नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले सेना परिचालनले मात्र निर्वाचनमा सुरक्षा नहुने भन्दै प्रश्न उठाएका छन्।
प्रधानमन्त्री, गृहमन्त्री, प्रधान सेनापति सहित कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र दलहरूसँगको छलफलमा पाण्डेले दश वटा चुनाव लडेको उल्लेख गर्दै सेना परिचालनको अनुभव सुनाए ।
‘मैले १० वटा चुनाव लडेको छु। सेनाको परिचालन कसरी हुन्छ। थाहा छ। उसले शान्ति सुरक्षाको स्थिति कसरी देखाउँछ,’ पाण्डले भने, ‘मतदान केन्द्रबाट २ सय मिटर पर बसेको हुन्छ। बुथभित्र मारामार हुन्छ। सेना हरियो ड्रेसमा बसेर सतर्क गराउने मात्र हो। उसले बन्दुक छाड्दैन। केही गर्दैन। हामीले भोगेका छौं।’
उनले निर्वाचनमा परिचालन हुने प्रहरी मात्रै रहेको बताए।
‘म्यादी प्रहरी लाठी हातमा लिएर बसेको हुन्छ। कसरी छनौट गर्नुहुन्छ। त्यो आफैमा पनि बेइमानी गर्ने मान्छे पनि हुन्छ,’ पाण्डेले भने, ‘कतिपय अवस्थामा एउटाको पक्षमा भोट यताउता गर्ने भनेर निर्देशन दिने मान्छे हुन्छ।’
उनले लुटिएका हात हतियार कति फिर्ता भए? भन्दै प्रश्न उठाए।
‘९८ हजार गोली र १२ देखि १४ सय हतियारमध्ये कति फिर्ता भए,’ पाण्डेले भने, ‘यो बैठकमा सुनाइदिएको भए यति त भएछ भनेर सुनेर जान्थ्यौं।’
उनले मुलुकभर भएका १० हजार मतदान केन्द्रमा ३५ सय अति संवेदनशील भएको र बाँकी ४ हजार संवदेशील रहेको उल्लेख गर्दै ८ हजार मतदान केन्द्र संवेदनशील रहेको बताए।
‘तपाईंहरूले २ हजारमा हो शान्तिपूर्वक चुनाव गराउने,’ पाण्डेले भने, ‘सरकारले ती मतदान केन्द्रबारे के सोचेको छ। राजनीतिक दलहरूलाई आश्वस्त गराउनुपर्छ।’