प्रधानमन्त्री सुशीला कार्कीले जेनजी पुस्ताको आन्दोलनका क्रममा व्यक्तिका घरमा आगजनी तथा तोडफोड हुँदा देखिएको नगदसम्बन्धी छानबिन सुरू भइसकेको बताएकी छन्।
बिहीबार देशबासीका नाममा सम्बोधन गर्दै उनले नगदबारे सम्बद्ध निकायले छानबिन गरिसकेको बताएकी हुन्।
‘प्रदर्शनका क्रममा व्यक्तिका निजि घर तोडफोड, आगजनी हुँदा स्वभाविक रूपमा देखिएको नगद रकमका सम्बन्धमा सरकारका सम्बद्ध निकायले छानबिनको कारबाही सुरू गरिसकेको छ,’ उनले भनिन्।
भदौ २४ गते पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को निवासमा आगजनी हुँदा नगद फेला परेको भिडिओहरू आएका थिए।
आगजनी गर्दा देखिएको जलेका नोटबारे सम्पत्ती शुद्धीकरण विभागले अनुसन्धान गरिरहेको छ।
विभागले नेताहरूको घरमा नोटका मुचुल्का समेत उठाएको थियो।
त्यस्तै पूर्वऊर्जामन्त्री दीपक खड्काको घरमा पनि पैसा फ्याँकेको भिडिओहरू बाहिरिएका थिए। त्यस भिडिओ बाहिरिएपछि विभागको टोली उनको निवासमा पनि पुगेको थियो।