नेपाली कांग्रेसको एकताका लागि अन्तिम प्रयास स्वरूप महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संस्थापन पक्षलाई आठबुँदे प्रस्ताव पठाएका छन्।
दुई महामन्त्री थापा र शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सहमतिको अन्तिम विकल्पको सन्देश पठाएका हुन्।
महामन्त्रीद्वयले पठाएका सहमतिका आठ बुँदा यस्ता छन् —
१) विशेष महाधिवेशनको स्वामित्व साझा रूपमा लिने
२) परिमार्जनसहित पारित प्रस्तावहरू कार्यान्वयन गर्ने
३) सभापतिले सक्रिय भूमिका निर्वाह नगर्ने, त्यस क्रममा उम्मेदवारी पत्रमा सभापतिले हस्ताक्षर नगर्ने
४) उम्मेदवार चयन गर्न संसदीय बोर्ड गठन गर्ने
५) आगामी निर्वाचनमा एक ढिक्का भएर मैदानमा जाने
६) कुनै पनि दलसँग गठबन्धन नगरेर नेपाली कांग्रेसले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने
७) नेपाली कांग्रेसबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने
८) यी सबै कार्य समन्वय र कार्यान्वयन गराउन ५ सदस्यीय संरचना गठन गर्ने, जसमा कार्यवाहक सभापति र दुई महामन्त्री बाहेक थप दुई नेता रहने।
सभापति शेरबहादुर देउवासँग आज बिहान उनको निवास महाराजगन्जमा भएको वार्तामा कुनै सहमति हुन नसकेपछि महामन्त्रीद्वय थापा र शर्माले यो 'अन्तिम विकल्प' को सन्देश पठाएका हुन्।
शेरबहादुर देउवाले पार्टी नेतृत्वका रूपमा कुनै काम-कारबाही नगर्ने, संसदका उम्मेदवारहरूको टिकटमा कार्यवाहक सभापति खड्काको हस्ताक्षर हुने, अर्को महाधिवेशन नहुञ्जेल अन्तरिम अवधिसम्म पार्टीका मुख्य निर्णय गर्न चार-पाँच जना नेताको 'हाई कमान्ड' बनाउने र गगन थापालाई कांग्रेसको भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै उनकै नेतृत्वमा आगामी चुनावमा जाने उनीहरूको प्रस्ताव छ।
पार्टी हाई कमान्डमा रहने नामहरूमा कार्यवाहक सभापति खड्का, महामन्त्रीद्वय थापा र शर्मा, वरिष्ठ नेता शेखर कोइराला लगायत रहने गरी मंगलबारदेखि छलफल चलिरहेको छ।
हाई कमान्डले अर्को महाधिवेशन नभएसम्म पार्टीका नियमित गतिविधि सञ्चालन गर्नुका साथै आवश्यक निर्णयहरू लिनेछ। कांग्रेसको १५औं महाधिवशेन वैशाखमा गर्ने तय भएको छ।
सभापति देउवा पार्टीका सबै कामबाट अलग हुने र अबदेखि निर्वाचनका उम्मेदवारहरूको टिकट बाँड्ने लगायतका काममा आफ्नो हस्ताक्षर प्रयोग नगर्नेबारे लचिलो प्रवक्ता प्रकाशशरण महतले बताइसकेका छन्।
सहमतिको अन्तिम प्रयास चलिरहँदा विशेष महाधिवेशनअन्तर्गत चुनावमा उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने र मतदान प्रक्रिया अघि बढाउने कार्यमा ढिलाइ भएको छ।
बिहान ११ बजे सकिएको मनोनयन दर्ता अनुसार सभापति पदका लागि गगन थापाको मात्र उम्मेदवारी परेको छ।
त्यस्तै, महामन्त्रीका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको मात्रै उम्मेदवारी परेको छ भने सहमहामन्त्रीका लागि बहादुरसिंह लामाले उम्मेदवारी दिएका छन्। लामा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री हुन्। कांग्रेसमा ८ जना सहमहामन्त्री रहनेछन्।
दोस्रो विशेष महाधिवेशनले एक सभापति, दुई उपसभापति र दुई महामन्त्री निर्वाचित गर्नेछ।
त्यस्तै, महाधिवेशनले ८ सहमहामन्त्रीसमेत निर्वाचित गर्नेछ। नेपाली कांग्रेसको विधानअनुसार सहमहामन्त्रीमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, मुस्लिम, थारू, पिछडिएका समुदाय गरी आठ वटा क्लस्टर छुट्टयाइएको छ।