भदौ २३ र २४ गतेको छानबिन गर्न बनेको जाँचबुझ आयोगले समय थप गर्न सरकारसँग अनुरोध गरेको छ।
प्रधानमन्त्री सुशीला कार्कीलाई बुधबार दिउँसो भेटेर आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यद्वय विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीले समय थप गर्न आग्रह गरेका हुन्।
छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष कार्कीले एक महिना थपका लागि अनुरोध गरिएको बताए।
‘काम सकिएको छैन भनेर प्रधानमन्त्रीज्यूसँग छलफल गर्न आएका हौं। एक महिना थप गर्न भनेका छौं। समय पुगेको छैन,’ उनले भने, ‘दुई हप्ता बिदा नै भयो। प्रहरीले एक महिनासम्म लिस्ट पठाएन। त्यसकारण काम गर्न ढिला भयो।’
भेटका क्रममा आयोगले कार्यादेश थपिएको विषयमा कुराकानी गरेको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले बताए।
‘सरकारले हालै आयोगको कार्यादेश थपेको छ। त्यही सिलसिलामा उहाँहरूले आफ्ना कुरा राख्नुभएको हो,’ उनले भने।
बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिल सिन्हा र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की सहभागी थिए।
आयोगले प्रशासनिक तहका उच्च अधिकृतहरूको बयान लिइसकेको छ। प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका अधिकृतहरूको बयान लिइसकेको छ।
त्यस्तै अब आउँदो साता तत्कालीन गृहमन्त्री रमेश लेखकको र त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बयान लिन आयोगको तयारी छ।