‘मलाई रञ्जु छोरीजस्तै लाग्यो’

‘मलाई रञ्जु छोरीजस्तै लाग्यो’


भुइँचालोका एकपछि अर्को धक्का आउने क्रम जारी थियो। जो घरबाहिर थिए, ती बाहिरै सुरक्षित रहन खोज्दै थिए। जो घरमा थिए, ती पनि बाहिर खुला ठाउँमा निस्कने यत्नमा थिए।

रञ्जु दर्शनाले तेस्रो बाटो रोजिन्।

आमा, हजुरआमा र परिवारका सबैको अनुनयलाई जितेर उनी टिचिङ अस्पतालतिर लम्किइन्।

अस्पतालमा घाइते र शवहरूको खात लागिसकेको थियो। उत्तिकै संख्यामा घाइते र शवहरू आउने क्रम तीव्र थियो। कहाँबाट सुरु गरुँ भन्ने अलमल चिर्दै रञ्जुसहित स्वयंसेवी युवाहरूको समूहले घाइतेको उपचार र शव व्यवस्थापनको चाँजो मिलायो। त्यसपछिका दिनमा पनि रञ्जु लगायतको युवा समूह भुइँचालोमा लडेका घरको सम्भार, घाइतेको उपचार र राहत सामग्री वितरणमा अनवरत लागिरह्यो।

आज पनि २०७२ वैशाख १२ को त्यो मध्याह्न र त्यसपछिका दिन रञ्जुको स्मरणमा ताजै छन्। उनलाई थाहा छ– भुइँचालो पीडितको आँशु सुकिसकेको छैन, उनीहरूको आहत कम भइसकेको छैन। त्यसैले त रञ्जु भन्छिन्, ‘भुइँचालोले लडेको काठमाडौंलाई उठाउनुछ। यहाँका सम्पदाहरूलाई उठाउनुछ। चिरा परेका घरमा काठ र फलामको टेका लगाएर बसिरहेको दुई वर्ष बित्यो, काठमाडौंबासीहरूका लागि राज्यले खै टेका दिएको?’

‘मेरो उम्मेदवारी त्यही टेकोका निम्ति हो। भुइँचालोले कामेको काठमाडौंलाई टेको दिन, धुलोधुवाँले ढाकेको काठमाडौंलाई स्वच्छ वातावरणको टेको दिन, अस्तव्यस्त राजधानीलाई व्यवस्थित सार्वजनिक सवारी, हरियाली र खानेपानीको टेको दिन, जनतालाई सार्वजनिक स्वास्थ्य र सार्वजनिक शिक्षाको टेको दिन म खडा भएकी हुँ,’ उनले मंगलबार सेतोपाटीसँग भनिन्।

केही दिनदेखि राजधानीका विभिन्न ठाउँ घुमेर मतदातासँग अन्तर्क्रिया गरिरहेकी रञ्जु जहाँ पुगे पनि यस्तै कुरा उठाउँछिन्। र, भन्छिन्, ‘यो सहरलाई परिपक्व होइन, ऊर्जावान् नेतृत्वको खाँचो छ, जसका आँखामा आठै प्रहर हजारथरीका रंगीचंगी सपना नाचिरहेका हुन्छन्। जसका पाइला ती सपनालाई छोप्न आठै प्रहर लम्किरहन्छन्। काम गर्न अनुभव चाहिँदैन, सपना देख्ने आँखा र त्यसलाई पूरा गर्ने ऊर्जा भए पुग्छ। मसँग यी दुवै थोक छन्।’

सिनामंगलको रोयल ब्यांकवेटमा सोमबार साँझ आयोजित कार्यक्रममा उनले आफूलाई ‘अपरिपक्व’ र ‘अनुभवहीन’ भन्नेहरूलाई उदाहरणसहित जवाफ दिएकी थिइन्।

स्थानीयले ब्यांकवेटबाट बाटोमा निस्केर केही कुरा फेरि बोल्न रन्जुलाई आग्रह गरेपछि उनी निस्किइन् र माइक समाइन्।

ब्यांकेवेट छेउको गल्लिमा पानी जमेको थियो।

त्यसैतिर इसारा गर्दै उनले भनिन्, ‘हेर्नुस त, यो पानी जमेको सानो पोखरी। पोखरी हैन खाल्डो भन्छु। साना नानीहरू त्यो खाल्डोमा परेर लड्न सक्छन्। यो त अझ अस्पताल (नोबेल) जाने बाटो रहेछ। यस्तो संवेदनशील बाटोमा के यस्तो खाल्डाखुल्डी परेको, पानी जमेर पोखरी बनेको सुहाउँछ? सुहाउँदैन। यत्ति सानो कुरा बुझ्न अनुभव होइन, विवेक चाहिन्छ। मसँग त्यो विवेक छ।’

रञ्जुको यो भनाइमा स्थानीयले ताली बजाएर समर्थन जनाए।

पछिल्लो समय काठमाडौं मेयरकी यी २१ वर्षीया उम्मेदवारप्रति जनचासो यति बढेको छ, उनी जुन कार्यक्रममा जाँदा पनि मतदाताहरू फोटो खिचाउन झुम्मिन्छन्। स्थानीय महिला उनलाई खुसीले अंकमाल गर्न आउँछन्। कोही आएर कपाल मुसार्दै उनलाई आशीर्वाद दिन्छन्। उनको उमेर र छोटो कपालसहितको अलग व्यक्तित्वले पनि हुनुपर्छ धेरै मतदाता अनुहार हेर्न, उनका कुरा सुन्न र उनीसँग प्रत्यक्ष भलाकुसारी गर्न उत्सुक देखिन्छन्।

सोमबार साँझको कार्यक्रममा पनि रञ्जु र उनको टिमले बोलिसकेपछि माइक समातेर आफ्नो जिज्ञासा राख्ने र सुझाव दिनेहरू थुप्रै थिए। समारोहमै उभिएर बोल्न धकाउनेहरू कार्यक्रम सकिएपछि रञ्जुलाई एक्लै भेटेर आफ्नो मन फुकाइरहेका थिए।

सुशीला भट्टराई तिनैमध्ये एक थिइन्।

 कार्यक्रम सकिएपछि उनी हतारहतार अगाडि लम्केर रञ्जुनिर पुगिन्। उनलाई शुभकामना दिइन्। रञ्जुले हाँसेर उनीसँग हात मिलाइन्।

‘म उनलाई भेट्न कहिलेदेखि कुरेर बसेकी थिएँ। आज बल्ल भेट भयो, खुसी लाग्यो। म काठमाडौंको मतदाता हुँ। तर, भोट नहालेको २० वर्ष भयो। यसपालि भने रञ्जु दर्शनालाई भोट हाल्छु,’ उनले सेतोपाटीसँग भनिन्, ‘मलाई त उनी आफ्नी छोरीजस्तै लाग्छिन्। मेरा छोराछोरी त बाहिर छन्, रञ्जुले नै हो, अबको देश हाँक्ने।’

सिनामंगलका युवा प्रमोद पौडेलले त कार्यक्रममै भने, ‘म चाहन्छु युवाहरू राजनीतिमा आउन्। देश बनाउने भनेको युवाहरूले नै हो। ७० वर्ष उमेरका नेतालाई हामी युवाहरूमाथि शासन गर्न दिनुहुन्न अब।’

उनले रञ्जुलाई रोज्नुको कारण पनि खुलाए।

‘पहिले भूकम्पमा ढलेका घर र दरबार उठाएर देखाइदेऊ। भूकम्पमा पालमुनि बस्नेका आँसु पुछिदेऊ,’ भने, ‘हामीले यो चुनावमा पहिलेकै नेतालाई भोट दियौं भने भूकम्पपीडितका आँसुले सराप्ने छन्। काठमाडौंबासी सुतिरहेका बाघ हुन्, नेताहरूले ब्युँझाइदिए। अब हामी डमरु लिएर आउँदैछौं। त्यो डमरु भनेको २१ वर्षकी होनहार रञ्जु दर्शना हुन्। हामी उनलाई जिताएर देखाइदिन्छौं। अनि हामी युवाहरूले नै उठाउनेछौं ढलेका घर, दरबार र धरहरा।’

विवेकशील नेपाली दलले त्यो कार्यक्रममै रञ्जुको चुनावी अभियानका लागि सर्वसाधारणसँग चन्दा आह्वान गरेको थियो। सहभागीहरू आफ्नो क्षमताअनुसार हजार–दुई हजार रुपैयाँ दिन अघि सरे। केही बेरमै २४ हजार उठेको विवेकशीलका गोविन्द नारायणले जानकारी दिए।

‘बिहान मैतिदेवीमा पनि कार्यक्रम स्थलमै ४० हजार रुपैयाँ उठेको थियो,’ उनले भने, ‘जनताको तर्फबाट प्राप्त आर्थिक सहयोग पनि हाम्रा लागि मतजस्तै हो।’

एकल आमाको स्याहारमा हुर्किएकी रञ्जु स्वभावैले ‘बोल्ड’ छिन्। समाजको बेथिति र अस्तव्यस्त राजनीतिले उनको मन कुँडिन्थ्यो। आफ्नै उमेरका साथीहरू राजनीतिलाई ‘फोहोरी खेल’ बताइरहेका बेला उनी राजनीतिमै होमिएर देश सेवा गर्न चाहन्थिन्। तर, प्रमुख शक्ति भनिने परम्परात राजनीतिक दलहरूप्रति रञ्जुलाई रत्तिभर विश्वास थिएन। उनी अवसरको खोजीमा थिइन्।

त्यही क्रममा एकदिन ‘मुस्कुराइरहेको अनुहार’ चिह्न उनको हात पर्यो। उनले त्यो चिह्न विवेकशील नेपाली दलको हो भन्ने थाहा पाइन्। जुन दलको चिह्नमै मुस्कान छ, त्यसको कार्यशैली कस्तो होला भन्ने जिज्ञासाले उनलाई पार्टीको कार्यालयसम्म डोर्यायो।

पार्टीका मान्छे भेटिए। उनीहरूको कार्यशैली थाहा पाए। कुरा सुने। विचार बुझे। उनलाई त्यो आफ्नै घरझैं लाग्यो। त्यहाँका मान्छे आफ्नै परिवारझैं भान भयो। जुन सुझबुझ र विवेकको राजनीतिको उनी खोजी गरिरहेकी थिइन्, उनले विवेकशीलमा ती सबै फेला पारिन्।

र, यहीँबाट सुरु भयो, रञ्जु र विवेकशीलको सम्बन्ध।

उनी पार्टीका सबै गतिविधिमा सरिक हुन थालिन्। खासगरी भुइँचालो क्रममा पुनर्स्थापना र राहत वितरणमा सक्रियतापूर्वक सहभागी भएर रञ्जुले आफ्नो समाजसेवी छवि उजागर गरिन्। समाजसँग उनको प्रत्यक्ष अन्तर्क्रिया यही घटनाबाट भयो।

उनको राजनीतिक यात्राको ‘टर्निङ प्वाइन्ट’ भने डा. गोविन्द केसीले छेडेको भ्रष्टाचारविरुद्धको सत्याग्रह आन्दोलन बन्यो।

अनसन क्रममा प्रायः टिचिङ अस्पतालमै बसेर डा. केसीको अभियानमा ऐक्यबद्धता जनाइरहेको भेटिने उनी पछि विवेकशीलका तर्फबाट सडक प्रदर्शनमा ओर्लिइन्। माइतीघरदेखि नयाँबानेश्वरसम्म हजारौंको प्रदर्शनमा उनको नेतृत्व खुबी सार्वजनिक भयो। यही खुबीले उनलाई सार्वजनिक चर्चामा पनि ल्यायो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने मागसहित विवेकशीलले सञ्चालन गरेको धर्ना कार्यक्रममा पनि रञ्जुले सक्रियतापूर्वक भाग लिइन्। अघिल्लो दसैं बेला भएको उक्त कार्यक्रममा उनी हरेक दिन घरि टंगालस्थित अख्तियार कार्यालय घेराउमा नेतृत्व गर्न पुग्थिन् त घरि बालुवाटारस्थित प्रधानमन्त्री कार्यालय घेराउ गर्न जान्थिन्।

भुइँचालोका घाउमा मह्लम लगाउँदै समाजसेवाको बाटो सार्वजनिक जीवनमा छिरेकी रञ्जुको निम्ति भ्रष्टाचारविरुद्धको यो आन्दोलनले राजनीतिक बाटो खनिदियो।

यी सबै योगदान, सक्रियता र लोकप्रियताको एकमुष्ट नतिजा नै हो, स्थानीय निवार्चनका लागि विवेकशील नेपाली दलले रञ्जुलाई मेयर उम्मेदवार बनायो।

‘सुरुमा पार्टीबाट काठमाडौंको मेयरमा नाम आउँदा म आत्तिएकी थिएँ,’ सोमबार बिहान नयाँबानेश्वरको थापागाउँमा आयोजित घरदैलो कार्यक्रम क्रममा सेतोपाटीसँग कुरा गर्दै रञ्जुले भनिन्, ‘के जनताले मलाई विश्वास गर्लान् त भन्ने लागेको थियो। तर, चुनावी अभियानमा जति हिँड्दैछु, मेरो मनोबल उति बलियो हुँदैछ। जनताबाट यति धेरै माया, विश्वास र शुभेच्छा पाइरहेको छु, त्यो देखेर म आफैं छक्क पर्छु।’

पहिलो चुनावी अभियानदेखि आजसम्म आफ्नो आत्मविश्वास निकै बढेको रञ्जु बताउँछिन्।

‘मतदाताको यत्रो समर्थन देखेर आँट बढेको छ,’ उनले भनिन्, ‘मलाई सक्दिनँ कि भन्ने शंका त कहिले थिँदै थिएन। जहिले पनि म सक्छु, म गर्छु भन्ने विश्वास नै थियो। आज जनताको यति धेरै समर्थन देखेर त्यो विश्वास झनै बढेको छ। मलाई लाग्दैछ, म सक्छु र म गर्छु भन्ने विश्वास मेरो मात्र हैन रहेछ, यति धेरै जनताले पनि मप्रति विश्वास राख्नुभएको रहेछ।’

‘यो सहरलाई राम्रो बनाउन ठूल्ठूला भाषण हैन, काम गर्ने मान्छेको खाँचो छ, म त्यो काम गर्न सक्छु। मसँग त्यो ऊर्जा छ,’ उनले भनिन्।

यो रञ्जुप्रतिको बढ्दो विश्वास नै हो, उनलाई आफ्नो टोलमा डाकेर घरदैलो कार्यक्रम गराउने आग्रह थामिनसक्नु छ। बिहानदेखि बेलुकीसम्म पूर्वबाट पश्चिम, उत्तरबाट दक्षिण दौडधुप गर्दा पनि उनी सबै मतदाताकहाँ पुग्न भ्याइरहेकी छैनन्। भन्छिन्, ‘काठमाडौं महानगरका सबै वडाका सबै टोलमा पुग्न मन छ। हेरुँ कति भ्याइन्छ।’

रञ्जुको यो दौडधुप ठ्याक्कै २०७२ वैशाख १२ को त्यो मध्याह्न र त्यसपछिका दिनमा जस्तै छ।

फरक यत्ति छ– त्यतिबेला भुइँचालोको घाउ आलो थियो। आँशु नुनिलै थियो। अहिले घाउमा खाटा परेको छ। आँशुको डोब मात्र बाँकी छ।

तर, रञ्जु त्यतिबेला पनि भुइँचालोको आहतमा भर बनेकी थिइन्, अहिले पनि आडिलो भर दिने बाचा गरिरहेकी छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.