नेपाल प्रहरीको ३३ औं आइजिपीमा दानबहादुर कार्की नियुक्त भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले एआइजी कार्कीलाई आइजिपीमा नियुक्त गरेको हो। कार्की हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुख छन्।
आइजिपी चन्द्रकुबेर खापुङले कात्तिक २६ गते साँझ अवकासमा गएसँगै कार्कीले दर्ज्याह्नी चिह्न पाउने छन्।
आइजिपी बन्नका लागि विशेषगरी चार जना दौडमा थिए।
कार्कीसँगै एआइजीहरू राजन अधिकारी, मनोज केसी र सिद्धिविक्रम शाह पनि यस दौडमा थिए।
कार्कीपछि प्रमुख प्रतिस्पर्धीको रूपमा केसी देखिएका थिए। अन्तिममा कार्की नियुक्त भएका हुन्।
को हुन् दानबहादुर कार्की?
कार्की २०२९ साउन १५ गते गुल्मीको मालिका गाउँपालिका घमिरमा जन्मिएका थिए।
उनले २०५४ चैत १८ गते प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका थिए।
प्रहरी निरीक्षकबाट प्रहरी नायब उपरीक्षकमा २०६६ मंसिर २६ पदोन्नति भएका थिए।
त्यस्तै, २०७४ साउन १९ गते डिएसपीबाट एसपीमा बढुवा भएका थिए।
एसपीबाट २०७९ साउन ३ गते उनी एसएसपीमा बढुवा भएका हुन्।
एसएसपी हुँदा उनले जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भएका थिए। त्यतिबेला नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान समेत भएको थियो।
उनकै कार्यकालमा अनुसन्धान भई मुद्दा दर्ता भएको थियो। त्यही बेला काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी मनोज केसी थिए। कार्यालयमा रोकिएको भुटानी शर्णार्थीको फाइल तत्कालीन समयमा केसीले खोलेपछि अनुसन्धान सुरू भएको थियो।
त्यसपछि २०८१ जेठ १३ गते कार्की डिआइजीमा बढुवा भएका थिए। डिआइजीमा बढुवा भएपछि कार्कीलाई महानिरीक्षकको सचिवालयमा राखिएको थियो। उनी केन्द्रीय प्रवक्ता समेत भएका थिए।
त्यस्तै उनी २०८२ वैशाख ११ गते एआइजीमा बढुवा भएका थिए। उनी एसएसपीदेखि पहिलो वरीयतामा बढुवा भएका अधिकृत हुन्।
कार्कीले मानविकी तथा समाजशास्त्र, शिक्षा शास्त्र र कानून संकाय विषयमा स्नातक तह अध्ययन गरेका छन्।
त्यस्तै राजनीति शास्त्रमा उनले स्नातकोत्तर गरेका हुन्।
उनी युएन मिसनका लागि पूर्वी टिमोरमा दुई पटक गरी तीन वर्ष र हाइटीमा एक पटक गरी १८ महिना बसेका छन्।
टिमोरमा बस्दा उनले संयुक्त राष्ट्र संघ पद पाएका छन्। त्यस्तै तीन पटक प्रशंसापत्र प्राप्त गरेका थिए।
नेपाल सरकारले उनलाई प्रबल जनसेवा श्री पदकबाट पनि पुरस्कृत गरेको छ।
नेपाल प्रहरीले १४ पटक अभिलेखमा जनिने गर नगद पुरस्कार पनि दिएको छ।