थाइल्यान्डका प्रधानमन्त्री अनुपिन चार्न्भिराकुलले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेका छन्।
पछिल्लो एक सातादेखि कम्बोडियासँग सीमामा भइरहेको झडपपछि उत्पन्न राजनीतिक अस्थिरताबीच उनले संसद विघटन गरेका हुन्।
अन्तर्राष्ट्रिय समाचार संस्था 'बिबिसी' का अनुसार उनले ४५ देखि ६० दिनभित्र निर्वाचन गर्ने बताएका छन्।
शुक्रबार सार्वजनिक घोषणामा प्रधानमन्त्रीले आफ्नो अल्पमतको सरकारले तीन महिनाअघि पदभार सम्हालेयता सीमावर्ति क्षेत्रमा थाम्न नसकिने चुनौती उत्पन्न भएको भन्दै संसद विघटन घोषणा गरेका हुन्।
'उचित समाधान भनेको संसद विघटन गर्नु हो… जसले राजनीतिक शक्तिलाई जनताकै हातमा फर्काउने बाटो खोल्छ,' उनले भने।
व्यावसायिक पृष्ठभूमिका अनुपिन सन् २०२३ अगस्टमा थाइल्यान्डका प्रधानमन्त्री भएका हुन्।
सेप्टेम्बरमा पदमा आएपछि उनले जनवरी अन्त्यसम्म संसद विघटन गर्ने बताएका थिए। अहिले अविश्वास प्रस्ताव सामना गर्दै उनले निर्वाचनलाई सोचेभन्दा अगाडि ल्याएका हुन्।
गत महिना दक्षिणी थाइल्यान्डमा आएको भीषण बाढीपछि पीडितहरूको व्यवस्थापन कमजोर भएको भन्दै यो सरकारले तीव्र आलोचना खेप्नुपरेको थियो। उक्त बाढीले कम्तीमा १७६ जनाको मृत्यु भएको थियो।
संसद विघटनको घोषणा भने कम्बोडियासँगको पछिल्लो झडपबीच आएको हो। यो झडपमा कम्तिमा २० जनाको ज्यान गइसकेको छ भने लाखौं विस्थापित भएका छन्।
थाइल्यान्ड गत एक वर्षदेखि राजनीतिक अस्थिरता छ, जहाँ यसअघि दुई प्रधानमन्त्रीलाई अदालतले पदच्यूत गरिसकेको छ।