नेपाली कांग्रेसको संस्थापन र विशेष महाधिवेशन पक्षबीच पहिलो चरणको वार्ता सकिएको छ।
भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्द सत्र जारी रहँदा लाजिम्पाटको एउटा घरमा संस्थापन र विशेष महाधिवेशन पक्षका नेताहरूबीच बिहानदेखि जारी छलफलको पहिलो चरण सकिएको विशेष पक्षका एक नेताले जानकारी दिए।
वार्तामा विशेष पक्षले आफ्ना अडानहरू राखेका थिए।
पूर्णबहादुर खड्कालाई जेठसम्म कार्यवाहक दिनुपर्ने, सभापति देउवाको हस्ताक्षर नचल्ने र उनी चुनाव पनि नलड्ने अडान विशेष पक्षको अडान छ। साथै विशेष महाधिवेशनलाई पार्टीले स्वीकार गर्दै त्यहाँबाट पारित दस्तावेज कार्यान्वयन गर्नुपर्ने अडान विशेष पक्षको थियो।
त्यसमा संस्थापन पक्षले खासै जबाफ नदिएको ती नेताले बताए। अहिले वार्ताको पहिलो चरण सकिएको र केही समयमै अर्को चरण सुरू हुने उनले जानकारी दिए।
'हाम्रो अडान राख्ने काम भयो। उताबाट यी अडान स्विकार वा अस्विकार केही भएन। फेरि बस्ने कुरा मात्रै भयो। आज नटुङ्गिए नेतृत्व चयन निर्वाचन प्रक्रिया अघि बढ्छ भनेका छौ,' ती नेताले भने।
छलफलमा विशेष महाधिवेशन पक्षबाट केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, देवराज चालिसे, मधु आचार्य र गुरूराज घिमिरे सहभागी छन्।
देउवा पक्षबाट रमेश लेखक र बालकृष्ण खाण तथा शेखर कोइराला पक्षबाट बद्री पाण्डे, जीवन परियार र मिनेन्द्र रिजाल सहभागी छन्।
संस्थापन पक्षका नेताहरूले भने विशेष महाधिवेशन आयोजना भइसकेको अवस्था रहेकोले यसलाई ’स्वीकार गर्ने' र पार्टीलाई एकताबद्ध बनाएर लैजान सकिने विषयमा लचकता अपनाउन सकिने बताइरहेका छन्।
आम चुनावको मुखमा पार्टी विभाजन हुन नहुने तर्फ जोड दिँदै संस्थापन पक्षका नेताहरूले जसरी पनि पार्टीलाई एक ढिक्का बनाएर लैजाने बताइरहेका छन्।
भृकुटीमण्डपको विशेष महाधिवेशनमा अहिले बन्द सत्र जारी छ। महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमा ९ वटा समितिमा छलफल गरी अहिले समूहको निष्कर्ष सुनाइरहेका छन्।
बन्द सत्रले पार्टीको पुरानो निर्वाचन समिति भंग गरी पाँच सदस्यीय नयाँ निर्वाचन समिति गठन गरिसकेको छ।
वरिष्ठ अधिवक्ता सीताराम केसी संयोजकत्वको निर्वाचन समितिमा अशोक पोखरेल, गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्य छन्।
मंगलबार नै केन्द्रीय कार्यसमितिको बैठक आह्वान भएको छ। बिहान ११ बजे डाकिएको बैठक दिउँसो १ बजे बस्नेगरी सरेको छ।