नेकपा एमालेका अध्यक्ष प्रत्यासी ईश्वर पोखरेलले आफूलाई मतदान गर्न १ घन्टा ४ मिनेट लागेको बताएका छन्।
जारी ११औं महाधिवेशन स्थलमा बुधबार राति पत्रकारहरूसँग कुरा गर्दै उनले उक्त जानकारी दिएका हुन्।
मतदान किन ढिला भइरहेको छ भन्ने प्रश्नको जबाफमा उनले समूह समूहमा बाँडिएका धेरै उम्मेदवारलाई एकैचोटि भोट हाल्नुपरेकाले ढिलो भएको बताए।
पोखरेलले आफ्ना प्रतिद्वन्द्वी केपी शर्मा ओली सँगसँगै बुधबार बिहानै मतदान गरेका थिए। उनीहरूले भोट हालेलगत्तै प्राविधिकहरूसँग कुरा गर्दा ओली र पोखरेल दुवैलाई मतदान सक्न करिब ४० मिनेट लागेको बताएका थिए। यसबारे दुवैको औपचारिक भनाइ आएको थिएन।
राति महाधिवेशन स्थल आएका पोखरेलले पत्रकारहरूसँगको कुराकानीमा आफूलाई भोट हाल्न लागेको समयबारे जानकारी दिए।
पुसको जाडोमा भृकुटीमण्डपको मतदान स्थल आइपुगेका पोखरेलले बाक्लो टोपी र ज्याकेट लगाएका थिए। उनी रातभरि मतदान स्थलमै बस्ने तयारीमा देखिन्छन्।
'मतदान गर्न रातभरि लागिहाल्छ। त्यसपछि गणना हुन्छ। गणनामा धेरै समय लाग्दैन,' उनले भने।
निर्वतमान वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी नेतृत्व चयन गर्ने लोकतान्त्रिक विधि उत्साहका साथ आत्मसात् भइरहेको बताएका छन्।
'यो महाधिवेशनले परिवतर्नको आकांक्षा पूरा गर्छ भन्ने मेरो विश्वास छ,' उनले भने, 'हामीले विचार, संगठन र कार्यसम्पादन शैलीमा पार्टी पुनर्व्यवस्थित गर्नुपर्छ। पार्टीलाई सामूहिक नेतृत्वअन्तर्गत विधि र पद्धतिमा सञ्चालन गर्नुपर्छ। यही भावना प्रतिनिधित्व गर्न हामीले उम्मेदवारी दिएका हौं।'