नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरणलाई झन् सहज र खुकुलो बनाउने भएको छ।
वडा, क्षेत्र, जिल्ला लगायतमा क्रियाशील नवीकरण केही गरी छुट भएकालाई केन्द्रीय कार्यालयले सिधै क्रियाशील सदस्यता दिने निर्णय भएको हो।
महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको आजको बैठकले क्रियाशील सदस्यता लिन छुट भएकाहरूलाई केन्द्रबाट सिधै पनि क्रियाशील दिन सक्ने निर्णय गरेको छ।
समितिका सदस्य प्रकाश रसाइली 'स्नेही' का अनुसार १४ औं महाधिवेशनअघि कुनै महाधिवेशनमा क्रियाशील सदस्यता नवीकरण छुट भएका तर कांग्रेसका सिद्धान्त र आस्थामा प्रतिबद्धहरूलाई पनि क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय भएको छ।
‘विदेश गएकोलगायत केही कारणले यसअघि क्रियाशील सदस्यता नवीकरण छुटेको अवस्थामा पनि क्रियाशील नवीकरण गर्न मिल्ने गरि निर्णय भएको छ,’ उनले भने, ‘योग्यता र मापदण्ड पुगेका सबैलाई क्रियाशील सदस्यता दिन्छौं।’
उनकाअनुसार अनुशासन समितिले कारबाहीको टुंगो नलगाएकाहरूको हकमा पनि क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय भएको छ।
साथै जेनजी आन्दोलनअघि जिल्लाहरूमा २५ प्रतिशत क्रियाशील सदस्यता फारम पठाएको र कतिपय जिल्लामा फारम आगजनीमा परेको पाइएकोले ती जिल्लाका क्षेत्रीय कार्यसमितिमा पुरानो फारम स्थगित गरी नयाँ फारम पठाउने निर्णय पनिभएको उनले जानकारी दिए।
विदेशस्थित जनसम्पर्क समितिमा कसैको साधारण, जनसम्पर्क र क्रियाशील सदस्यता वा नवीकरण रोकिएको भए सिधै केन्द्रीय कार्यालयमा आवेदन दिए अनलाइनबाटै सदस्यता दिने पनि निर्णय भएको छ। यसका लागि बेवसाइटबाट भोलिदेखि नै काम सुरू गरिने उनको भनाइ छ।
कांग्रेसको केन्द्रीय महाधिवेशन पुसको २६ गतेदेखि २८ गतेसम्म काठमाडौँमा हुनेछ।