पाल्पामा भएको जिप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। थप आठ जना घाइते छन्।
पाल्पाका जिल्ला प्रहरी प्रवक्ता डिएसपी होमप्रकाश चौधरीका अनुसार दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।
मृतकको पहिचान खुल्न बाँकी छ। उनीहरू तीनै जना महिला रहेको भने खुलेको छ।
अरूणखोलाबाट पाल्पाको रामपुरतर्फ जाँदै गरेको लेकबेसी यातायातको लु १ ज ३९०८ नम्बरको जिप शुक्रबार दिउँसो मित्याल-अरूणखोला सडक अन्तर्गत निस्दी गाउँपालिका – ४ मित्याल चिउरेबासको घुम्ती नजिकबाट करिब ६०० मिटर तल खसेको थियो।
घाइते आठ जनालाई उद्धारपछि अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ। पाँच जनालाई मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा नवलपुर र तीन जनाको सिएमसी अस्पताल चितवनमा उपचार भइरहेको डिएसपी चौधरीले जानकारी दिए।
दुर्घटनाको कारण खुलेको छैन। केही यात्रु छतबाट हाम फालेका थिए। उनीहरूले उकालोमा गाडी रोकेर यात्रु ओराल्ने क्रममा गाडी नै भीरबाट खसेको बताएका छन्।
प्रहरीका अनुसार मृतक तीनै जना महिला हुन्। उनीहरूको सनाखत हुन बाँकी छ। घाइतेमध्ये पाँच जनाको मध्यबिन्दु प्रादेशिक अस्पताल डन्डा नवलपुर र तीन जनाको सिएमकी चितवनमा उपचार भइरहेको छ।