वंगलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनाका छोरा साजिब वाजेदले आफ्नी आमालाई मृत्युदण्डको फैसला हुन सक्ने बताएका छन्।
हसिना विरूद्धको मानवता विरूद्धको अपराध कसुरमा ढाका अदालतले आज फैसला सुनाउँदैछ।
हसिनाका छोरा वाजेद अमेरिका बस्छन्।
आइतबार अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँग कुरा गर्दै वाजेदले फैसला के हुन्छ भन्ने कुरा अगाडि नै आकलन गर्न सकिने बताएका हुन्।
'के फैसला हुँदैछ भन्ने हामीलाई थाहा छ। उनीहरूले मेरी आमालाई दोषी ठहराउनेछन् र सायद मृत्यु दण्डको सजाय सुनाउनेछन्,' उनले भने।
तर आफ्नी आमा भारतमा सुरक्षित रहेको उनले बताएका छन्।
सन् २०२४ को अगस्टमा बंगलादेश छाडेर भागेदेखि हसिना भारतको नयाँ दिल्लीमा निर्वासित जीवन बिताइरहेकी छन्।
'उनीहरूले मेरी आमालाई के गर्न सक्छन् र? मेरी आमा भारतमा सुरक्षित हुनुहुन्छ। भारतले उहाँलाई राष्ट्राध्यक्षलाई जस्तै पूर्ण सुरक्षा दिइरहेको छ,' वाजेदले रोयटर्ससँग भनेका छन्।
उनले वंगलादेशमा अवामी लिगको सरकार नआएसम्म फैसला पुनरवलोकनमा नजाने पनि बताएका छन्।
यद्यपि नोबेल पुरस्कार विजेता मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले हसिनाको पार्टी अवामी लिगलाई प्रतिबन्ध लगाएको छ।
अन्तरिम सरकारले आगामी फेब्रुअरीमा चुनाव गर्ने बताएको छ। यद्यपि मिति भने तय भएको छैन।
वाजेदले अवामी लिगमाथिको प्रतिबन्ध नहटे चुनावै हुन नदिने पनि बताएका छन्।
सरकारले प्रतिबन्ध कायमै राखे बंगलादेशमा जारी विरोध फेरि हिंसा भड्किन सक्ने पनि चेतावनी दिएका छन्।
'हामी अवामी लिग बिनाको चुनाव हुन दिने छैनौं,' वाजेदले भने, 'हाम्रो विरोध प्रदर्शन झन् बलियो हुँदै जानेछ। अन्तर्राष्ट्रिय समुदायले केही नगरे यी चुनावअघि बंगलादेशमा हिंसा हुने सम्भावना छ।'
यसैबीच, अन्तरिम सरकारका प्रवक्ताले अवामी लिगमाथिको प्रतिबन्ध हटाउने कुनै योजना नभएको बताएका छन्।
'अन्तरिम सरकारले हिंसा भड्काउने, विशेष गरी निर्वासित राजनीतिक व्यक्तित्वहरूबाट आउने, कुनै पनि गतिविधिलाई गैरजिम्मेवारपूर्ण र निन्दनीय' मान्दछ,' प्रवक्ताले भने।
उनले अवामी लिगले आफ्नो शासनकालमा भएका मानवता विरुद्धका अपराधप्रति कुनै पश्चात्ताप नदेखाएसम्म वार्ताको कुनै ठाउँ नभएको स्पष्ट पारे।
अदालतको फैसलाको पूर्वसन्ध्यामा ढाकामा राजनीतिक हिंसा बढेको छ।
गत साता विस्फोट र आगजनीका थुप्रै घटना भएका थिए। नोभेम्बर १२ मा मात्रै ३२ वटा विस्फोटका घटना र दर्जनौं बसमा आगजनी गरिएको थियो।
अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ भने सार्वजनिक भेलाहरूमा प्रतिबन्ध लगाइएको छ।
संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनअनुसार गत वर्ष जुलाई १५ देखि अगस्ट ५ सम्म भएको सरकार विरोधी प्रदर्शनका क्रममा १ हजार ४०० जना मारिएका थिए। प्रदर्शनमा हजारौं घाइते भएका थिए। जसमध्ये अधिकांश सुरक्षा बलको गोलीबाट घाइते भएका थिए।
यो सन् १९७१ को स्वतन्त्रता संग्रामपछिको बंगलादेशको सबैभन्दा खराब राजनीतिक हिंसा थियो।
प्रदर्शन तीव्र बनेपछि हसिना बंगलादेशबाट भागेर भारतको शरणमा पुगेकी थिइन्। हसिनालाई शरण दिएपछि भारत र वंगलादेशबीचको सम्बन्ध चिसिएको छ।