नेकपा एमालेको जारी एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि हुने मतदान अझै केही समय ढिला हुने भएको छ।
विद्युतीय मेसिनबाट हुने मतदानका लागि उम्मेदवारहरूको नामावली ढिला प्राप्त भएकाले इन्ट्री गराउन समय लागेको मेसिन उत्पादक कम्पनी रामलक्ष्मण इनोभेसन प्रालिका लक्ष्मण रिमालले जानकारी दिए।
'अहिले उम्मेदवारहरूको नामावली, फोटो लगायतका विवरण मेसिनमा 'इन्ट्री' गरेर परीक्षणको काम हुँदैछ,' उनले सेतोपाटीसँग भने, 'मतदान सुरू हुन अझै केही समय लाग्छ।'
कम्पनीलाई सोमबार राति मात्र उम्मेदवारहरूको नामावली प्राप्त भएको थियो। त्यस अनुसार विवरण इन्ट्री भइसकेको थियो। पार्टीको निर्वाचन आयोगले नामहरू वर्णानुक्रम अनुसार सच्याएर पठायो। त्यस आधारमा इन्ट्री भइसकेको डेटा मिलाउन समय लागेको हो।
मतदानका लागि सयवटा मेसिन राख्ने तयारी भइरहेको छ। एमालेको निर्वाचन आयोगले साँझ ८ बजे मतदान सुरु हुने सूचना प्रकाशित गरेको छ।
कम्पनीका अनुसार एक जनाले मतदान गर्न करिब ४० मिनेट लाग्नेछ। १९ पदाधिकारीका लागि ४१ जना उम्मेदवार छन् भने ३०१ केन्द्रीय सदस्यका लागि ६ सयभन्दा बढी उम्मेदवार छन्।