अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रो कार्यकाल राष्ट्रपति नियुक्त भएयता ३८९ वटा गोलीकाण्डका घटना भएका छन्।
गन भायलेन्स अर्काइभका अनुसार अघिल्लो वर्षभरि अमेरिकामा ५०० वटा गोलीकाण्डका घटना भएका थिए। विशेषगरी विद्यालय तथा कलेजहरूमा यस्ता घटना भएका छन्।
त्यस्ता गोलीकाण्डमा विदेशीसँगै अमेरिकी नागरिकहरूको पनि संलग्नता भेटिएका छन्।
दुईवटा गोलीकाण्डको घटनालाई लिएर भने अमेरिकाले आप्रवासी नीति नै कडाइ गरेको छ।
अमेरिकाको वाशिङ्टन डिसीस्थित ह्वाइट हाउस नजिक नेसनल गार्डका दुई सुरक्षाकर्मीमाथि गोली चलेको घटनापछि १९ देशका नागरिकहरूले पाएको ग्रीनकार्ड पुनरवलोकन गर्ने निर्णय गरेको थियो।
घटनामा अफगानिस्तानका नागरिक रहमान उल्लाह लाकनवालको संलग्नता भेटिएको थियो।
त्यसपछि ट्रम्पले अफगानिस्तान, म्यानमार (बर्मा), चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गुएना, एरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान, यमन, बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकहरूले पाएको ग्रीनकार्ड पुनरवलोकन गर्ने निर्णय गरेका थिए।
केही दिन अघि मात्रै सुरक्षा जोखिम बढेको भनेर ट्रम्पले बुर्किना फासो, माली, नाइजर, दक्षिण सुडान र सिरियाका नागरिकलाई अमेरिका प्रवेशनमा प्रतिबन्ध लगाउने निर्णय गरे।
ट्रम्पले शुक्रबार भने डिभी लोटरी कार्यक्रम बन्द गर्न त्यहाँको गृह मन्त्रालयलाई निर्देशन दिएका छन्।
ट्रम्पको निर्देशनपछि गृहमन्त्री कृष्टि नोएमले डिभी कार्यक्रम बन्द गर्ने घोषणा गरेकी छन्।
डिभी कार्यक्रम बन्द गर्ने घोषणाको पछाडि पनि गोलीकाण्डकै घटना जोडिएको छ।
गत नोभेम्बरको दोस्रो साता अमेरिकाको रोड आइल्याण्ड राज्यस्थित प्रोभिडेन्स शहरको ब्राउन विश्वविद्यालयको इन्जियनियरिङ भवनमा अन्धाधुन्ध गोली चलेको थियो।
विश्वविद्यालयमा परीक्षा चलिरहँदा भएको गोलीकाण्डमा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो। त्यतिबेला ८ जना घाइते भएका थिए।
उक्त घटनामा पोर्चुगलका नागरिक ४८ वर्षीय क्लाउडिओ म्यानुएल नेभेस भ्यालेन्टी संलग्नता भेटिएको छ।
त्यही व्यक्ति एमआइटी युनिभर्सिटीका प्राध्यापकको हत्यामा पनि संलग्न रहेको खुलेको भनेर अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले लेखेको छ।
ती व्यक्ति पनि शुक्रबार मृत भेटिएका छन्।
उनले आत्महत्या गरेको हुन सक्ने सिएनएनले जनाएको छ।
गोलीकाण्डमा संलग्न भएका व्यक्ति डिभी लोटरी कार्यक्रमबाटै ८ वर्षअघि अमेरिका प्रवेश गरेका थिए। त्यसपछि उनले अमेरिकाको ग्रीनकार्ड नै पनि पाएका थिए।
उनी ब्राउन विश्वविद्यालयकै पूर्वविद्यार्थी रहेको समेत खुलेको छ।
डिभी कार्यक्रमबाट आएका व्यक्ति गोलीकाण्डमा संलग्न भेटिएपछि ट्रम्प प्रशासनले डिभी लोटरीको कार्यक्रम नै स्थगित गर्ने तयारी गरेको हो।
तर यसको कार्यान्वयन जटिल रहेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।