दाङले नेकपा एमालेको ११ औं महाधिवेशनबाट महासचिव सहित थप दश जना केन्द्रीय सदस्यहरू जितेको छ। एक जना भने पराजित भएका छन्।
दाङका शंकर पोखरेल दोस्रो कार्यकालका लागि महासचिव पदमा १२२८ मत प्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९९९ मत प्राप्त गरेका थिए। पोखरेल पाण्डेभन्दा २३० मत प्राप्त गरी निर्वाचित भएका हुन्।
पोखरेल तुलसीपुर उपमहानगरपालिका– १९ हाडिमेका स्थायी बासिन्दा हुन्।
त्यस्तै, दाङबाट कोमल ओली, घोराहीका मेयर नरूलाल चौधरी, घोराहीकी पूर्व उपमेयर सीता सिग्देल न्यौपाने, तुलसीपुरका पूर्वमेयर घनश्याम पाण्डे, शान्ता चौधरी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
निर्वाचनबाटै छविलाल वली केन्द्रीय अनुशासन सदस्यमा र रेबतिरमण शर्मा केन्द्रीय लेखा कमिटी सदस्यमा निर्वाचित भएका हुन्। निर्वाचन हुनुभन्दा पहिले नै महासचिव पोखरेलकी बहिनी मेनका पोखरेल (सर्वसम्मत) र साजिदा सिद्धिकी (सर्वसम्मत) केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
निर्वाचनबाट दाङका भागवत विश्वासी भने पराजित भएका छन्। उनी एमाले विभाजनपछि (नेकपा एकीकृत समाजवादी) पार्टीमा लागे पनि केही समयपछि एमालेमा पार्टी प्रवेश गरेका थिए।