जेनजी आन्दोलनका सातै प्रदेशका संयोजकहरूले विज्ञप्ति जारी गरी पुराना दलका स्वार्थअनुसार राज्यका निकायमा नियुक्ति भएसम्म भ्रष्टाचारको अन्त्य र सुशासन सुनिश्चित नहुने बताएको छ।
मंगलबार संयोजकहरूले संयुक्त विज्ञप्तिमार्फत् जेनजी आन्दोलनको म्यान्डेट नै त्यही रहेको बताएका हुन्।
‘हामी जेनजी विद्रोहमा भएको राज्यदमन, बर्बरतापूर्ण हत्या र ज्यादतीको उच्चस्तरीय जाँचबुझ आयोगमार्फत् निष्पक्ष छानबिन चाहन्छौं साथै छानबिन प्रतिवेदनको अविलम्ब सार्वजनिक गर्दै दोषीमाथि कडाभन्दा कडा कारबाही चाहन्छौं। पुराना दलहरूका स्वार्थअनुरूप राज्यका निकायमा भएका नियुक्ति र सिण्डिकेट कायम रहेसम्म भ्रष्टाचारको अन्त्य र सुशासन सुनिश्चित हुनसक्दैन भन्ने जेनजी विद्रोहको म्यान्डेट हो,’ विज्ञप्तिमा भनिएको छ।
कोशी प्रदेशका संयोजक उपार्जुन चाम्लिङ, सहसंयोजक लक्ष्मी घिमिरे, मधेसका संयोजक शिव यादव, बागमती प्रदेशका अफ्साना बानु, गण्डकी प्रदेशका प्रदीप पाण्डे, लुम्बिनी प्रदेशका आदित्य आचार्य, कर्णालीका सुप्रिया शाही र सुदूरपश्चिमका खेराज साउदले संयुक्त वक्तव्य जारी गरेका हुन्। यी संयोजकहरू असोज ३ गते बालुवाटारमा सुदन गुरूङसहित उपस्थित भएको बैठकले तोकेको हो।
उनीहरूले जेनजी आन्दोलनले सरकार ढल्नुमात्रै उद्देश्य नभई भ्रष्टाचार मुक्त शासनको व्यवस्था गर्नु भएको बताएका छन्।
विभिन्न समूहले मुलुकलाई अस्थिरता, अराजकता र हिंसात्मक गतिविधितर्फ धकेलेर थप संकट उत्पन्न गराउने मोडमा रहेको पनि उनीहरूको धारणा छ।
‘अहिले विभिन्न स्वार्थ समूह आफ्नो राजनीतिक रोटी सेक्न मुलुकलाई अस्थिरता, अराजकता र हिंसात्मक गतिविधितर्फ धकेली थप संकटको मोडमा पुर्याउन तल्लीन छन्। त्यस्तो स्थितिविरूद्ध दृढतापूर्वक सामना गर्नुको विकल्प छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी व्यवस्था र संविधान विरोधी होइनौं तर संविधानमा भएका त्रुटि र कमीकमजोरीहरूलाई संशोधन गर्दै मुलुकलाई दीर्घकालीन समाधान दिने कार्य हाम्रो राजनीतिक अभिभारा हो। संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप उन्नत बनाउँदै देशमा विद्यमान विभेद र असमानतालाई सम्बोधन गर्नु हाम्रो साझा दायित्व हो। यसका लागि हामी कुनै पनि सम्झौता नगरी दृढतापूर्वक लड्नेछौं।’
कसरी तोकियो प्रदेशगत संयोजक?
जेनजी आन्दोलनको प्रदर्शनपछि छुट्टाछुट्टै समूह बन्दै गएका छन्।
त्यसैबीच असोज ३ गते बालुवाटारमा आन्दोलनमा सहभागी विभिन्न प्रतिनिधिहरू भेला भएका थिए। त्यहाँ हामी नेपालका संस्थापक सुदन गुरूङ लगायत अन्य जेनजी प्रतिनिधिहरू सहभागी भए।
उक्त बैठकले सातै प्रदेशका संयोजक पनि तोक्यो। उक्त घोषणा सुदन गुरूङले गरेका थिए।
‘संयोजकमध्ये वार्ता गर्ने साथीहरू पनि हुनुहुन्छ। मसहित चार जना थियौं। त्यसमध्ये पनि एक जना छानेर वार्तामा सहभागी हुनुभयो। सुदन गुरूङसहित बसेको बैठकले छानेको प्रतिनिधिहरू हौं,’ कोशीका संयोजक चाम्लिङले भने।
उनले प्रदेशगत संरचना अनुसार अन्य जेनजीका प्रतिनिधि नबनेको पनि बताए। जिल्लामा रहेका जेनजी प्रतिनिधिहरूसँग पनि सहकार्य भइरहेको उनले बताए।
‘धेरै जना जिल्लाका साथीहरू जोडिन थाल्नुभएको छ। दुई चार जिल्ला बाहेकामा जिम्मेवारी तोक्ने काम भइसकेको छ,’ उनले भने।

