प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सरकारलाई अचानो बनाइएको टिप्पणी गरेकी छन्।
निर्वाचन आयोग, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख र जेनजी प्रतिनिधि सँगको छलफलमा कार्कीले आफूहरूमाथि आक्षेप लगाइएको तर खेप्न तयार रहेको बताएकी हुन्।
‘हामी अचानो होइनौं। हामी २३ र २४ को आगेव झेलिराखेका छौं,’ कार्कीले भनिन्, ‘हामी जेनजी र दलबाट आलोचनाको पात्र भयौं।’
तर आफू मुलुकका लागि आक्षेप खेप्न तयार रहेको कार्कीले बताइन्।
‘हामीले जे भोग्नुपरेको छ। आक्षेप खेप्न तयार छौं,’ कार्कीले भनिन्, ‘मुलुकका निम्ति। हामी जेनजीको रगतमा यश र आराम गर्न आएका होइनौं।’
उनले मुलुकमा शान्ति सुरक्षाको वातावरण बनाउन दलहरू पनि लाग्नुपर्ने बताइन्।
‘सबै निर्वाचनमा आइदिनुहोस्। सबै राजनीतिक पार्टीले शान्ति चाहने हो भने यहाँ कुनै माइकालाल छैन आतंककारी र क्रिमिनलले हमला गर्न सकोस्,’ कार्कीले भनिन्, ‘एक सय १४ दल युनाइटेड हुनुहोस् त। शान्ति हुन्छ। कुनै पनि तत्वले ‘ब्याड इलिमेन्ट’ लाई ढोका बन्द गर्ने हो भने तिनका केही सीप चल्दैन।’
उनले बंगलादेशको उदाहरण दिइन्।
‘नेपालीको स्वभाव त्यो होइन। १७ हजार मर्दा पनि नेपालीले सह्यो। अहिले पनि सहेका छन्,’ कार्कीले भनिन्, ‘सहनुपर्छ भन्ने मेरो अन्तिम भनाइ होइन। तर सबै कुराको रिस पोख्दा पोख्दै मुलुकै गुमाउने काम नगरौं।’
उनले कुनै पनि राजनीतिक दलभित्र भागबण्डा मिलेन र मनोमानल्यनको नकारात्मक असर र प्रताडनाको असर जनतालाई दिन नहुने बताइन्।
‘पार्टी भित्रको अलमलको छाप जनतामाथि पार्न मिल्दैन’, कार्कीले भनिन्, ‘जनतासँग च्वाइस हुन्छ। राम्रो गर्ने दललाई ल्याउँछन्। राजनीतिक दल जनताको सेवा गर्न बनेको हो। जनता पहिलो हो। दल सेकेण्डरी कुरा हो।’