नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो हजुरबुवाले १२५ वर्षअघि बनाएको घरसमेत प्रदर्शनकारीहरूले जलाइदिएको बताएका छन्।
९६ वर्षीय आफ्ना बुवा बस्ने घरमा समेत आगजनी गरिएको उनको भनाइ थियो।
ओलीले आज काठमाडौंमा सम्पादकहरूसँग अन्तर्क्रिया गर्दै भने, ‘मेरो ९६ वर्षीय बुवा बस्ने घर जलाए। मेरा हजुरबाले १२५ वर्षअघि बनाएको घर जलाए। मैले २३ वर्षअघि बेचेको घर जलाए।’
भदौ २४ गते जेनजी पुस्ताको आन्दोलनमा ओलीको बालकोट, झापा र तेह्रथुममा रहेका घरमा आगजनी भएको थियो।
‘म झापा जाँदा बस्ने घर थियो त्यो,’ उनले भने।
साथै उनले देशभित्र आफूले हिँडडुल गर्न किन नपाउने भनेर प्रश्न गरेका छन्। साथै सुरक्षा खतरा हुँदाहुँदै सरकारले केही सुरक्षाकर्मी फिर्ता बोलाएको उनले बताए।
‘ममाथि सुरक्षा खतरा छ तर सरकार मेरो सुरक्षा फिर्ता लिन्छ,’ उनले भने, ‘मेयर र वडाध्यक्षको सुरक्षा बढाउँछ। आफ्नो गिरोहका मानिसको सुरक्षा बढाउँछ। यस्तो भयो भने केपी ओली प्रधानमन्त्री बन्ने सम्भावना फेरि बढ्छ।’