नयाँ आइजिपी अर्याल को हुन्?


दाङको त्रिभुवन नगरपालिका–११ मा २०२० असार १४ गते जन्मिएका प्रकाश अर्याल २०४४ चैत १९ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका हुन्।

दैलेख, तेह्रथुम, रुपन्देही, मकवानपुर, कास्कीमा उनी प्रहरी प्रमुख भएर काम गरे। उनी अञ्चल प्रहरी कार्यालय रुपन्देही र मध्य क्षेत्रीय प्रहरी कार्यालय प्रमुख पनि भए।

प्रहरीमा अर्याल कडा स्वभावका अधिकृतका रूपमा गनिन्छन्। उनले स्नाकोत्तरसम्मको अध्ययन गरेका छन्। उनी २०६९ साल पुस ४ गते एसएसपीबाट डिआइजीमा बढुवा भएका थिए।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुख हुँदा उनले मिटर चलाउन नमान्ने, मनपरि भाडा असुल्ने, लेन मिच्ने चालकलाई कारबाही गर्ने अभियान चलाएका थिए।

‘एक महिनाभित्र ट्याक्सी चालकहरू मिटरबिना हिँड्दैनौं भन्नेछन्,’ अर्यालको यो भनाइ निकै चर्चित थियो। यही अभियानका कारण मिटर बिगारेर ट्याक्सी चलाउने प्रवृत्तिमा बीचमा केही हदसम्म सुधार आएको थियो। अहिले फेरि खस्किएको देखिन्छ।

तालिम लिने प्रहरी अधिकृतहरूमध्ये अर्याल पहिलो नम्बरमा पर्छन्। उनले अमेरिकामा एफबिआई तालिम लिएका छन्। त्यस्तै, सिनियर प्रहरी कमान्डो, विशेष व्यक्तिको सुरक्षा, मानवअधिकार, अपराध अनुसन्धान, अपराध व्यवस्थापन, प्रति आतंकवाद कमान्डो तालिम लिएका छन्।

विपत व्यवस्थापन, प्रशिक्षक, प्रशिक्षण, जघन्य अपराधसम्बन्धी तालिम लिएका अर्यालले सिनियर म्यानेजमेन्ट र आतंकवाद अपराध अनुसन्धान र घटनास्थलसम्बन्धी तालिम पनि लिएका छन्।

उनले जागिरको अवधिमा अहिलेसम्म दुर्गम सेवा पदक, दैवीप्रकोप उद्धार सेवा, संयुक्त राष्ट्र संघ पदक पाइसकेका छन्। गद्धी आरोहण रजत पदक, प्रदेश सेवा पदक, प्रहरी सेवा पदक, गोरखा दक्षिणबाहु चौथो र वीरेन्द्र ऐश्वर्या सेवा पदक पनि उनले पाएका छन्।

उनी सिआइबीमा रहँदा ३५ किलो सुन काण्डमा भने मुछिएका थिए। प्रहरी सेवामा रहँदा उनीमाथि लागेको दाग यही एउटा हो।

सिआइबीमा रहँदा उनले भिओआइपीविरुद्ध अप्रेसन थालेका थिए भने आर्थिक अपराध अनुसन्धानलाई प्राथमिकता दिएका थिए।

प्रविधिमा काम गर्न रुचाउने उनी आफू पनि प्रविधिमैत्री छन्। संगठन व्यावसायिक हुनुपर्छ भन्ने उनको मान्यता छ। कुनै हालतमा पनि प्रहरी कर्मचारी भ्रष्टाचारमा लिप्त हुनुहुँदैन भन्दै जहाँ खटे पनि उनी भ्रष्टाचार हटाउन प्रयत्नशील रहने गर्थे।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.