नेकपा एमालेको जारी ११औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि अहिले केही बेरमा मतदान सुरू हुँदैछ।
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आ–आफ्नो प्यानल बनाएर चुनावी मैदानमा ओर्लिएका छन्।
मतदान सुरू हुनुअघि केही हेरफेरसहित आफ्नो समूहका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेर दुवै टिमले 'लिस्ट' बाँड्न थालिसकेका छन्। यस क्रममा पोखरेल समूहले बाँडेको अन्तिम लिस्टमा महासचिव शंकर पोखरेलको नाम केन्द्रीय सदस्यबाट हटेको छ।
अध्यक्ष ओलीसहित संस्थापन पक्षका दर्जनौं नेतालाई आफ्नो टिमको केन्द्रीय सदस्य उम्मेदवार सूचीमा अटाएको पोखरेल समूहले महासचिव शंकर पोखरेललाई भने 'बाइकट' गरेको देखिएको छ।
एमालेमा पदाधिकारीका उम्मेदवारले केन्द्रीय सदस्यमा पनि उम्मेदवारी दिनुपर्ने प्रावधान छ। पदाधिकारीमा उम्मेदवारी दिने नेताहरू पार्टीका महत्त्वपूर्ण नेता मानिने र उनीहरूको उपस्थिति केन्द्रीय कमिटीमा होस् भनेर एमालेले दोहोरो उम्मेदवारीको व्यवस्था गरेको हो।
महासचिव शंकर पोखरेल यसपटक पनि सोही पदमा ईश्वर पोखरेल समूहका नेता सुरेन्द्र पाण्डेसँग प्रतिस्पर्धा गर्दैछन्। अध्यक्ष ओलीसहित उनी पक्षका अरू धेरै नेताको नाम केन्द्रीय सदस्यको सूचीमा राखेको पोखरेल समूहले महासचिव पोखरेलको नाम भने राखेको छैन।
पोखरेल प्यानलको सूचीमा केपी शर्मा ओली, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङ, प्रदीप ज्ञवाली, यमलाल कँडेल, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, रामबहादुर थापा 'बादल', लेखराज भट्ट लगायतका नेतालाई केन्द्रीय सदस्यको उम्मेदवार बनाइएको छ।
संस्थापन इतर पक्षले उपाध्यक्ष गुरू बराल, महासचिव शंकर पोखरेल, विष्णु रिमाल, खगराज अधिकारी, पद्मा अर्याल, महेश बस्नेत, शेरधन राई, हिक्मत कार्कीसहित ओली पक्षबाट पदाधिकारीमा उठेकाहरूलाई पनि आफ्नो सूचीमा समावेश गरेको छैन।
यो समूहले महासचिव पोखरेल सहितका यी नेतालाई केन्द्रीय कमिटीमा पनि देख्न नचाहेको हो भन्ने सेतोपाटीको प्रश्नमा पोखरेल पक्षबाट पदाधिकारीको उम्मेदवार बनेका एक नेताले भने, 'नभई नहुनेहरूको नाम समावेश गरेकै छौं। उहाँहरूले त हाम्रो एकै जनाको नाम पनि आफ्नो सूचीमा राख्नुभएको छैन।'