नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले चुनावअघि कि पछि महाधिवेशन गर्ने भनेर झगडा गरी बस्न नहुने बताएका छन्।
विशेष महाधिवेशन गर्न नहुनेमा जोड दिएका उनले नियमित महाधिवेशन गर्नुपर्ने बताए।
‘चुनावअघि र पछि महाधिवेशन भनेर झगडा गरेर नबसौं, मिलाऔं। नियमित महाधिवेशन गरौं,’ आज बसेको केन्द्रीय समिति बैठकमा बोल्दै उनले भने, ‘मिलन विन्दु के हो भनेर गयो भने अधिवेशन हुन्छ। जेनजीले ४८ घन्टामा परिवर्तन गरे भने कांग्रेसले किन नसक्ने?’
उनले पार्टीलाई एक ढिक्का बनाएर अधिवेशनमा जानुपर्ने बताए। केन्द्रीय समितिमा धारणा राखे पनि कसैले नसुनेको पनि उनको गुनासो थियो।
साथै उनले पार्टीका नेताहरूलाई सामाजिक सञ्जालमा अपडेट हुन पनि आग्रह गरेका थिए।