नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले भ्रष्टाचार नगर्नु नै अपराध भएको बताएका छन्। आफूलाई भेट्न गुण्डु पुगेका पार्टी सम्बद्ध पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालका प्रतिनिधि मण्डलसँग कुराकानीको क्रममा उनले भ्रष्टाचार नगर्नु नै अपराध भएको र आफूमाथि प्रहारको निशाना बनाइएको बताएका हुन्।
‘मलाई राम्ररी थाहा छ अहिले ममाथि प्रहारको निशाना केन्द्रित गरिएको छ। म यसो केलाउँछु, मेरो अपराध के हो त? भ्रष्टाचार नगर्नु अपराध हो। मैले भ्रष्टाचार गरिनँ। गर्दिनँ। गरेको छैन। यही अपराध हो मेरो,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले भने।
आफूले विकासको खाका कोरेर अगाडि बढाउनु, पूर्वाधार बनाउने कुराको नेतृत्व लिनु नै अपराध हो? भनेर उनले प्रश्न गरेका थिए।
‘मैले नेतृत्व गर्ने कुरामा नेतृत्व गरेँ। यो अपराध हो? समाजमा शान्ति–सुव्यवस्था कायम गर्न, हिंसाको वकालत गरिरहेका शक्तिहरूलाई, या पृथकतावादको वकालत गरिरहेका शक्तिहरूलाई हिंसा छोडाएर, पृथकतावाद छोडाएर राष्ट्रिय एकताको मूलधारमा ल्याएँ। देशबाट हिंसाको अन्त्य गरेँ। यो अपराध हो?,’ उनले भनेका थिए।
अध्यक्ष ओलीले आफूविरूद्ध प्रहारको निशाना बनाएर यतिबेला यो हिंसा मच्चाउनुपर्ने आवश्यकता किन? भन्दै प्रश्नसमेत गरेका थिए।
‘जेन जीले यो गरेका छैनन्। जेन जीको यस्तो निराधार, प्रतिशोधी कुरा होइन। म भन्न चाहन्नँ- अलि अगाडिदेखि कसकसले केके बोलिराखेका थिए, सिंहदरबार घेरिन्छ, फलाना ठाउँमा लाखौं जनता आउँछन्, यहाँ गरिन्छ, त्यहाँ गरिन्छ, उत्पात मच्चाइन्छ! म त्यता जान चाहन्छ। सरकारले खोजी गर्नुपर्छ,’ उनको कथन थियो।
उनले राजनीतिक दल, राजनीतिक दलको प्रणाली हटाउन खोज्ने हो भने कुन व्यवस्था ल्याउन खोजेको भन्दै पनि प्रश्न गरेका थिए।
‘त्यसको सिफारिस आउनुपर्यो नि! के ल्याउन खोजिएको त, लोकतन्त्र होइन भने के व्यवस्था ल्याउन खोजिएको?,’ उनले भने।
आफूले भूपरिवेष्टित राष्ट्रबाट भूजडित राष्ट्र बनाएको, आफ्नो सार्वभौमसत्ताको, स्वाभिमान र स्वाधीनताको झन्डा उठाउँदै देशलाई देखिने र सुनिने दिशातिर अगाडि बढाउनु अपराध हो भन्दै पनि प्रश्न गरेका थिए।
‘त्यसमा म जान चाहन्नँ। देशमा अराजकता, अशान्ति, त्रास, हिंसा अन्त्य गरौं। देश कानुनसम्मत ढंगले चलोस्। न्यायसम्मत ढंगले चलोस्। कानुनको रीत पुर्याएर, न्याय छोडेर, मानिसहरूप्रति प्रतिशोध, अपमान, बेइज्जत गर्ने तरिका अपनाउनु वाञ्छनीय हुँदैन,’ उनले भनेका थिए।
त्यसले थप सामाजिक तनाब र अशान्ति वृद्धि गर्न सक्नेतर्फ चनाखो हुनुपर्ने उनले बताए।
‘त्यो हाम्रो बाटो होइन। दलहरू जो अहिले जिम्मेवार छन्, जो जता मल्खु उतै ढल्कु गर्दैनन्, जो जता हावा चल्छ, उतै उड्ने भुवाजसरी उड्दैनन्, बहकिँदैनन्, त्यस्तो दलहरूमाथि प्रहार केन्द्रित गरेर, अलि मौसमी भाकामा यो तरिका हुनसक्दैन,’ उनले भने।
पार्टीभित्र रूपान्तरण, पुनर्गठनबारे उठिरहेको प्रश्नमाथि पनि उनले बोलेका थिए।
‘हामीभित्र केही प्रश्न उठारहेका छन्, फोरम (पार्टी कमिटी) ले समाधान दिन्छ। सडकले दिने समाधान होइन। ती फोरमहरूद्वारा नै समस्याको समाधान हुन्छ,’ उनले भने।
प्रेस स्वतन्त्र हुनुपर्छ भन्ने, वाक् स्वतन्त्रता रहनुपर्छ भन्ने तर आफूभन्दा फरक बोल्यो भने त्यसविरूद्ध झोले ट्रेण्ड चलाउने प्रवृत्ति रहेको उनले बताए।
‘झोले ट्रेन्ड होइन, त्यसको घरमा आगो लगाउनुपर्छ, त्यसलाई काटीकाटी, किच्याइकिच्याइ मार्नुपर्छ भन्ने कस्तो सभ्यता? कसले यो ल्याउँदै यो कुरा नेपालमा? कसले फैलाउँदैछ यो नेपालमा खोजी गर्नुपर्छ? नवयुवा यसमा सचेत हुनुपर्छ,’ उनले भनेका थिए।