निर्वाचन आयोगले पछिल्लो केही दिनयता दैनिक ५ हजार हाराहारीले मतदाता नामावलीमा नाम दर्ता गरिरहेको जनाएको छ।
आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलनको काम गरिरहेको छ। निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावलीमा नाम संकलन गर्न रोक लगाउने कानुनी व्यवस्थालाई सरकारले अध्यादेश मार्फत् हटाइदिएको थियो।
यो व्यवस्था हटेसँगै देशैभरका निर्वाचन कार्यालयहरूले मतदाता नामावलीमा नाम दर्ता प्रक्रिया अघि बढाएका थिए। त्यस्तै, आयोगले निर्वाचन आयोगको वेबसाइटबाट पनि प्रि–रजिस्ट्रेसन भर्न सकिने व्यवस्था गरेको छ। तर यस्तो प्रि–रजिस्ट्रेसन प्रणालीबाट आवेदन भरी प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा गएर बायोमेट्रिक दिनुपर्नेछ।
‘बिहीबार एकैदिन ५४ सय जना मतदाताको नाम दर्ता भयो,’ आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सेतोपाटीसँग भने, ‘कहिले ५५ सय त कहिले ४५ सय यसैगरी नाम दर्ता भइरहेका छन्।’
आयोगले १६ वर्ष उमेर पूरा भएका व्यक्तिहरूको मतदाता नामावलीमा नाम संकलन गरिरहेको छ। तर मतदाता नामावलीमा भने फागुन २० गते १८ वर्ष उमेर पूरा भएका व्यक्तिहरूको मात्र नाम आउनेछ। निर्वाचनमा मतदान गर्न १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने संवैधानिक व्यवस्था छ।
निर्वाचन आयोगको तथ्यांकअनुसार २०८१ चैत ३१ सम्म १ करोड ८१ लाख ४८ हजार ६ सय ५४ मतदाता छन्। जुन अघिल्लो प्रतिनिधिसभा निर्वाचनको भन्दा १ लाख ६० हजार ५४ ले बढी हो। २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता थिए।
अब नयाँ नामावली दर्ता सम्पन्न भएपछि निर्वाचन आयोगले फागुन २१ गते निर्वाचनका लागि मतदाताको अद्यावधिक विवरण सार्वजनिक गर्नेछ।