नेकपा एमालेको ११ औं महाधिवेशनबाट उपाध्यक्ष पदमा गोकर्ण विष्ट विजयी भए।
उनले निर्वाचित भएपछि देशलाई अन्योल र निराशाबाट निकास दिलाउन सफल हुने बताएका छन्।
‘हाम्रो संगठित प्रयत्नले पार्टीलाई सबल, गतिशील र एकताबद्ध बनाउँदै, देशलाई अन्यौल र निराशाबाट निकास दिलाउन अवश्य सफल हुने छौं,’ उनले भने।
विष्ट ईश्वर पोखरेल प्यानलबाट उम्मदेवार रहेर उपाध्यक्ष जितेका हुन्।
उनले ‘खुला प्रतिस्पर्धा र युगले खोजेको रूपान्तरणसहितको पार्टी निर्माणका लागि हाम्रो अभियानको नेतृत्व गर्नु हुने ईश्वर पोखरेल र सुरेन्द्र पाण्डे लगायतका सबै नेता कमरेडहरूको निष्ठा, साहस र संघर्षलाई हार्दिक सम्मान छ,’ भनेका छन्।
यस्तो छ गोकर्णको भनाइ-
सर्वप्रथम नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न भूमिका खेल्नु हुने सबैप्रति हार्दिक धन्यवाद प्रकट गर्दछु। महाधिवेशनमा विजय हासिल गर्ने अध्यक्ष कमरेड केपी ओलीसहित सबैमा बधाई तथा शुभकामना व्यक्त गर्दछु। प्रतिस्पर्धामा उम्मेदवारका रूपमा भाग लिई लोकतान्त्रिक अभ्यासलाई समृद्ध बनाउने सबै कमरेडको भूमिकाको उच्च कदर गर्दछु।
खुला प्रतिस्पर्धा र युगले खोजेको रूपान्तरणसहितको पार्टी निर्माणका लागि हाम्रो अभियानको नेतृत्व गर्नु हुने कमरेड ईश्वर पोखरेल र कमरेड सुरेन्द्र पाण्डे लगायतका सबै नेता कमरेडहरूको निष्ठा, साहस र संघर्षलाई हार्दिक सम्मान छ। त्यसैगरी आजीवन सामाजिक परिवर्तनको आन्दोलनमा समर्पित आदरणीय कमरेडहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, अमृतकुमार बोहरा, केशव वडालसहितका अग्रजहरुले देखाउनुभएको उच्च नैतिकता र त्यागको प्रसंशा गर्दछु।
यस महाधिवेशनमा मलाई केन्द्रीय उपाध्यक्ष पदमा विजयी गराउन अमूल्य मत दिनु हुने सबै आदरणीय प्रतिनिधि कमरेडहरू, हौसला दिनुहुने आदरणीय अग्रजहरू, प्रचारप्रसारमा अहोरात्र खट्ने सहयोद्धा कमरेडहरूप्रति हार्दिक आभारसहित कृतज्ञता ज्ञापन गर्दछु। यो अभियानमा महत्त्वपूर्ण योगदान दिनुहुने सञ्चारकर्मी मित्रहरू, देशविदेशमा रहेर साथ, सहयोग र समर्थन गर्नुहुने सबै शुभेच्छुकलाई हृदयदेखि धन्यवाद व्यक्त गर्दछु।
हाम्रो संगठित प्रयत्नले पार्टीलाई सबल, गतिशील र एकताबद्ध बनाउँदै, देशलाई अन्यौल र निराशाबाट निकास दिलाउन अवश्य सफल हुने छौं।