विघटित प्रतिनिधि सभा सदस्य योगेन्द्र मण्डलले पनि राजनीतिक दल दर्ता गर्ने भएका छन्।
निर्वाचन आयोगमा दल दर्ताको तयारी चलिरहेको र सम्भवतः बुधबार आयोग जाने तयारी गरिएको मण्डलले जानकारी दिए।
‘राष्ट्रिय ऊर्जाशील पार्टी दर्ताको तयारी चलिरहेको छ, सम्भवतः भोलि निर्वाचन आयोग जान्छौं,’ मण्डलले मंगलबार सेतोपाटीसँग भने, ‘मैले मात्रै खोल्ने होइन, यसमा एउटा ठूलो टिम छ। नवयुवाहरू बढी समेटिनुभएको छ।’
२०७९ को निर्वाचनमा मोरङको निर्वाचन क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिएर प्रतिनिधि सभामा जितेका मण्डल एमाले पृष्ठभूमिका व्यक्ति हुन्।
झण्डै एक वर्षअघि उनले मोरङ ५ मा आफू अब कुन दलमा जाँदा राम्रो हुन्छ भनेर मतदातामाझ मत सर्भेक्षण समेत गराएका थिए। त्यसबेला धेरैजसोले उनलाई जनता समाजवादी पार्टीमा जान भनेर सुझाव दिएका थिए।
यद्यपि जसपा पनि विभाजित भएपछि उनी आफ्नै पूर्व पार्टी एमालेसँग नजिक भएका थिए। यद्यपि जेनजी आन्दोलनपछि एमाले रक्षात्मक बनेको भन्दै मण्डलले आफै दल खोल्ने निर्णय लिन लागेका हुन्।
‘अहिलेको संविधानका आधारभूत मान्यताहरूमा आधारित रहेको दल हुनेछ,’ मण्डलले भने ‘यद्यपि शासकीय स्वरूप कस्तो हुने, कसरी अघि बढ्ने भन्ने कुरा दल दर्तापछि हुने राष्ट्रिय भेलाले तय गर्नेछ।’
२०७९ को चुनावताका एमालेबाट चुनाव लड्ने सबै चुनावी तयारी पूरा गरिसकेका मण्डललाई अन्तिममा एमालेले टिकट दिएको थिएन।
एमाले र जसपाको एक्कासि बनेको गठबन्धनका कारण मोरङ ५ एमालेले जसपाका लागि छाडिदियो। मण्डलले स्वतन्त्र उम्मेदवारी दिए।
पार्टीबाट विद्रोह गर्ने उनको कदमलाई मोरङ ५ का मतदाताले अनुमोदन गरिदिएका थिए।
तत्कालीन सत्ता गठबन्धनका माओवादी उम्मेदवार शिवकुमार मण्डल र एमाले–जसपा गठबन्धनका उम्मेद्वार राजकुमार यादवलाई पछि पार्दै उनले चुनाव जितेका थिए।
मण्डलले त्यसबेला उनले २१ हजार ८ सय २० मत पाए भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रका शिवकुमार मण्डलले १७ हजार ४ सय ८६ मत पाएका थिए।
मोरङ धनपालथान गाउँपालिका २ का ५४ वर्षीय मण्डल चुनावको दुई वर्षअघिसम्म राजनीतिक रूपमा सक्रिय थिएनन्।
जीवन विकास समाज नामक चर्चित लघुवित्त संस्थाका संस्थापक अध्यक्ष उनी सोही संस्थामार्फत महिला समूह बनाएर सामाजिक काममा सक्रिय थिए।
२६ वर्षभन्दा लामो समयदेखि सोही संस्थामार्फत मोरङ ५ सहित देशका २७ जिल्लामा पुगिरहेका उनलाई एमाले नेताहरुले संसदमा ठाउँ दिने वचन दिएर पार्टीमा भित्र्याएका थिए।