नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीको अधिवेशन केही लम्बिन सक्ने बताएका छन्।
उनले अधिवेशनको चिन्ता नगर्न पनि आग्रह गरे।
कृष्णप्रसाद भट्टराईको १०२ औं जन्म जयन्तीको अवसरमा काठमाडौंमा मंगलबार भएको कार्यक्रममा बोल्दै नेता कोइरालाले भने, ‘नेपाली कांग्रेसको अधिवेशनले तपाईं, हामी सबैलाई हुँदा हुँदा मिडियालाई पनि किन चिन्ता लागेको हो, मैले बुझेको छैन। एउटा पार्टीको अधिवेशन हुनु, पार्टीको अधिवेशन हो, निरन्तर चार-चार वर्षमा हुनुपर्छ। भइरहन्छ भन्ने बुझ्नुस्।’
नेता कोइरालाले जसले पनि पार्टी अधिवेशनबारे सोध्ने गरेको र आफूलाई दिक्क लागेको पनि बताए।
‘जसले पनि नेपाली कांग्रेसको अधिवेशनको बारेमा सोध्छ। मलाई त दिक्क पनि लाग्छ कहिले कहीँ। आफ्नो तरिकाले जान्छ, किन चिन्ता गर्ने? कांग्रेसको अधिवेशन केही लम्बिन सक्छ। अब यो पत्रकारहरूले के लेख्छन् भने शेखर कोइरालाको समूहले अधिवेशन सार्न खोज्यो भनेर, मैले सार्न खोजेको होइन,’ उनले भने।
नेता कोइरालाले पुस २६ गते महाधिवेशन हुनुपर्ने पक्षमा आफू रहेको बताए।
‘तर क्रियाशील सदस्य नयाँ थपिए। नयाँ क्रियाशील सदस्य बाँड्ने क्रममा देशभर सिरियल नम्बर नभएको पठाउने त शेखर कोइराला होइन होला। अर्कैले पठाएको होला। मैले त थाहा पाएँ। थाहा पाएपछि चनाखो भएँ,’ उनले भने।
- न्युज एजेन्सी नेपाल