फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि मतदाताहरूले उत्साहजक रूपमा नाम दर्ता गराइरहेका छन्।
निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो तथ्यांक अनुसार कात्तिक ३० गते यता मात्र ६ लाख २० हजार मतदाताले नाम दर्ता गराएका छन्।
नयाँ दर्ता गराउने सबैको नाम मतदाता नामावलीमा भने समेटिने छैन। १६ वर्ष उमेर पुगेका नागरिकले मतदाता नामावलीमा नाम लेखाउन पाउँछन्। मतदानमा भने १८ वर्ष उमेर पुगेका व्यक्तिले मात्र भाग लिन पाउँछन्।
आयोगका अनुसार अहिले नाम दर्ता गराए पनि फागुन २० गतेसम्म १८ वर्ष नपुग्ने व्यक्तिको नाम मतदाता नामावलीमा हुने छैन।
आयोगले कात्तिक २७ गते राष्ट्रिय परिचयपत्रलाई मतदाता नामावलीसँग लिंक गरेपछि नाम दर्ता गर्नेको संख्या उल्लेख वृद्धि भएको जनाएको छ।
निर्वाचन कार्यालय पुगेर मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या ३ लाख ११ हजार ४ सय १५ छ भने राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा जोडिनेको संख्या ३ लाख ८ हजार ५ सय ८५ छ।
अर्थात्, राष्ट्रिय परिचयपत्र लिंक गरिएको ५ दिनमै ३ लाखभन्दा धेरै मतदाताले नामावलीमा नाम दर्ता गराएका हुन्।
२०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता थिए। अहिलेसम्म संकलन भएका मतदातालाई आधार मान्ने हो भने यो निर्वाचनमा झन्डै १ करोड ८७ लाख ८८ हजार २ सय ३० मतदाता पुगेका छन्।* तर यो संख्याबाट फागुन २० गते १८ वर्ष नपुग्ने मतदाताको संख्या घट्नेछ।
अहिले प्राप्त तथ्यांकलाई आधार मान्ने हो भने २०७९ बाट २०८२ सालमा आउँदा कम्तिमा १० लाख मतदाता थपिने देखिएका छन्।
सामान्यतया नेपालमा पाँच वर्षको अन्तरालमा निर्वाचन हुने गरेको छ। २०७४ सालमा १ करोड ५४ लाख २७ हजार ७ सय ३१ मतदाता थिए। यो २०७९ मा बढेर १ करोड ७९ लाख ८८ हजार ५ सय ७० पुगेको थियो। अर्थात्, पाँच वर्ष अन्तरालमा २५ लाख ६० हजार ८ सय ३९ मतदाता बढेका थिए।
त्यसअघि २०७० सालमा १ करोड २१ लाख ४७ हजार ८ सय ६५ मतदाता थिए। यो २०७४ मा बढेर १ करोड ५४ लाख २७ हजार ७ सय ३१ पुगेको थियो। अर्थात्, पाँच वर्ष अन्तरालमा ३२ लाख ७९ हजार ८ सय ६६ मतदाता बढेका थिए।
निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि मंसिर ५ सम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सबैलाई आग्रह गरेको छ। मंसिर ५ गतेपछि भने मतदाता नामावलीमा नाम दर्ता हुने छैन।
आयोगले त्यसपछि मतदाता नामावलीमा नाम भएकाहरूमाथि दाबी विरोधको समय दिनेछ। जिल्ला निर्वाचन कार्यालयमा यस्तो दाबी विरोध गर्न पाइनेछ।
दाबी विरोध र मतदाता नामावलीमा नाम दोहोरिएको छ कि छैन भनेर जाँच गरेपछि आयोगले अन्तिम मतदाता नामावली र संख्या सार्वजनिक गर्नेछ।
* तथ्यांक गलत भएकोमा सच्याइएको