राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभाको उम्मेदवारको उमेर हद घटाउने एजेण्डा राखेका छन्।
शुक्रबार शीतल निवासमा बसेको सर्वदलीय बैठकमा राष्ट्रपति र प्रधानमन्त्री समक्ष ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभाको उम्मेदवार बन्नका लागि तोकिएको न्यूनतम उमेर २५ वर्ष हटाएर १८ वर्ष कायम गर्न माग गरेका हुन्।
उनले 'भोट हाल्न सक्ने नागरिक देशको राज्यसत्ता सम्हाल्न पनि सक्षम भएको तर्क प्रस्तुत गरेका थिए।
उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रणाली लागू गर्न राष्ट्रिय बहसको थालनी गर्नुपर्ने र संवैधानिक सुधारको पहल गर्नुपर्ने माग राखेका छन्।
राज्यको खर्च कटौती र छिटो सेवा प्रवाहका लागि अहिलेको प्रदेश संरचना खारेजी गर्दै संघीयतालाई केन्द्र र बलियो स्थानीय तहमा मात्र सीमित गर्न अध्ययन र सहमति गर्नुपर्ने बताएका छन्।
यस्तै, स्थानीय स्तरमा विकास र सेवा प्रवाहलाई राजनीतिकरणबाट मुक्त गर्नका लागि गैर दलीय स्थानीय तहको अवधारणा लागू गर्नुपर्नेमा जोड दिएका छन्।
संवैधानिक निकायमा राजनीतिक नियुक्ति बन्द संवैधानिक निकायहरूको निष्पक्षता र मर्यादा कायम गर्न राजनीतिक प्रभावमुक्त, योग्यताका आधारमा मात्र नियुक्ति गर्ने प्रणालीको विकास गर्नुपर्ने माग राखेका छन्।
उनले भ्रष्टाचार नियन्त्रणका लागि नयाँ कानुन: भ्रष्टाचारलाई जरैदेखि निर्मूल गर्न र दोषीलाई कठोरतम कारबाही गर्न सक्ने गरी सशक्त र प्रभावकारी नयाँ कानुनको तत्काल निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
त्यसैगरी अनलाइन मतदान प्रणालीको व्यवस्था तत्काल मिलाउन माग राखेका छन् भने अभिभावकीय राष्ट्रिय संस्था (राजसंस्था) को स्थापना गर्नुपर्नेमा जोड दिएका छन्।