अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान (एमबिएस) लाई भव्य स्वागत गरे।
मंगलबार ह्वाइट हाउस पुगेका राजकुमार एमबिएसलाई ट्रम्पले रेड कार्पेटमा स्वागत गरेका थिए। उनले साउदीलाई शान्ति र समृद्धिको मामिलामा अमेरिकाको असल साझेदार मुलुकका रूपमा चित्रण गरे।
त्यस्तै मध्यपूर्वमा शान्ति स्थापनाका लागि साउदीले खेलेको भूमिकाको पनि प्रशंसा गरे।
गत मे महिनामा मध्यपूर्वको भ्रमण क्रममा ट्रम्प साउदी अरब पनि पुगेका थिए। त्यस क्रममा साउदीले ६ अर्ब डलर अमेरिकामा लगानी गर्ने सहमति गरेको थियो।
यही साता मात्रै ट्रम्पले साउदी अरबलाई ठूलो संख्यामा एफ-३५ फाइटर जेट बिक्री गर्न सहमति दिएका थिए।
चीनसँग पनि राम्रो सम्बन्ध रहेको साउदीलाई एफ-३५ फाइटर जेट बिक्री गर्दा त्यसको प्रविधि चीनले चोर्न सक्ने खतरा हुने भएकाले बिक्री गर्न नहुने कुटनीतिज्ञहरूको भनाइ थियो। त्यसका बाबजुद पनि ट्रम्पले साउदीलाई फाइटर जेट बेच्ने बताएका छन्।
एमबिएससँग भेटवार्तापछि ट्रम्पले ह्वाइट हाउसमै रात्रिभोज दिए।
रात्रिभोजमा ट्रम्पले अमेरिकाका व्यवसायीदेखि साउदी अरबसँग राम्रो सम्बन्ध भएकाहरूलाई निम्ता दिएका थिए।
विश्वप्रसिद्ध फुटबलर क्रिस्टियानो रोनाल्डो पनि रात्रिभोजमा सहभागी थिए।
उनले रोनाल्डोको प्रशंसा पनि गरे। रात्रिभोजका ट्रम्पले सम्बोधनकै क्रममा पनि रोनाल्डोको नाम लिए। त्यसपछि रोनाल्डोले हात उठाएका थिए।
'मेरो छोरा ब्यारोन रोनाल्डोको ठूलो फ्यान हो। ब्यारोनले अब रोनाल्डोसँग भेट्ने छ। त्यसपछि उसले आफ्नो बुबालाई अलि बढी सम्मान गर्ला कि!,' ट्रम्पले भनेका थिए।
उनले रोनाल्डोको उपस्थिति सम्मानको विषय भएको पनि बताए।
रोनाल्डो ट्रम्पका समर्थक हुन्।
केहीअघि उनले एक अन्तर्वार्तामा ट्रम्पलाई विश्व परिवर्तन गर्न सक्ने नेता भनेका थिए। साथै ट्रम्पसँग भेट्न र कुरा गर्न चाहेको पनि बताएका थिए।
साउदी प्रो–लिगको क्लब अल–नस्रका लागि खेलिरहेका रोनाल्डो विश्वकै उच्च पारिश्रमिक पाउने खेलाडी मानिन्छन्।
मंगलबारको डिनरमा उनकै उपस्थिति साउदी सरकारले खेलकुदमा गरेको विशाल लगानीसँग जोडेर हेरिएको छ।
रात्रिभोजमा विश्व खेलकुद, प्रविधि र व्यवसाय क्षेत्रका ठूला हस्तीहरूको उल्लेखनीय उपस्थिति थियो।
सहभागी अधिकांश व्यक्तिहरूका साउदी अरबसँग निकट व्यापारिक तथा रणनीतिक सम्बन्ध रहेका कारण यो जमघटले वाशिङ्टन–रियाध सम्बन्धको बदलिँदो गतिलाई पनि संकेत गरेको विश्लेषण गरिएको छ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनो पनि कार्यक्रममा सहभागी भए। २०३४ को विश्वकप साउदी अरबलाई दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका उनले ट्रम्पसँग पनि पछिल्ला वर्षमा निकटता बढाएका छन्।
२०२६ को विश्वकप संयुक्त राज्य अमेरिकाले सह–आयोजन गर्ने तयारीकै बीच उनी व्हाइट हाउस पुगेका हुन्।
प्रविधि क्षेत्रमा, विश्वका प्रमुख टेक कार्यकारीहरू ट्रम्पको रात्रिभोजमा भेला भए।
इलन मस्क केही वर्षदेखि चिसिएको साउदी नेतृत्वसँगको सम्बन्ध व्यवहारिक तहमा फेरि नजिकिँदै गएपछि यसपटक डिनरमा सहभागी भएका थिए।
मस्कका कम्पनीहरू एक्स र एक्सएआईमा साउदी लगानी प्रवेश गरिसकेको छ।
टिम कुक (एप्पल), माइकल डेल (डेल टेक्नोलोजिज), जेनसन हुआङ (एनभिडिया) र लिसा सु (एएमडी) पनि रात्रिभोजमा सहभागी थिए।
यी कम्पनीहरूको साउदी बजारमा बढ्दो चासो तथा एआई डेटा–स्यान्टरदेखि उपभोक्ता बजारसम्मका साझेदारीहरूलाई यसले झनै उजागर गरेको छ।
अमेरिकी व्यवसायी तथा उद्योगपतिहरूको उपस्थिति पनि व्यापक थियो।
डेभिड एलिसन (प्यारामाउन्ट ग्लोबल), माइक वर्थ (सेभ्रोन), जेन फ्रेजर (सिटी), स्टेफन स्क्वार्ट्जम्यान (ब्ल्याकस्टोन), ब्रेनडन बेक्टेल (बेक्टेल), मेरी बार्रा (जेनरल मोटर्स) र विलियम क्ले फोर्ड जूनियर (फोर्ड मोटर) सहितका नामहरू उल्लेख्य थिए।
यी सबै कम्पनीहरूले साउदीको विशाल उर्जा, पूर्वाधार, लगानी तथा गाडी बजारमा सक्रिय व्यापारिक हित राखेका छन्।
भोजमा ट्रम्पका परिवार पनि उपस्थित थियो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा तयार पारिएको)