बद्रीप्रसाद मण्डलको लामो राजनीतिक जीवनमा धेरै उतारचढावहरू आए अनि गए।
पञ्चायत, बहुदल हुँदै तत्कालीन राजाको सक्रिय शासनकालमा पनि मण्डल नेपालको सत्ता राजनीतिको केन्द्रमा छाइरहे।
२०६२–६३ को जनआन्दोलनको बलमा गणतन्त्र स्थापना हुनुअघिसम्म पनि सत्ताको केन्द्रमै रहेका मण्डल त्यसपछि भए राजनीतिक मञ्चबाट गुमनाम जस्तै रहे। उनै मण्डलको मंगलबार विराटनगरमा ८८ वर्षको उमेरमा निधन भएको छ।
विराटनगर महानगर–९ घोघापुल चोकमा रहेको घरमै उनको निधन भएको परिवारले जानकारी दिएको छ।
भतिजी जस्मिन मण्डलले दिएको जानकारी अनुसार सोमबार रातिसम्म मण्डलको स्वास्थ्य अवस्था सामान्य थियो।
‘बिहान शौचालय गएर फेरि ओछ्यानमा आफै पुग्नुभएको थियो। सुतेकै ठाउँमा बित्नुभएको हो,’ जस्मिनले भनिन्।
दक्षिणपूर्वी मोरङको जहदा गाउँपालिका–२ मझारे पुर्ख्यौली थातथलो भएका नेता मण्डल २०३६ सालदेखि पञ्चायती राजनीतिमा प्रवेश गरेका थिए।
उनलाई नजिकबाट चिन्नेहरू जुनसुकै व्यवस्थामा पनि आफूलाई 'फिट' राख्न सक्ने क्षमता मण्डलमा प्रचुर थियो।
‘त्यसैले उहाँ पञ्चायतमा पनि शक्तिमा रहनुभयो, बहुदलीय कालमा पनि र राजाको पछिल्लो शासनकालमा पनि शक्तिमै रहनुभयो,’ कुनैबेला सद्भावना पार्टीमा मण्डलसँगै रहेका विराटनगरका एक मधेसवादी नेताले भने, ‘गणतन्त्रकालमा भने उहाँ फिट हुन सक्नुभएन।’
उनले भने जस्तै पञ्चायतकालदेखि २०४६ पछिको बहुदलीय संसदीय समयमा पनि लामो समय सत्ता राजनीतिको केन्द्रमा रहेका मण्डल राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा पनि सरकारको महत्वपूर्ण जिम्मेवारीमा थिए।
राष्ट्रिय पञ्चायतको सदस्य भएका उनी २०४२ सालमा केही समय अर्थ राज्यमन्त्री र पछि वन मन्त्री समेत भएका थिए।
पञ्चायतकालमा सत्ता राजनीतिको सिँढी उक्लिन थालेका मण्डललाई २०४६ सालको राजनीतिक परिवर्तनपछि पनि लामै समयसम्म त्यस्तै अवसर जुरिरह्यो।
२०५१ को मध्यावधि निर्वाचनमा नेपाली कांग्रेसकी नेतृ शैलजा आचार्यसँग मोरङमा पराजित भएका मण्डलले २०५६ मा आचार्यलाई नै पराजित गरेका थिए।
२०४६ को परिवर्तनपछि मण्डल नेपाल सद्भावना पार्टीमा सक्रिय भएका थिए। सो पार्टीका संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंहको निधन भएपछि मण्डल केही समय कार्यवाहक अध्यक्ष बनेका थिए।
तत्कालीन राजा ज्ञानेन्द्र शाहको सक्रिय शासनकालमा मण्डल फेरि सत्ता राजनीतिको केन्द्रमै पुगेका थिए। ज्ञानेन्द्र शाहले बनाएको सरकारमा मण्डल उपप्रधानमन्त्री बनेका थिए।
मण्डलका परिवारमा दुई श्रीमती, तीन छोरा र तीन छोरी छन्। चार छोरामध्ये एक छोराको निधन भइसकेको छ।