नेकपा एमालेको ११औं महाधिवेशनमा पद्मा अर्याल महिलाबाट एकमात्र पदाधिकारी निर्वाचित भएकी छन्। उनी १५३० मत प्राप्त गरि सचिव पदमा निर्वाचित भएकी हुन्। अध्यक्ष केपी शर्मा ओली प्यानलबाट उम्मेदवारी दिएकी उनी यसअघि पनि एमाले सचिव नै थिइन्।
एमालेमा यसअघि दुई महिला पदाधिकारी थिए। सचिवमा पद्मा बाहेक उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य थिइन्। शाक्यले यसपालिदेखि राजनीतिबाट अवकास लिएको बताएकी छन्।
यसपाली एमालेको ११ औँ महाधिवेशनमा विभिन्न पदाधिकारी पदका लागि ४ जना महिलाको उम्मेदवारी दिएका थिए। महिलाबाट सचिवमा अर्याल बाहेक रचना खड्का र पेम्बा लामाले पनि उम्मेदवारी दिएका थिए। खड्काले ८७७ र लामाले ४९४ मत ल्याएका छन्।
उपाध्यक्षका लागि विन्दा पाण्डेले उम्मेदवारी दिएकी थिइन्। उनी पनि निर्वाचनमा पराजित भएकी छन्। पाँच जना उपाध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा ९२१ मत ल्याएर उनी पछि परेकी थिइन्।