नेकपा एमालेको जारी ११औं महाधिवेशनमा लामो समयदेखि ओली निकट रहेका काशीनाथ अधिकारीले यसपालि कुनै पदमा उम्मेदवारी दिएनन्।
पार्टीको अनुशासन आयोग प्रमुखमा उम्मेदवार प्रस्ताव गरिएका उनले विद्रोह गरेर उम्मेदवारी दर्ता नगरेको चर्चा थियो। तर खासमा निर्धारित समयभन्दा ढिला गरी मनोयनपत्र दर्ता गर्न गएकाले उम्मेदवारी दिनबाट छुटेको उनले बताएका छन्।
उनले सुरूमा उम्मेदवारी दिन मानेका थिएनन्। पछि सबैले कर गरेर मनाएपछि मनोनयनपत्र दर्ता गर्न गएका थिए।
तर त्यति बेलासम्म मनोयनपत्र दर्ता गर्ने समय घर्किसकेकाले उम्मेदवारी दर्ता नभएको उनले बताए।
'मैले रिटायरमेन्टको मनस्थिति बनाइसकेको थिएँ। साथीहरूले कर गरेकाले मात्र उम्मेदवारी दिन गएको थिएँ। तर ढिला गरी पुगेकाले मनोनयन दर्ता हुन सकेन,' उनले भने।
लामो समयदेखि ओली निकट रहेको उनको एमाले संगठनमा राम्रो प्रभाव छ। शालिन स्वभावको भनेर चिनिने अधिकारीले २०५१ सालमा चितवनबाट चुनाव जितेका थिए।