नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जाँचबुझ आयोगबाट पत्र प्राप्त भएपछि बयानबारे निर्णय लिने बताएका छन्।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की अध्यक्ष रहेको भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रहेका कांग्रेस केन्द्रीय सदस्य लेखकलाई शुक्रबार बयानमा बोलाउने गरी पत्र पठाएको छ।
पत्र प्राप्त भइनसकेको लेखकले बताए।
‘जाँचबुझ आयोगले बयानका लागि बोलाउने भनेर पत्र पठाएको छ भन्ने कुरा सञ्चार माध्यमहरूमा खबर देखेँ, मलाई अहिलेसम्म पत्र प्राप्त भइसकेको छैन,’ मंगलबार अपराह्न सेतोपाटीसँगको कुराकानीमा लेखकले भने, ‘पत्र प्राप्त भएपछि यसबारे निर्णय लिन्छु।’