त्यो उठाउन भ्याएनछन्। आफ्नो मोबाइलमा मिस्कल देखे पनि नचिनेको नम्बर भएकाले उनले ‘रिप्लाइ’ गरेनन्।

पछि पो थाहा भयो, त्यो त भर्खरै साझा पार्टी खोलेका रविन्द्र मिश्रको नम्बर रहेछ।

दुवैबीच कुराकानी भयो। मन मिल्यो। राय मिल्यो।

किशोर साझा पार्टीमा आए।

लगत्तै स्थानीय तहको निर्वाचन घोषणा भयो। सुरुमा उम्मेदवारी दिने कुनै सोच नबनाएको साझा पार्टीले छलफल गर्दै जाँदा किशोर थापामै काठमाडौं महानगरपालिकाको मेयर हुन योग्य व्यक्तित्व देख्यो।

‘पहिलैदेखि नसोचे पनि आफ्नो काँधमा आएको जिम्मेवारीबाट म पछि हट्ने मान्छे होइन,’ चुनावी प्रचार क्रममा घरदैलोमा व्यस्त थापाले सेतोपाटीसँग भने, ‘मैले यत्रो वर्ष सरकारी सेवामा रहेर काम गरेँ। राजनीतिलाई नजिकबाट नियाले पनि त्यसमा लागिनँ। अहिले आएर फेरि जनताको सेवामा फर्किएको छु।’

थापाले आफ्नो ३२ वर्ष लामो निजामती सेवाका क्रममा इमानदार र क्षमतावान् पूर्वसचिवको परिचय बनाएका छन्। उनको उम्मेदवारीको बलियो पक्ष भनेकै यही दुइटा हो।

सचिवबाट अवकाश पाएका उनी आजसम्म सार्वजनिक यातायातमै ओहोरदोहोर गर्छन्। उनको सामान्य जीवनशैली सचिव हुँदादेखिकै हो। योग्यताको कुरा गर्दा एसएलसी बोर्ड फस्ट उनी सिभिल इञ्जिनियर हुन्। सहरी विकासमा उनको विशेषज्ञता छ। उनले विगतमा पिएल सिंह र केशव स्थापित काठमाडौं महानगरपालिकाको मेयर हुँदा सहरी पूर्वाधार विकासमा काम गरेका थिए। माओवादी क्यान्टोनमेन्ट निर्माणदेखि मेलम्ची खानेपानी आयोजना र बाह्य चक्रपथ निर्माणमा पनि उनी संलग्न थिए।

सरकारी सेवामा रहँदा आफूले गरेका कयौं काममध्ये गर्वसाथ सुनाउन मन लाग्ने एउटा काम उनले २०४८ सालमा गरेका रहेछन्।

उनी टीकापुर सहरी विकास आयोजना प्रमुख बनेर गएका थिए। त्यो आयोजना एकदम लथालिङ्ग थियो। उनले त्यसलाई सम्हाले। तर, यो त उनको अफिसकै काम भयो। त्यही बेला टीकापुर विकास समितिले चलाउने कृषि फार्ममा १ सय १० परिवार कमैयाले काम गर्थे। समितिले त्यो फार्मबाट आएको पैसाबाट स्कुल, एयरपोर्ट लगायत सञ्चालन गरेको थियो।

किशोरको मन ती कमैयाको हालत देखेर पग्ल्यो। आत्मसम्मान गुमाएर बाँचिरहेका उनीहरुका निम्ति के गर्ने होला भन्ने चिन्ताले निकै दिन उनको निद्रा उड्यो।

जब उनले उपाय सोचे, होस उड्ने पालो ती कमैया परिवारको थियो।

उनले ती सबैलाई सरकारी जग्गामा उब्जनी गरेर कमाइखान दिने व्यवस्था मिलाए। वर्षौंदेखि मालिकको घरखेतमा काम गरेर हातमुख जोर्ने बानी परेका कमैयाहरुले सुरुमा त उनको योजना सुन्दा पनि पाप लाग्छ कि जस्तो गरे। मालिकबिनाको जिन्दगी उनीहरु कल्पनै गर्न सक्दैनथे। उनीहरुको श्रम मात्र हैन, जिन्दगी नै मालिकको नाममा थियो। यस्तो समाजमा गएर किशोरले भनेका थिए, ‘तिमीहरु आफैं आफ्ना लागि काम गर।’

यस्तो सुनेर कमैयाहरुको होस नउड्ने कुरै भएन।

निकै सम्झाइबुझाइ गरेपछि बल्ल उनीहरु त्यो सरकारी जग्गा भाडामा लिएर आफ्नै लागि खेती गर्न राजी भए।

त्यो घटनाको धेरै वर्षपछि थापा उनीहरुको हालचाल बुझ्न आफैं टीकापुर गएका थिए। कमैयाहरुको जीवनमा आएको परिवर्तन देखेर सन्तुष्टिको लामो सास फेर्न पाएको उनी बताउँछन्।

‘उनीहरु त कोही ड्राइभर भएका थिए, कोही व्यापारी, कोही किसान,’ थापाले सम्झिए, ‘उनीहरु स्वतन्त्र भएर जीविका चलाइरहेको देखेर म खुसी हुँदै फर्केँ।’

सरकारले २०५८ मा कमैया मुक्ति घोषणा गर्नुभन्दा १० वर्षअघि आफ्नो प्रयासमा भएको कमैया मुक्तिको काम सम्झेर किशोर आज पनि आफैंसँग खुसी हुन्छन्।

‘यति लामो जिन्दगीमा गर्व गर्न लायक एउटा मात्र काम सम्झिनुपरे म त्यही सम्झिन्छु, जसले आज पनि मलाई सन्तुष्टिको सास फेर्न सघाउँछ,’ उनले भने, ‘सरकारी सेवामा रहेर जनतासँग प्रत्यक्ष काम गरेको त्यही र त्यस्तै अरु अनुभवले मलाई आज यो ठाउँमा उभिन सघाए।’

उनी आज मुलुकको राजधानी रहेको काठमाडौं महानगरपालिकाको मेयर पदका लागि चुनाव लडिरहेका छन्। आजसम्म अर्कैले बनाएका नीति-निर्माण कार्यान्वयन गरेको अनुभव भएका उनले राजधानी क्षेत्रकै नेतृत्व गर्ने तयारी कसरी गरिरहेका छन् भन्नेमा धेरैको चासो छ।

‘म आफ्नो अनुभवकै आधारमा अघि बढ्छु। आजसम्म मैले आफ्नो क्षेत्रको ज्ञानसीपका आधारमा काम गरेँ। तर, राजनीतिक दलहरुले कसरी काम गर्छन् भन्ने नजिकबाट देख्न पाएँ। राजनीतिक पार्टीहरुले हामी कर्मचारीसँग बोल्ने कुरा र जनता र मतदातालाई भन्ने कुरा निकै भिन्न हुन्थे। मलाई त्यो राजनीतिक संस्कार कहिल्यै मन परेन। हामीकहाँ जनतालाई ढाँट्ने परम्परा बस्यो, अब मैले त्यही संस्कार तोड्ने हो,’ उनले भने।

यसका लागि काठमाडौँबासीको समर्थन पाउनेमा आफू ढुक्क रहेको उनी बताउँछन्।

हुन पनि महानगरका धेरै ठाउँबाट उनको कुरा सुन्नकै लागि निम्तो गर्नेको संख्या बढ्दो छ। भोट माग्न आफ्नो टोलमा आइदिनुपर्यो भन्दै आग्रह गर्नेहरु दिनका दिन बढिरहेको उनी बताउँछन्। त्यही आधारमा थापा र उनको टोली महानगरका टोलटोलमा मतदातासँग अन्तर्क्रिया गरिरहेका छन्। घरदैलो गरिरहेका छन्।

बुधबार साँझ पनि उनी दिनभरिको घरदैलो र अन्तर्क्रिया सकेर ललितपुरको बखुण्डोलस्थित कार्यालय आइपुगेका थिए। लगत्तै उनी र उनको टिम बिहीबार बिहान ९ बजे लैनचौर र ११ बजे कलंकीमा हुने कार्यक्रमको तयारीमा जुटेको थियो। लैनचौरमा राष्ट्रकवि माधव घिमिरेको घरमै कार्यक्रम रहेछ। त्यहाँ साझा पार्टीका तर्फबाट मेयर उम्मेदवार थापा र उपमेयर निरुपमा यादव दुवै सरिक थिए। दुवैले राष्ट्रकविसँग आशिष मागे।

‘मकहाँ अहिलेसम्म यसरी आशिष माग्न कुनै उम्मेदवार आएका छैनन्, तपाईं आउनुभो, खुसी लाग्यो,’ राष्ट्रकविले भने, ‘आशिष मात्र हैन, भोट पनि तपाईंलाई भयो।’

साझा पार्टीले फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालबाट पनि चुनावी अभियान तीव्र पारेका छन्। सामाजिक सञ्जालहरुमा थापाको विज्ञता, योग्यता, महानगरमा के काम गर्ने भन्ने प्रस्ट खाका र उनको व्यक्तित्वको चर्चा बढ्दो छ।

‘युवाहरुले सामाजिक सञ्जालमा देखाइरहेको समर्थनले पनि हामी उत्साहित छौं,’ थापाले भने, ‘हामीले यति छोटो समयमा जुन जनसमर्थन पाएका छौं, त्यसले हामीलाई अत्यन्तै उत्साही बनाएको छ। हाम्रो न संगठन छ न त पार्टी नै राम्रोसँग स्थापना भएको छ, तैपनि हामीलाई जनताले समर्थन गरेका छन्। उनीहरु पुराना दलको कार्यशैली देखेर वाक्क भइसकेका छन्। हामी यो समर्थन र विश्वास खेर जान दिँदैनौं।’

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.